
१२ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा एभरेष्ट बैंकको नाफा ४३.७७ प्रतिशतले वृद्धि हुँदा साढे दुई अर्ब नाघेको छ ।
तरलता (लगानी योग्य पुँजी) अभावका बीच बैंकको व्यवसाय विस्तार र स्प्रेड रेमा भएको वृद्धिले बैंकको खुद ब्याज आम्दानी र शुल्क तथा अन्य आम्दानीमा उल्लेख्य वृद्धि भएको छ । जसले बैंकको सञ्चालन मुनाफा सँगै नाफमा पनि उल्लेख्य वृद्धि भएको हो ।
बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार दुई अर्ब ५४ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा बैंकले एक अर्ब ७७ करोड ९ लाख नाफा कमाएको थियो ।
गत आवमा खुद ब्याज आम्दानी ३७.१५ प्रतिशतले बढाएर पाँच अर्ब ७५ करोड ७४ लाख पुगेको छ । यस्तै खुद शुल्क तथा कमीसन आम्दानी ३४.३३ प्रतिशतले बढेर एक अर्ब तीन करोड १९ लाख रुपैयाँ पुग्दा बैंकको कुल सञ्चाल आम्दानी ३२.८८ प्रतिशतले बढेर सात अर्ब पाँच करोड पाँच लाख पुगेको छ ।
गत आर्थिक वर्षमा बैंकको निक्षेपको तुलनमा कर्जा वृद्धि उच्च हुँदा ब्याज आम्दानीको तुलनात्मक रुपमा बढ्न सहयोग पुगेको छ ।
यस्तै अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ३.२४ प्रतिशत रहेको बैंकको स्प्रेड रेट बढेर आर्थिक वर्ष २०७८/७९ मा ४.०६ प्रतिशत पुगेको छ । जसले बैंकको खुद ब्याज आम्दानी बढेको छ ।
बैंकको आम्दानीमा भएको वृद्धिले गर्दा सम्भावित कर्जा जोखिमको लागि गरेको प्रोभिजन र कर्मचारी खर्चमा वृद्धि हुँदा पनि बैंकको नाफा बढेको छ ।
अघिल्लो आर्थिक वर्षमा सम्भावित कर्जा नोक्सानीवापतको प्रोभिजन २६ करोड २४ लाख गरेकोमा गत आवमा ४६ करोड ३९ लाख जोखिम प्रोभिजन गरेको छ । यस्तै बैंकको कर्मचारी खर्च एक अर्ब ६१ करोड ११ लाखबाट बढेर उक अर्ब ९८ करोड दुई लाख पुगेको छ ।
खर्चमा भएको वृद्धिका बाबजुत पनि बैंकको सञ्चालन मुनाफा ४२.८२ प्रतिशतले बढेर तीन अर्ब ६३ करोड ९७ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्ष ०७७/७८ मा बैंकले दुई अर्ब ५४ करोड ८४ लाख सञ्चालन मुनाफा आर्जन गरेको थियो ।
नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी र नेटवर्थ बढेको छ । अघिल्लो आवमा १९ रुपैयाँ ९१ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी गत आवमा २७ रुपैयाँ ०१ पैसा पुगेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ २३२ रुपैयाँ ५६ पैसाबाट बढेर २४० रुपैयाँ ७३ पैसा पुगेको छ ।
गत आवमा बैंकको निक्षेप एक खर्ब ६० अर्ब २२ करोड ३ लाखबाट ७.८१ प्रतिशतले वृद्धि भई एक खर्ब ७२ अर्ब ७३ करोड ९१ लाख रुपैयाँ पुगेको छ । सोही अवधिमा बैंकको कर्जा लगानी एक खर्ब २७ अर्ब ६८ करोड ७२ लाखबाट १३.९३ प्रतिशतले बढेर एक खर्ब ४५ अर्ब ४७ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।
यस्तै बैंकको आधार ब्याजदर (बेस रेट) ५.९९ प्रतिशतबाट बढेर ८.८२ प्रतिशत पुगेको छ । कर्जा-निक्षेप अनुपात -सीडी रेसियो) ७२.५२ प्रतिशतबाट बढेर ८६.०४ प्रतिशत पुगेको छ।
निष्क्रिय कर्जा ०.१२ प्रतिशतबाट बढेर ०.२५ प्रतिशतमा झरेको छ । यस्तै पुँजी कोष अनुपात १२.४८ प्रतिशतबाट घटेर ११.९५ प्रतिशत कायम भएको छ ।
गत आर्थिक वर्षमा बैंकको सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा भने २ अर्ब ४४ करोड ९० लाख ७८ हजार रुपैयाँ रहेको छ ।
यस्तै सञ्चित कोषमा तीन अर्ब ८९ करोड ५४ लाख ५४ हजार र जगेडा कोषमा नौ अर्ब नौ करोड २९ लाख ३६ हजार छ ।
गत आवमा बैंकको ऋणपत्र परिपक्व भएर फिर्ता हुँदा बैंकको वितरणयोग्य नाफमा उल्लेख्य वृद्धि देखिएको छ ।
प्रतिक्रिया 4