
१२ साउन, वीरगञ्ज । पर्साका थप ६ वटा पालिकाले राष्ट्रिय भूमि आयोगसँग सम्झौता गरेका छन् ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गर्न, नाप नक्सा गर्नेदेखि लालपूर्जा वितरणसम्मको काममा सहजीकरण गर्न स्थानीय तहले आयोगसँग सम्झौता गरेका हुन् ।
पोखरिया नगरपालिका, पटेर्वासुगौली, जगरनाथपुर, विन्दवासिनी, पकहामैनपुर र सखुवाप्रसौनी गाउँपालिकाले आयोगसँग सम्झौता गरेको भूमि आयोग जिल्ला समिति पर्साका अध्यक्ष तवरेज अहमदले जानकारी दिए ।
‘अयोगको विज्ञ सदस्य आएको मौकामा जिल्लामा नै ६ वटा पालिकाले सम्झौता गरेका छन् । अब लगत संकलन लगायत काम अघि बढाउन बाटो खुलेको छ’ उनले भने ।
जिल्ला समन्वय समिति पर्साको सभाहलमा आयोजित कार्यक्रममा पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीले आयोगसँगको सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । आयोगका तर्फबाट विज्ञ सदस्य राधो राय यादवले हस्ताक्षर गरे ।
यसअघि वीरगञ्ज महानगरपालिका, पर्सागढी, बहुदरमाई नगरपालिका, ठोरी, कालिकामाई र धोविनी गाउँपालिकाले आयोगसँग सम्झौता गरिसकेका छन् । ठोरी गाउँपालिकाले लगत संकलनको काम पनि सकिसकेको छ ।
प्रतिक्रिया 4