
१५ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलले नयाँ नेतृत्व चयनका लागि दोस्रो राष्ट्रिय भेला गर्ने भएको छ। वाईसीएलका सहसंयोजक सुबोध शेर्पाइलीले भदौ ३ र ४ गते काठमाडौंमा राष्ट्रिय भेला हुने जानकारी दिए ।
उनका अनुसार भेलाबाट पदाधिकारी र नयाँ केन्द्रीय समिति चयन हुनेछ । भेलामा करिब ५ सय प्रतिनिधि सहभागी हुनेछन् ।
एक महिलासहित प्रत्येक जिल्लाबाट तीन जना, हालका केन्द्रीय सदस्य २०४ जना, दुई केन्द्रीय विभागबाट ४२ प्रतिनिधि राष्ट्रिय सम्मेलनमा सहभागी हुनेछन् । त्यस्तै कुल प्रतिनिधिको ५ प्रतिशत केन्द्रीय कार्यालयले प्रतिनिधि मनोनित गर्ने छ ।
गत भदौ १२ र १३ गते भएको पहिलो राष्ट्रिय भेलाबाट सर्वसम्मत रुपमा पदाधिकारी चयन हुन नसकेपछि सुमन देवकोटाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजक समिति बनाइएको थियो ।
अध्यक्षमा देवकोटा र शेर्पालीबीच सहमति जुट्न नसकेपछि २०४ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको थियो । समितिलाई मंसिर ८ वा फागुन १ मा राष्ट्रिय भेला गर्न ‘म्यान्डेट’ दिइएको थियो ।
यसअघिका अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखाले ४० वर्षे उमेर हद पार गरेका कारण संगठनबाट बिदा लिएका थिए ।
प्रतिक्रिया 4