
११ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय कार्यकारिणी समिति सदस्य हेमराज राईले पदबाट राजीनामा दिएका छन् । उनले साउन ९ गते राजीनामा दिएको जानकारी दिए ।
स्रोतका अनुसार राई नेकपा एमालेमा फर्किने तयारीमा छन् । उनीसँगै जसपाका अन्य नेता–कार्यकर्ताहरु पनि एमालेमा फर्किने तयारीमा छन् ।
राईले अनलाइनखबरसँग कुरा गर्दै एमालेमा फर्किने संकेत गरे । उनले भने, ‘धेरै लामो समय एमालेमा बिताएँ, एमालेबाटै जसपामा आएँ, एमालेका धेरै साथीहरुको यतै फर्किनुपर्यो भन्ने आग्रह छ ।’ साउन ९ गते जसपाबाट राजीनामा दिएर एमालेका नेताहरुसँग छलफलमा रहेको उनले बताए ।
आफूले जसपा छाडिसकेको र अन्य पार्टीका नेताहरुले पनि पार्टी छाड्ने तयारीमा रहेको उनले बताए ।
राईले एमालेका तत्कालीन उपाध्यक्ष अशोक राईसँगै एमाले परित्याग गरेका थिए । उनी गत माघमा भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार थिए । तर एमालेका सोनाम गेल्जेन शेर्पासँग पराजित भएका थिए ।
प्रतिक्रिया 4