
१२ साउन, चितवन । जिल्ला अदालत चितवनले जिल्ला समन्वय समितिको जग्गामा नेकपा माओवादी केन्द्र निकटको कर्मचारी संगठनले थालेको भवन निर्माणलाई रोक लगाएको छ ।
भवन निर्माणमा रोक लगाउन माग गर्दै जिसस चितवनले दायर गरेको मुद्धामा बिहीबार सुनुवाइ गर्दै जिल्ला न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले भवन निर्माण नगर्न अन्तरिम आदेश दिएको हो । जानकारी नै नगराई आफूखुसी संरचना बनाएको भन्दै जिससले नेपाल राष्ट्रिय कर्मचारी संगठनविरुद्ध मुद्दा दायर गरेको थियो ।
जिसस कार्यालय अगाडिको सरकारी अतिथि भवनमा यसअघि गंगाराम कलेज सञ्चालनमा थियो । कलेज त्यहाँबाट हटेपछि अतिथि भवन र भवनले चर्चेको जग्गामा यातायात व्यवस्था सेवा कार्यालय सञ्चालन गर्ने तयारी भइरहेको छ । यातायात कार्यालयलाई दिइएको जग्गामा माओवादी निकटका कर्मचारीहरुले भवन बनाउन भन्दै जग खनेका थिए ।
जिससकै स्वामित्वमा रहेको अतिथि भवन र भवनले चर्चेको करिब चार कट्ठा जग्गा तीन वर्ष प्रयोग गर्न यातायात कार्यालयले २०७८ चैत ६ गते सम्झौता गरेको छ । यातायात कार्यालयले स्थापना कालदेखि नै भाडाको घरबाट सेवा दिँदै आएको छ ।
यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख विनोद पौडेलले आफूहरुलाई जिससले दिएको जग्गा कर्मचारी संगठनले भवन बनाउन थालेपछि जग्गको अपुग हुने बताएका छन् ।
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणको कामसमेत भरतपुरबाट नै हुने भएपछि पर्याप्त जग्गा चाहिने पौडेलले बताए ।
हेर्नुस् अदालतको फैसला
प्रतिक्रिया 4