
१४ साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१० का वासिन्दाले बिरामी भएर उपचारका क्रममा रगत आवश्यक निशुल्क पाउने भएका छन् । वीरगञ्जस्थित रक्तसञ्चार केन्द्रले एक युनिट रगतको १ हजार ५० रुपैयाँ सेवा शुल्क लिने गरेको छ, तर वडा नम्बर १० का वासिन्दाले वडा कार्यालयबाट सिफारिस लिएर गए निशुल्क पाउनेछन् ।
शनिबार वडा कार्यालय र नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाबीच रगत निशुल्क गर्ने विषयमा सम्झौता भयो । वडाबासीलाई निशुल्क रगत उपलब्ध गराउन रक्तसञ्चार केन्द्रलाई वडा कार्यालयले एकमुष्ट रकम प्रदान गरेको छ । वडा अध्यक्ष सुशील साह कानुले नेपाल रेडक्रस सोसाइटी पर्साका मन्त्री शैलेन्द्र चौरसियालाई शनिबार एक लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।
वडा अध्यक्ष साहले विपन्न नागरिक बिरामी हुँदा रगत अभाव नहोस् भनेर रक्तसञ्चार केन्द्रसँग सम्झौता गरेको बताए । ‘एकातिर बिरामीमा खर्च, अर्कोतिर रगतका लागि पनि पैसा तिर्नुपर्छ । तिर्न नसक्ने व्यक्तिले वडामा निवेदन दिएपछि सिफारिस गरिदिन्छौं, निःशुल्क रगत पाउनुहुन्छ’ उनले भने ।
वडाले निःशुल्क रगत सेवाका लागि ३ लाख रुपैयाँ बजेट छुट्याएको उनले बताए ।
रक्तसञ्चार केन्द्रमा रगत लिन आउनेमध्ये अधिकांशले निःशुल्क रगत उपलब्ध गराउन आग्रह गर्ने गर्छन् । एकातिर बिरामीको उपचारमा खर्च लागिरहेको हुन्छ भने रगतका लागि पनि शुल्क तिर्नुपर्दा थप आर्थिक बोझको महसुस गर्ने गरेका छन् ।
नारायणी अस्पतालले गरिब विपन्न, डायलायसिस र थालासेमियाका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने गरेको छ ।
रगत दान गर्नेले निःशुल्क गरेपनि रगतको वर्गीकरण गरेर जोगाएर राख्न खर्च लाग्छ । त्यो खर्च बिरामीका आफन्तसँग सेवा शुल्कको रुपमा लिने गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ ।
यदि पालिकाले केही बजेटको बन्दोबस्त गरे निशुल्क रगत दिन सकिने रक्तसञ्चार केन्द्रको भनाइ छ ।
पर्साको बहुदरमाई र पर्सागढी नगरपालिका तथा विन्दवासिनी गाउँपालिकाले बिरामीलाई निःशुल्क रगत वितरणका लागि रेडक्रसमा आवश्यक रकम जम्मा गरिसकेका छन् ।
निवर्तमान नगर प्रमुख विजयकुमार सरावगीको पालामा वीरगञ्ज महानगरले सुत्केरीलाई निःशुल्क रगत उपलब्ध गराउने गरेको थियो । केन्द्रले निशुल्क वितरण गरेको ६६ युनिट रगतको ६६ हजार १ सय ५० रुपैयाँ महानगरले भुक्तानी नगरेका कारण अहिले सेवा बन्द गरिएको छ ।
बहुदरमाइले केही वर्षदेखि यो सेवालाई निरन्तरता दिइरहेको छ । बहुदरमाई नगरपालिकाले हरेक वर्ष रक्तसञ्चार केन्द्रमा १ लाख रुपैयाँ दिने गरेको छ ।
विशेष गरी शल्यक्रिया गर्नुपर्दा ग्रामीण क्षेत्रबाट बिरामी वीरगञ्ज आउने गरेका छन् । त्यसबखत रगतको आवश्यकता पर्न सक्छ । पर्साको पश्चिमी क्षेत्रमा पर्ने ठोरी गाउँपालिकाबाट समेत मानिसहरु रगत लिनका लागि केन्द्रमा आउने गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख शौरभराज पाण्डेले जानकारी दिए ।
‘ठोरीबाट समेत धेरै मानिस रगत चाहियो भनेर वीरगञ्ज आईपुगेका हुन्छन्, त्यसैले पर्साका सबै पालिकालाई निःशुल्क रगत उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउनु भनी पत्राचार गरेका छौं’, उनले भने ।
पालिकाबाट रकम भुक्तानी लिन झन्झटिलो हुने भएकोले अग्रिम रुपमा जम्मा गर्न लगाइएको नेपाल रेडक्रस सोसाइटी पर्सा शाखा सभापति वीरेन्द्रराज कँडेल बताउँछन् ।
वीरगञ्जको रक्तसञ्चार केन्द्रबाट मासिक ११ सयदेखि १४ सय युनिट रगत खपत हुने गरेको छ । आवश्यक पर्न सक्छ भनेर लगिएको तर आवश्यक नभएपछि २०० देखि २५० युनिटसम्म रगत फिर्ता आउने गरेको छ ।
प्रतिक्रिया 4