
आँखा, नाक, मुख र ओठलाई कसरी चिरिच्याट्ट बनाउने ? यसका तौरतरिका अनेक छन् । गाजल लगाएर होस् वा लिपस्टिक, आँखीभौं मिलाएर होस् वा इयर रिंग लगाएर, आफ्नो सौन्दर्यलाई निखार्न अनेकन विधि अपनाइन्छ ।
फेसियल, थ्रेडिङ, अनुहारको मेकअप, केश सज्जा जस्ता थुप्रै विधि प्रचलनमा छन्, जसले सुन्दर देखाउन सघाउँछ । त्यसैगरी नङलाई कसरी आकर्षक देखाउने ? धेरैका लागि रुचि र चासोको विषय बन्ने गर्छ । त्यसैले त नङलाई आकर्षक बनाउन हजारौं रुपैयाँ निस्फिक्री खर्च गर्न तयार हुन्छन् ।
जस्तो मेनिक्योर, पेडिक्योरदेखि नेल आर्ट, नेल एक्सटेन्सन आदि गर्ने चलन छ, जसले नङलाई थप आकर्षक देखाओस् । सामान्यत नेल आर्ट, एक्सटेन्सन वा मेनिक्योर एवं पेडिक्योर गर्न ५–६ हजार रुपैयाँ खर्च लाग्छ ।
नेट एक्टेन्सन गर्न ३५ सयदेखि ५ हजार रुपैयाँसम्म लाग्छ । प्रेस अन नेलका लागि औसत तीन हजार रुपैयाँ खर्च हुन्छ । यसमा नेल आर्ट पनि समावेश छ । सलोन र प्रयोग गर्ने सामग्रीको आधारमा खर्च घटबढ भने हुनसक्छ ।
नेल एक्सटेन्सन
प्राकृतिक नङमा जेलको कृत्रिम नङ राखेर त्यसलाई प्राकृतिक नङको जस्तो आकार दिने प्रक्रिया नै नेल एक्सटेन्सन हो । नेल एक्सटेन्सन सामान्यता दुई प्रकारको हुन्छ । टिप एक्सटेन्सन र प्रेस अन नेल । टिप एक्सटेन्सन नङको टुप्पोबाट नयाँ नङ जोडेर गरिन्छ भने प्रेस अन नेल चाहिं नङको फेदैबाट नयाँ नङ जोडेर गरिन्छ । यस्ता कृत्रिम नङहरू एक्रोलिक, पोलिजेल र बिल्डरजेल गरी तीनवटा प्रकारको पाउन सकिन्छ ।
नेल एक्सटेन्सनमा अहिलेको ट्रेन्ड
प्रायः नेल एक्सटेन्सनमा नै नेल आर्ट पनि समावेश हुने भएकाले होला, नेल एक्सटेन्सनपछि विभिन्न डिजाइनको नेल आर्ट गरिन्छ । अहिले बजारमा मल्टी कलर नङको ट्रेन्ड चलेको छ । गाढा र फिक्का कलर मिलाएर मल्टी कलरको नङ बनाउने चलन पछिल्लो समय बढ्दो छ ।
ओम्ब्रे डिजाइन पनि चलेको छ । ओम्ब्रे भन्नाले नङको टुप्पोमा गाढा कलर र बिस्तारै फिक्का कलर लगाउने तरिका हो । फिक्का कलर लगाएर विभिन्न चित्र कोर्ने र गिल्टर टाँसेर नङलाई सजाउने पनि धेरैले रुचाउँछन् ।
नेल आर्ट
नङ सुहाउँदो रंगको प्रयोग र मिल्दो बुट्टा भर्ने कामलाई नै नेल आर्ट भनिन्छ । नेल आर्ट पनि एउटा कला हो, जुन सिकेर वा जानकारी लिएर मात्र गर्नु आवश्यक हुन्छ । सफा र मिलेका नङलाई झन् सुन्दर र आकर्षक पार्ने काम पालिस र आकर्षक बुट्टाले गर्छ । त्यसैले नङमा विभिन्न बुट्टा भरेर त्यसलाई आकर्षक बनाउने काम नै नेल आर्ट हो ।
नेल आर्ट र नेल एक्सटेन्सनको भिन्नता
नेल आर्ट र नेल एक्सटेन्सन फरक कुरा हो । नेल आर्ट प्राकृतिक र कृत्रिम दुवै नङमा गर्न सकिन्छ । नङमा पालिसको सहयोगबाट विभिन्न चित्र कोर्ने प्रक्रिया नेल आर्ट हो । नेल एक्सटेन्सन भनेको चाहिं प्राकृतिक नङमा कृत्रिम नङ जोड्ने प्रक्रिया हो । कृत्रिम र प्राकृतिक दुवै नङमा नेल आर्ट गर्न मिल्छ ।
नेल आर्ट कति टिक्छ ?
एक पटक गरेको नेल आर्ट २५ दिन टिक्छ । २५ दिनपछि रिफिल गर्न आउनुस् भनेर ग्राहकलाई सल्लाह दिइन्छ । २५ दिनमा प्राकृतिक नङ बढेर खाली रहने र नराम्रो देखिने भएकाले पनि २५ दिनमा रिफिल गर्ने सल्लाह दिइएको हो । टिक्न त ३० देखि ३५ दिनसम्म पनि यो नङ टिक्छ ।
कसरी लामो समय टिकाउने ?
नेल एक्सटेन्सन गरिसकेपछि प्राकृतिक नङ पातलो हुन्छ । त्यसैले राम्ररी हेरचाह गरेन भने नङ टुक्रिने समस्या हुन सक्छ । त्यसैले नेल एक्सटेन्सनपछि नङलाई घोट्नु हुँदैन । नङलाई ठोक्किन नदिने, नङलाई नकोट्टाउने, कुनै एउटा नङ उक्कियो भने अरूलाई पनि निकाल्छु भनेर घरमा आफैंले ननिकाल्ने गर्नु हुँदैन ।
घरायसी काम धेरै गर्नुपर्ने महिलाहरूले धेरै लामो नङ राख्नु हुँदैन । एक्सटेन्सन गरेको नङलाई पार्लरमै गएर वा एक्सटेन्सन सम्बन्धी ज्ञान भएको व्यक्तिको सहयोगमा मात्र निकाल्नुपर्छ ।
घरमै मेनिक्योर–पेडिक्योर
हातलाई नरम र सुन्दर बनाउन पार्लरमा गएर मेनिक्योर पेडिक्योर गर्ने गरिन्छ । तर हात र नङलाई सुन्दर बनाउन घरमै मेनिक्योर पेडिक्योर गर्न सकिन्छ ।
– सबैभन्दा पहिले हातखुट्टामा लगाएको नेल पालिसलाई रिमुर्भरले सफा गर्नुपर्छ ।
– त्यसपछि नङलाई मिलाएर काट्नुपर्छ ।
– एउटा ठूलो भाँडोमा हातखुट्टा डुबाउन मिल्ने गरी मनतातो पानी लिने ।
– त्यो मनतातो पानीमा एक ठूलो चम्चा नुन, डेटोल र पेडिक्योर स्याम्पु मिक्स गर्ने ।
– मिक्स गरिएको पानीमा पाँच मिनेट हात खुट्टा डुबाउने ।
– नङमा अड्किएको फोहोरलाई सफा गर्नुहोस् र स्क्रबरले हातखुट्टाको मृत छालालाई घोटेर हटाउने ।
– पानीबाट हातखुट्टा निकालेर सुख्खा हुने गरी राम्ररी पुछ्ने ।
– हातखुट्टामा मोस्चराइजर लगाउने । घरमा मोस्चराइजर छैन भने नरिवलको तेल लगाउँदा पनि हुन्छ ।
– हातखुट्टामा मोस्चराइजर लगाएर १० मिनेट जति मसाज गर्ने ।
– यति गरिसकेपछि हातखुट्टा सफा हुन्छ, अब आफूलाई मनपर्ने नेल पालिस लगाउने ।
(हेयर एण्ड शान्ति जावलाखेलकी नेल आर्ट टेक्निसियन लामासँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया 4