
काठमाडौं । अभिनेता रमेश उप्रेती फिल्म बनाउने तयारीमा छन्, तर तयारी सोचेजस्तो सजिलो छैन । निखिल उप्रेतीलाई निर्देशकमा लिएर उनले बनाउन लागेको फिल्म दशैंपछि सुटिङमा जाने तयारीमा छ । तर फिल्म बनाउन धान्नै नसक्ने खर्चले रमेश झस्किएका छन् ।
हलबाट आउने सेयर कम हुने र निर्माण लागत बढ्ने भएपछि उनलाई फिल्म आँट्न मुस्किल भइरहेको छ । अनलाइनखबरसँग कुरा गर्दै उनले कलाकार र प्राविधिकको महंगो पारिश्रमिकले अबका दिनमा फिल्म बनाउन गम्भीर भएर सोच्नुपर्ने दिन आएको बताए ।
उनले भने, ‘आर्टिस्ट टेक्निसियनको भाउ बढिरहेको छ । निकै महंगो भयो फिल्म निर्माण । हलबाट लगानी उठ्ने सम्भावना पनि निकै कम भयो फिल्म बनाउँदा राम्रो बनाउन मन लाग्छ तर महंगी भएको देखेर सोच्न बाध्य भएको छु ।’
‘निर्मातालाई कन्टेन्टमा क्वालिटी बनाउन मन लाग्छ तर कलाकार र प्राविधिक महंगा भए,’ रमेश बताउँछन् । उनको प्रश्न छ- टिकटकमा रमाएकालाई फिल्ममा के रहर होला र ? टिकटकमा रमाउने कुरा सुन्दा पनि लाजमर्दो ।’ पछिल्लो छिमलका फिल्मकर्मी फिल्मप्रति गम्भीर नभएको उनको गुनासो छ ।
‘फिल्म त गर्ने नै हो । नयाँ-नयाँ कलाकारले पनि महंगो पारिश्रमिक लिंदा अचम्म लाग्छ,’ उनी भन्छन् । ‘कबड्डी’बाहेक कुनै पनि फिल्म नचलेको र हलमा १० जना दर्शक आउन पनि मुस्किल भएको उनको टिप्पणी छ ।
‘पहिलो शोमा नै मान्छे छैनन् । कबड्डीबाहेक अरु फिल्म चलेका छैनन् । मानिस टिकटकमा रमाएका छन्, हलमा पुगेका छैनन्,’ उनी भन्छन् । यसैसाता चलचित्र विकास बोर्ड अध्यक्षमा नियुक्त भएका अभिनेता भुवन केसीलाई काम गर्न चुुनौतीपूर्ण भएको पनि रमेशको ठम्याइ छ ।
प्रतिक्रिया 4