
लस-एन्जल्स । पपगायिका म्याडोनाले आफ्नै जीवनमाथि बन्ने बायोपिक फिल्मको लेखन तथा निर्देशन गर्ने भएकी छन् । विश्व पपसंगीतमा ‘रानी’ उपनामले चिनिने उनले आफ्नो जीवन, दशक लामो करिअर र कलाकारिता यात्रालाई फिल्ममा निर्देशन गर्नेछिन् ।
‘लिटल वुमन’ र ‘स्पाइडरम्यान : होम कमिङ’ निर्माता एमी पास्कलसँग मिलेर उनले फिल्म पनि निर्माण गर्नेछिन् । फिल्म निर्देशन गर्ने म्याडोनाको निर्णय निकै दुर्लभ हो किनभने सुपरस्टारहरु यस्ता परियोजनामा या त सल्लाहकार या त नाम मात्रकै हुन्छन् ।
तर ‘होलिडे’ फेम्ड गायिकालाई आफ्नो कथा आफैं भन्नु महत्वपूर्ण लाग्यो । ‘जुन जीवनले मलाई कलाकार, संगीतकार र एक मानवको रुपमा संसारमा बाटो देखायो, म यो कुरालाई अविश्वसनीय रुपमा देखाउन चाहन्छु,’ म्याडोनाले विज्ञप्तिमा भनेकी छन् ।
‘यो फिल्म संगीतमा केन्द्रित हुनेछ । किनभने संगीतले मलाई निरन्तरता दिएको र कलाले जीवित राखेको छ । यहाँ धेरै नभनिएका र प्रेरणादायी कथा छन् र मभन्दा राम्रो रुपमा कसले भन्न सक्छ । मेरो उतारचढावपूर्ण यात्रा सबैलाई भन्नु जरुरी छ,’ उनी भन्छिन् ।
सन् २०११ को ‘रोयल ड्रामा’ र सन् २००८ को ‘फ्लिथ एन्ड विजडम’लाई यसअघि म्याडोनाले निर्देशन गरिसकेकी छन् । भेराइटी म्यागजिनका अनुसार जुलिया गार्नरले म्याडोनाको यो बायोपिकको लागि मुख्य भूमिका निर्वाह गर्दैछिन् ।
प्रतिक्रिया 4