
१२ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले अधिकांश पुरानै कार्यक्रममा केही नयाँ योजनासहित आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार अध्यक्ष रमेश हमालले सार्वजनिक गरेको बोर्डको नीति तथा कार्यक्रममा लाइसेन्स बाँड्नेदेखि लगानीकर्ता क्षतिपूर्ति कोष चलाउनेसम्मका योजना छन् ।
नीति तथा कार्यक्रममा धितोपत्र बोर्डको क्षमता र सुपरिवेक्षण क्षमता विकासको लागि डिजिटल सिस्टमको विकास गर्ने योजनाले पनि प्राथमिकता पाएका छन् । अध्यक्ष हमालले आर्थिक वर्षको नीति तथा कार्यक्रममा धितोपत्र बजारको विकासको लागि डिजिटाइजेसनलाई प्राथमिकतामा राखेका छन् ।
बोर्ड अध्यक्ष हमालले व्यवसायिक रुपमा सफल स्थापित कम्पनीलाई धितोपत्र बजारमा सूचीकृत गराएर सर्वसाधारणको स्वामित्व बढाउने घोषणा गरेका छन् । यस्तै धितोपत्र बजारको लगानीकर्तालाई हुन सक्ने सम्भावित क्षतिबाट जोगाउन क्षतिपूर्ति कोष सञ्चालनमा ल्याउनका लागि क्षतिपूर्ति कोषसम्बन्धी नियमावली तर्जुमा गरी लागू गर्ने उनले बताए । यस्तै राष्ट्र बैंकले मर्जरमा जाने कम्पनीको सेयर कारोबार रोक्का गर्ने विषयमा बोर्डलाई स्वतन्त्रता दिएसँगै आगामी १० दिनमा नै मर्जरमा कारोबार रोक्कासम्बन्धी निर्देशिका बनाएर कार्यन्वयनमा लैजाने उनले बताए ।
बजेट बक्तव्यमा उल्लेख भएअनुसार वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई धितोपत्रको प्राथमिक निष्कासनमा दश प्रतिशत सेयर आरक्षित गर्ने गरी धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ मा संशोधन गर्ने बोर्ड अध्यक्ष हमालले बताए ।
यस्तै बजेट वक्तव्यमा उल्लेख भएका एक अर्ब रुपैयाँ वा सो भन्दा बढीको पूँजी वा पाँच अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने कम्पनी, प्राकृतिक स्रोतहरुको उपयोग गर्ने कम्पनी तथा राज्यबाट अनुदान, सहुलियत वा कर छुट प्राप्त गर्ने पब्लिक लिमिटेड कम्पनीहरुलाई धितोपत्रको सार्वजनिक निष्कासन गरी सूचीकृत हुनुपर्ने व्यवस्था गरिएको छ ।
सोही व्यवस्था अनुरुप धितोपत्रको सार्वजनिक निष्कासनका लागि कम्पनी ऐन, २०६३ मा गर्नुपर्ने सुधारका सम्बन्धमा कम्पनी रजिष्ट्रारको कार्यालयसँग समन्वय गर्ने र कम्पनी कानुनमा भएको सुधार अनुरूप हुने गरी धितोपत्रसम्बन्धी कानुनमा सुधार गर्ने बोर्डले जनाएको छ ।
यस्तै धितोपत्रको दोस्रो बजार कारोबारलाई पूर्ण रूपमा विद्युतीय प्रविधिमा आधारित बनाई धितोपत्र बजारको कारोवार प्रणालीलाई लगानीकर्ताहरुको बैंक खाता तथा डिम्याट खातासँग आवद्ध गर्ने बोर्डले जनाएको छ ।
अधिकांश पुरानै कार्यक्रम
गत आर्थिक वर्षमा बोर्डका तकालिन अध्यक्ष भीष्मराज ढुंगना निलम्बनमा पर्दा नीति तथा कार्यक्रम सार्वजनिक नगरेको बोर्डले अधिकांश त्यो भन्दा अघिल्लो आर्थिक वर्षको कार्यक्रमलाई समावेश गरेको छ ।
साना तथा मझौला उद्यमहरुको धितोपत्र कारोबारका लागि एसएमईज प्ल्याटफर्मका लागि आवश्यक व्यवस्था मिलाई व्यवसायिक कृषिजन्य उद्यमलाई पूँजी बजारमा आवद्ध गराउने बोर्डको पुरानै कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाएको छ ।
प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटल सचालन अनुमपत प्रदान गर्ने कार्यक्रमलाई केही भाष मिलाएर यस वर्ष पनि निरनतरता दिएको छ । ‘पर्याप्त पूँजी नभएका उद्यमी तथा नवप्रवर्तकका लागि प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटलको माध्यमबाट पुँजी तथा व्यावसायिक ज्ञान परिचालन गर्न सक्ने गरी अनुमतिपत्र प्रदान गरी समुन्नतिको दायरमा बढाईनेछ,’नीति तथा कार्यक्रममा भनिएको छ ।
२ पटक सम्म आवेदन माग गरेर खारेज भएको वस्तु विनिमय बजारको अनुमति दिने विषय समेत यस वर्ष पनि निरन्तता पाएको छ ।
‘सञ्चालनका लागि आवश्यक वेयर हाउससम्बन्धी नियमावली, वस्तु कारोबार दलाल व्यवसायी तथा बजार निर्माता नियमावली र राफसाफ तथा फर्छ्यौटसम्बन्धी नियमावली तथा विनियमावलीहरु तयार गर्ने, दरखास्त आव्हान गर्ने र अनुमतिपत्र प्रदान गरी सञ्चालन व्यवस्था गरिनेछ’ बोर्डको नीति तथा कार्यक्रममा भनिएको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको प्राविधिक सहयोग लिई धितोपत्र बजार, केन्द्रीय निक्षेप कम्पनी, सूचीकृत संगठित संस्था तथा धितोपत्र व्यवसायीहरुले बोर्डमा पेश गर्नुपर्ने विवरणको ढाँचा विकास गरी सो लागू गर्ने दुई वर्ष अगडिको कार्यक्रमलाई यस वर्ष पनि निरन्तता दिएको छ । नेप्सेमा विदेशी रणनीति साझेदार भित्र्याउने र नयाँ स्टक एक्सचेञ्जको विषय बोर्डको नीति तथा कार्यक्रमबाट हटेको छ ।
तर, दशक अगाडिदेखिको नेपाल स्टक एक्सचेञ्ज लिमिटेड सेयर संरचनामा सुधारको कुरा यस वर्ष पनि समावेश भएको छ । सिडिएस एण्ड क्लियरिङको पनि सेयर संरचनामा सुधार गर्ने विषयले पनि निरन्तता पाएको छ ।
धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीहरुको लगानी खुला गर्न धितोपत्रसम्बन्धी कानुनहरूमा आवश्यक संशोधन तथा परिमार्जन गर्ने पौडेल जनाएको छ ।
काुननी सुधार
धितोपत्र बोर्डले धितोपत्र तथा वस्तु विनिमय बजार सञ्चालनको लागि दुईवटा ऐनको प्रस्ताव गर्दै मस्यौदा तयार पर्ने बताएको छ । यसअघिको अध्यक्ष भीष्मराज ढुंगानाले उठाउँदै आएको योजनालाई अध्यक्ष हमालले पनि निरन्तरता दिएका छन् ।
‘बोर्डलाई जवाफदेहितासहितको अधिकार सम्पन्न नियमन निकाय बनाउन धितोपत्र तथा वस्तु विनिमय बोर्डसम्बन्धी विधेयक ‘धितोपत्र तथा वस्तु विनिमय बजार बोर्ड ऐन’ तथा धितोपत्र व्यवसायीहरुको नियमन तथा सुपरिवेक्षण कार्यलाई प्रभावकारी बनाउन धितोपत्र विनिमयसम्बन्धी विधेयकको मस्यौदा कार्य अगाडि बढाइनेछ’ बोर्डको नीति तथा कार्यक्रममा भनिएको छ ।
धितोपत्र बजारका लगानीकर्ताहरुलाई हुन सक्ने सम्भावित क्षतिबाट जोगाउन क्षतिपूर्ति कोष सञ्चालनमा ल्याउनका लागि क्षतिपूर्ति कोषसम्बन्धी नियमावली तर्जुमा गरी लागू गर्ने बोर्डले जनाएको छ ।
ब्रोकर र वस्तु विनिमय बजारको लाइसेन्स
बोर्ड अध्यक्ष हमालले नयाँ सेयर ब्रोकर लाइसेन्स वितरण गर्ने बताए । अहिलेकै ब्रोकरको क्षमता विस्तार गर्दा हुँदै किन नयाँ लाइसेन्स भन्ने प्रश्नमा बजारमा स्वस्थ प्रतिस्पर्धाको लागि नयाँ लाइसेन्स वितरण गर्ने उनले बताए ।
उनले ब्रोकर लाइसेन्सको लागि प्रस्तावित नयाँ कार्यविधिको पनि बचाउ गरे । आफूले लाइसेन्स वितरणमा हुने तजबीजी अधिकार कटौती गर्दै खुला रुपमा प्रक्रिया पूरा गर्नेले लाइसेन्स पाउन र स्वस्थ प्रतिस्पर्धा गर्ने गरी लाइसेन्स वितरण गर्ने तयारी गरेको बताए ।
अहिलेका ब्रोकरले पनि किन पूर्ण ब्रोकरको काम गर्न नपाउने भन्दै पटकपटक प्रश्न उठाउँदै आएकोमा उनीहरुलाई पनि उक्त अवसर खुला गर्न लागेको उनको तर्क छ ।
नयाँ लाइसेन्स दिने भन्दै सयौं संख्यामा लाइन लागेर आउने र बजार अस्वस्थ अवस्था सिर्जना नहोस् भनेर लाइसेन्स खुला राख्दा केही बढी पूँजी प्रस्ताव गर्नुपरेको भन्दै उनले किन धेरै पूँजी चाहियो भन्ने प्रश्नको बचाउ गरे ।
‘धितोपत्र बजारलाई देशव्यापी बनाउन वित्तीय रुपले सबल नयाँ धितोपत्र दलाल व्यवसायीहरुको संख्या थप गरिनेछ । साथै धितोपत्रको दोस्रो बजार कारोबारमा तरलता र बजार गहिराइ बढाउनका लागि नयाँ धितोपत्र व्यापारी (स्टक डिलर) लाई अनुमतिपत्र प्रदान गरिनेछ,’ बोर्डको नीति तथा कार्यक्रमा भनिएको छ ।
बोर्डले यसअघि दुई पटकसम्म वस्तु विनिमय बजारको लाइसेन्सको लागि आवेदन माग गरेर रद्ध गष्रेकोमा यस पटक लाइसेन्स दिएर सञ्चालनमा ल्याउन बताएको छ ।
‘वस्तु विनिमय बजार सञ्चालनका लागि आवश्यक वेयर हाउससम्बन्धी नियमावली, वस्तु कारोबार दलाल व्यवसायी तथा बजार निर्माता नियमावली र राफसाफ तथा फर्छ्यौटसम्बन्धी नियमावली तथा विनियमावलीहरु तयार गर्ने, दरखास्त आव्हान गर्ने र अनुमतिपत्र प्रदान गरी सञ्चालन व्यवस्था गर्ने’ बोर्डको नीति तथा कार्यक्रमममा उल्लेख छ ।
यसपटक बोर्डले वयेर हाउसदेखि विनिमय बजार, ब्रोकर, नियामकीय व्यवस्था र राफसाफ प्रक्रिया पूरा गर्ने गरी नीति तथा कार्यक्रममा नै समावेश गरेकाले छ ।
यस्तै लागि प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटलको अनुमति दिने विषयमा पनि बोर्ड नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
बोर्डको क्षमता विकास प्रविधिमा जोड
सुपरिवेक्षण विभिन्न अनुपति तथा अनुगमनलाई सहज बनाउन बोर्डले प्रविधिको विकासमा जोड दिएको छ । ‘विश्वस्तरीय प्रविधि र प्रविधि सञ्चालनमा चाहिने जनशक्ति तयार गरी सुपरीवेक्षण प्रणालीलाई ‘आर्टिफेसियल इन्टेलीजेन्स’ मा आधारित ‘रेगटेक’मार्फत चुस्त दुरुस्त बनाइ बजारमा चलखेल एवम् अनुचित क्रियाकलापलाई निरुत्साहन गरिनेछ ।’ बोर्डको नीति तथा कार्यक्रममा भनिएको छ ।
यस्तै बोर्डमा धितोपत्र दर्ता तथा अनुमतिको लागि पेश भएका निवेदनलाई ‘मेरिट वेस फाइल एप्रुभल सिस्टम’ का आधारमा अगाडि बढाउने बोर्डले जनाएको छ । बुक बिल्डिङ प्रणाली दिगो एवम् पारदर्शी रुपमा सञ्चालनमा ल्याउन ‘अटामेटेड इलेक्ट्रोनिक अक्सन सिस्टम’ तयार गर्ने बोर्ड अध्यक्ष हमालले बताए ।
धितोपत्र बजारमा हुने सूचना तथा विवरण प्रवाहको सहज एवम् सुदृढ व्यवस्था गर्न विद्युतीय विवरण प्रवाह तथा प्राप्ति प्रणाली विकास गरिएकोमा ‘डाटा एनालाइसीस मोडेल’समेत थप गरी सुदृढ एवम् प्रभावकारी बनाउने बोर्डको नीति तथा कार्याक्रममा उल्लेख छ ।
दैनिक कारोबार हुने सूचीकृत कम्पनी, कारोवार रकम, कारोबार हुने धितोपत्र आदिको ‘रियल टाइम सर्भेलेन्स’ गर्न आवश्यक तयारी गरी नियमित रुपमा बजार तथा कारोबारको अनुगमन तथा सुपरिवेक्षण गर्ने बोर्डले जनाएको छ ।
तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4