
हाम्रो देशमा धान, गहुँ, मकै, कोदो, फापरलाई मुख्य खाद्यान्न बालीको रुपमा लिइने गरिएको छ । राष्ट्रिय परिवेशमा चौथो नम्बरमा रहेको खाद्यान्न बाली कोदो उच्च पहाडी भूभागहरुमा मकै पछिको दोस्रो बाली हो ।
मकै खेतीमा बाँदरको आतंक पसेपछि किसानहरुले मकै लगाउन छोड्दै गर्दा कोदो लगभग पहिलो बालीमा पर्न आउने अवस्था छ । ओख्ले, डल्ले, काब्रे, चम्रे, रातुवे लगायतका स्थानीय नामले चिनिने कोदो खेती नेपालको तराईदेखि ३ हजार मिटर उचाइसम्म हुने गरेको छ । तर नेपालको कुल खेतीयोग्य जमिनमध्ये २ लाख ६० हजार हेक्टरमा मात्रै कोदो खेती हुँदै आएको छ । कोदो खेतीको क्षेत्रफल अहिले घट्ने क्रममा छ । यसबाट के पनि देखिन्छ भने दिनानुदिन नेपालका पहाडी भूभागहरूबाट कृषि र किसान पलायन हुँदैछन् ।
कोदो दक्षिण अफ्रीकी मुलुक इथियोपियाबाट उत्पत्ति भई भारतको हिमाञ्चल हुँदै नेपाल भित्रिएको विश्वास गरिन्छ । १८ देखि २७ डिग्रीसम्मको तापक्रममा उत्पादन हुने कोदोको एसिया र अफ्रिकाका २५ भन्दा बढी मुलुकमा खेती गरिदै आएको छ ।
मानवजातिको आधारभूत खाद्य सुरक्षा र जीविकोपार्जनका लागि जैविक विविधताको संरक्षण अपरिहार्य छ । विश्वमा पाइने वनस्पतिहरुमध्ये ३ दशमलव २ प्रतिशत वनस्पतिहरू नेपालमा पाइन्छन् । समग्र विश्व जगत नै जलवायु परिवर्तनको भूमरीमा फस्दै गएको वर्तमान सन्दर्भमा हजारौं वर्षदेखि नेपालको तराईदेखि उच्च पहाडसम्म अनुकूलित बाली कोदोलाई पछिल्लो समय आयातित वर्णशंकर अन्य बालीहरुले विस्थापित गर्नुलाई कृषि जैविक विविधताको संरक्षणका हिसाबले सुखद मान्न सकिँदैन । यद्यपि नेपाल सरकारले आर्थिक वर्ष २०७९/८० लाई कृषि जैविक विविधता वर्ष मनाउन बजेटमार्फत घोषणा गरेको छ । हुन त गत आव अर्थात् २०७८/७९ को बजेट वक्तव्यमा आगामी तीन वर्षभित्र गहुँ, मकै, कोदो, फापरमा आमनिर्भर हुने कुरा गरिएको थियो तर हालसम्म तदनुरूपका कार्यक्रमहरू बन्न सकेको देखिदैन ।
विद्यमान कृषि जैविक विविधता नीति २०६३ ले बिउ भन्नाले पैतृक गुण सहित नयाँ सन्तति उत्पादन गर्नसक्ने वनस्पति जीवजन्तु वा पशुपन्छीको भ्रुण, वीर्य, अण्डा वा अंग समेतलाई सम्झनुपर्दछ भनेको छ । तर ठिक यसको विपरीत नेपालमा दिनानुदिन तरकारीमा लगभग ९० प्रतिशत र खाद्यान्न बाली विषेश गरी धान र मकैमा ठूलो मात्रामा आयातित नपुंसक बिउहरुको प्रयोग बढ्दो छ ।
नेपालमा हालसम्म विभिन्न बालिका ६२३ वटा जातहरु विकास गरी उन्मोचन गरिएका छन् । तर कोदो, फापर, जौ, लट्टे, जुनेलो, चीनो, कागुनो, उवा जस्ता जलवायु एवं पोषणमैत्री रैथाने बालीहरूमा भने अनुसन्धान भएको छैन । तथ्यांकहरूका अनुसार हामीले प्रयोग गर्दै आइरहेका १५ देखि ७५ प्रतिशत सम्म रैथाने जातहरू लोप भइसकेका छन् । जसको निरन्तरता जारी छ । यो निकै डरलाग्दो यात्रा हो ।
दशौं वर्षसम्म पुनरुत्पादनशिल क्षमता कायम रहने कोदो आफैंमा कृषि जैविक विविधता, मानव स्वास्थ्य, पर्यावरण, भोकमरी र कृषि संस्कृतिको संरक्षणमा योगदान पुर्याउने महत्वपूर्ण बाली हो । समयक्रम सँगसँगै बाँकी रहेका कोदो लगायतका रैथाने बालीहरू लोप हुँदै गर्दा भविष्यको हाम्रो कृषिमाथिको सम्प्रभुता गम्भीर मोडमा पुगिसकेको छ ।
गुरूङ्ग, मगर, तामाङ, राई, लिम्बु लगायतका जनजातिहरूको धार्मिक क्रियाकलापहरूमा कोदो अनिवार्य मानिन्छ । अरबौं रूपैयाँको रक्सी आयात हुँदै गर्दा बिभिन्न जनजाति समुदायमा सगुनको उत्पादन र प्रयोगमा यसले पुर्याएको योगदानबाट कोदो नेपाली संस्कृतिको पनि अभिन्न अंग रहेको जनाउँदछ ।
दशौं वर्षसम्म भण्डारण गर्दा पनि घुन पुतली नलाग्ने अन्न भएकाले केही गरी भातमरी लागिहाल्यो भने कोदोले दुःखमा बिर्सन नसक्ने गुन लगाउनेमा दुईमत छैन । १ किलो चामलले ३ जनालाई पुग्छ भने त्यत्ति नै अर्थात १ किलो कोदोको पिठोले ६ जनालाई खान पुग्छ । भातको अनुपातमा पौष्टिकताले भरिपूर्ण कोदो आफैंमा आडिलो खाद्य वस्तुु हो ।
कोदोमा प्रोटिन, कार्बोहाइड्रेड, क्याल्सियम, फाइबर र आइरन हुन्छ । एक अध्ययन अनुसार मकैमा भन्दा ३.७, चामलमा भन्दा २.३ र गहुँमा भन्दा १५ गुणा बढी आइरन कोदोमा पाइने हुनाले यसको प्रयोगबाट नेपालमा बिक्री वितरण हुँदै आएको आइरन चक्कीलाई प्रतिस्थापन गर्न सकिन्छ । त्यसैगरी चामल र मकैमा भन्दा ३.५ गुणा तथा गहुँमा भन्दा ८.७३ गुणा बढी क्याल्सियम पाइने हुनाले नियमित कोदो सेवन गर्ने मानिसलाई क्याल्सियमको कमी हुँदैन ।
इण्डियन इन्स्टिच्युट अफ मिलेट रिसर्च हैदराबादले गरेको अध्ययनले कोदोबाट मुटुरोग, क्यान्सर, मधुमेह, लाग्नबाट जोगाउने, पाचन प्रणालीमा सुधार ल्याउने, विषाक्त पदार्थ हटाई शरीर शुद्धीकरण गर्न मद्दत गर्छ । स्वासप्रस्वास सम्बन्धी रोगमा प्रतिरोध क्षमता वृद्धि गर्छ । मांसपेशी र नसासम्बन्धी प्रणालीमा सुधार ल्याउँछ । पार्किन्सस रोग, मेटाबोलिक सिन्ड्रोम लगायत अरु थुपै रोगहरू विरुद्ध सुरक्षा प्रदान गर्ने कुरा उल्लेख छ । त्यसैले बुढापाकाले भन्ने गरेका रहेछन्- सिता खाने भित्ता लागे, पांगदुर (कोदो) खाने योद्धा ।
एकातिर उत्पादनको उचित बजार अभावमा गाई भैंसीलाई खुवाएर पनि नसकिएपछि किसानले कोदो रोप्नै छोडेका समाचारहरु आइरहेका छन् । अर्कोतर्फ गत आर्थिक वर्षमा मात्रै २ करोड ७१ लाख २० हजार मूल्य बराबरको ८ लाख ५ हजार ७ सय ७ केजी कोदो विदेशबाट आयात भएको तथ्यांकले छ । यो तथ्यांकले आयात प्रतिस्थापनको गफ गरेर नथाक्ने सरकारलाई गिज्याइरहेको छ । वर्तमानमा नेपालले विदेशबाट आयात गरिरहेको ठूलो मात्राको खाद्यान्न अर्को मुलुकमा अपुग भएको अवस्थामा कुनैपनि बेला रोकिन सक्छ । यस्तो अवस्थामा न राज्यसँग खाद्यान्न मौज्दात छ, न त तत्काल रोपेर फलाउन सम्भव हुन्छ । यसो हुँदा देशमा कुनैपनि बेला खाध्यान्न संकट पर्नसक्छ ।
जलवायु परिवर्तनका कारण उत्पन्न हुनसक्ने विषम परिस्थितिले पनि हामीलाई खाद्यान्न जोखिममा पार्नसक्ने प्रबल सम्भावनालाई पनि नकार्न सकिंदैन । यस्तो दुर्घटनाबाट बच्नका लागि सरकारी तहबाट कोदो केन्दि्रत अनुसन्धान, उत्पादन, मूल्य श्रृंखला र बजार व्यवस्थापन लगायतका विषयमा कार्यान्वयन योग्य योजना तथा कार्यक्रमहरु लागु गर्न धेरै ढिलो भइसकेको छ । भविष्यमा हुनसक्ने खाद्य संकट जस्तो संवेदनशील अवस्थामा सुरक्षित हुनका लागि पनि तिनै तहका सरकार तथा गैरसरकारी निकायहरू समेतले खालि रहेका र खेर गइरहेका जमिनहरूमा ‘दुःखको साथी कोदो रोपौं’ अभियान नै चलाउनुपर्ने देखिन्छ ।
विज्ञहरुका अनुसार कोदोका ५ प्रजातिहरू कोदो, कागुनो, बाजरा, दुधै चिनो र सरगम हुन् । यसमध्ये दुधे चिनो खीर खानका लागि प्रयोग गर्ने गरिन्छ । खीर खाने वा कोदो रोप्ने दुवै संस्कृति कणर्ाली सभ्यताकै वरिपरिबाट आएको हुनाले पनि यतिखेर साउन १५ मा खीर खाने चलन आम नेपाली संस्कृति बनिसकेको छ ।
यसैगरी उच्च पहाडमा जेठदेखि असार, मध्य पहाडमा असारदेखि साउन र तराई/भित्री मधेसमा साउनदेखि भदौसम्म कोदो रोपाइ हुने हुनाले देशैभरीको प्रतिनिधित्व हुने गरी मध्य भाग अर्थात साउन १५ लाई कोदो दिवस मनाउन वान्छनीय देखिन्छ ।
कोदो/चामलको खीर खाने र कोदो दिवस मनाउन पैरवी गर्ने उद्देश्यले तत्कालीन अवस्थामा राष्ट्रिय कृषक समूह महासंघ नेपालले २०७३ सालदेखि नेपालमा पहिलोपटक औपचारिक कार्यक्रम गर्दै दिवस मनाउन थालेको छ । यस वर्ष पनि छवेली कृषक समूह मकवानपुरसँगको सहकार्यमा राष्ट्रिय कृषक समूह महासंघ नेपाल र नेपाल कृषि पत्रकार प्रतिष्ठानको संयुक्त आयोजनामा भिमफेदी गाउँपालिका वडा नं ५ छवेलीमा राष्ट्रिय किसान आयोग, राष्ट्रिय समावेशी आयोग, खाद्यकालागि कृषि अभियान लगायतका संघसंस्थाहरूको सहभागितामा साउन १५ गते कोदो दिवस मनाउँदै छ ।
जलवायु र स्वास्थ्य मैत्री महत्वपूर्ण बाली कोदोलाई संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले २०२१ मार्च ०३ तारेखमा बसेको संयुक्त राष्ट्रसंघको महासभाले २०२३ अर्थात् आगामी वर्षलाई कोदो वर्ष मनाउने समेत निर्णय गरिसकेको छ ।
(अधिकारी, राष्ट्रिय कृषक समूह महासंघ नेपालका संस्थापक अध्यक्ष तथा खाद्यका लागि कृषि अभियानका संयोजक हुन् ।)
प्रतिक्रिया 4