+

ओलम्पिक छात्रवृत्तिका लागि १० खेलाडी छनोट

२०७९ साउन  ११ गते १६:२४ २०७९ साउन ११ गते १६:२४
ओलम्पिक छात्रवृत्तिका लागि १० खेलाडी छनोट

११ साउन, काठमाडौं । नेपाल ओलम्पिक कमिटीले सन् २०२४ मा फ्रान्सको पेरिसमा हुने गृष्मकालीन ओलम्पिकका लागि १० खेलका १० खेलाडीलाई ओलम्पिक छात्रवृत्तिका लागि छनोट गरेको छ ।

सम्बन्धित खेल संघको सिफारिसमा ओलम्पिक कमिटीले यी खेलाडी छनोट गरेका हुन् । यसलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले स्वीकृत गरेको हो । यी खेलाडीलाई विशेष प्रशिक्षणमा सहभागी गराएर ओलम्पिकमा छनोट चरण पार गर्ने लक्ष्य रहनेछ ।

छात्रबृत्तिमा छनोट भएका खेलाडीहरुमा टेवलटेनिसका संयोग कपाली, फेन्सिङको सेवर विधाका पायष योन्जन, पौडीमा २ सय मिटर फ्रिस्टाइलतर्फ नासिर याहा हुसेन, ब्याडमिन्टनका प्रिन्स दाहाल छन् ।

त्यस्तै जुडोको ५६ केजीमूनि तौलसमूहकी मनिता श्रेष्ठ, शुटिङबाट १० मिटर एयर राइफलकी सुष्मिता नेपाल, तेक्वान्दोबाट ४९ केजीमूनि तौलसमूहकी युनिसिया राई, डान्स स्पोर्टसबाट बी बोइङ विधाका दीपक लामा, गल्फका सुभास तामाङ र भारोत्तलनबाट १०९ केजीमूनि तौलसमूहका सागर भण्डारी छन् ।

छात्रवृत्तिअन्तर्गत सबै खेलाडीले मासिक ७ सय ५० डलर प्राप्त गर्नेछन् र यो ओलम्पिकको अन्तिम छनोटसम्म कायम रहनेछ । छनोटमा सफल रहे ओलम्पिक प्रतियोगितासम्म नै छात्रवृत्ति कायम हुनेछ । ओलम्पिक कमिटीले प्रदान गर्ने रकम प्रशिक्षण, अन्तर्राष्ट्रिय सहभागिता, खेल सामग्री, विमा, स्वास्थ्य परीक्षणदेखि अन्य तयारीका लागि चाहिने सबै प्रक्रियामा खर्च गरिनेछ ।

कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यले ओलम्पिक छात्रवृत्तिले नेपाली खेलाडीको तयारीमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले सन् २००४ को एथेन्स ओलम्पिकदेखि यस प्रकारको छात्रवृत्ति प्रदान गर्न सुरु गरेको हो ।

ओलम्पिक कमिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय