
१५ साउन, वीरगञ्ज ।
मरो पिया गइले परदेश
यी झरुवा कईसे परी
झुगरिया मारले मछरिया
खेतवा अभि रोपले ना
बही गईले पूर्वा रामा
बही गईले पछिया रामा
बही गईले ना
हमनी के पिया
जमुनाह तरी हो
हमरा नईहर से आईल बा मिठाई पिया
गईनी दुवराई पिया ना ….
पपा रहते हमर खबर लेते बार बार
बिना ममी के कैसन विदाई पिया
छुटे ला रुवाई पिया ना
तराई मधेशको पर्सा, बारा, रौतहट जिल्लामा धान रोपाइँ सुरु भएसँगै खेतखेतमा गुञ्जिने परम्परागत लोक गीत हुन् यी ।
‘रोपनी निरगुन’ भनिने यस्ता गीतमा महिलाले आफ्ना दुःखसुखलाई समेटेर गीत बनाउँछन् । लय मिलाएर गाउँछन् । गीतकै माध्यमबाट बालबच्चा परिवारको सुस्वास्थ्य, दीर्घायु, सुख समृद्धि, बुद्धि विचार ठीक होस् भनेर भगवानसँग आशीर्वाद समेत माग्ने गर्छन् ।
तर बढ्दो आधुनिकतासँगै धान रोपाइँको बेला रोपाहारले गाउने यस्ता ‘रोपनी निरगुन’ लोक गीतहरु विस्तारै लोप हुँदै गइरहेको छ । असारे धान रोपाइँ गर्दा रोपाहारले गाउने रोपनी गीत हिजोआज आक्कलझुक्कल मात्रै सुन्न पाइन्छ । पुराना आमादिदीहरुले धेरथोर गाउने गरेको भए पनि नयाँ पुस्तालाई त्यस्ता गीत गाउन आउँदैन । मोबाइल, इन्टरनेट र प्रविधिको युग आउनुअघि भोजपुरी क्षेत्रमा धान रोप्ने महिलाले आफ्ना भावना लोकगीतबाट व्यक्त गर्ने गर्थे । खेत जोत्दा, धान रोप्दा र गोड्दा गाइने छुट्टाछुट्टै गीत हुन्थे ।
बढ्दो आधुनिकतासँगै गोरु जोत्ने प्रचलन निकै कम भएको छ । बहुदरमाई नगरपालिका विश्रामपुरकी चनरज्योती देवी आफ्नो पुस्ता पछि रोपनी गीत गाउने मान्छे नै नभएको बताउँछिन् । ‘जति बुझ्छन, त्यति न गर्छन, अहिले त सबैजना स्ट्यान्डर्ड, सुकुमार भइसकेका छन्,’ उनले भनिन्, ‘हामी छउन्जेल खेती हुन्छ, निरगुन रोपनी गीत गाइन्छ, हामी नरहेपछि यो पनि रहन्न ।’
छोराछोरीले खेती गर्न गाह्रो मानेर खेत नै बेचिदिने हुन कि भन्ने चिन्ता उनलाई छ ।
उनीसँगै धान रोप्दै गरेकी रम्भा देवी पहिलाका आमा दिदीहरु बुढा भएसँगै सांस्कृतिक गीतमा आकर्षण कम हुँदै गएको बताउँछिन् । ‘अहिलेका केटाकेटी नयाँ नयाँ फिल्मी दुनियाँमा मग्न छन्’, उनले भनिन्, ‘फिल्मी दुनियाको गीत खेतमा गाएर हुँदैन, रोपनीमा गाउने छुट्टै गीत हुन्छ । पुरानो पुस्ता जस्तो नयाँ पुस्ता काम गर्न पनि सक्दैनन्, गीत गाउन पनि जाँन्दैनन् ।’
विश्रमपुरकै सुरसती देवी खाना खुराकमा समेत बदलाव आएको बताउँछिन् । ‘सातु रोटी, जौ गहुँका परिकार खाने गरेका थियौं, पहिलेको जस्तो खाना अहिले छैन । म वृद्ध भत्ता खान्छु, तर मैले जति अहिलेकाले काम सक्दैनन् । गीत गाउन सक्दैनन’, उनले भनिन्, ‘लाग्छ हाम्रो पुस्तापछि परम्परागत रोपनी गीतहरु गाउने मान्छे नै हुन्न ।’
स्थानीय तेतरी देवी रोपाइँमा गीत गाउँदा छुट्टै आनन्द आउने सुनाउँछिन् । ‘गीत गाउँदा रोपाइँमा एउटा सोभा हुन्छ, मनोरञ्जन पनि हुन्छ, थकाइ लागेको महसुस पनि हुँदैन’, उनले भनिन्, ‘त्यसैले असार साउनमा धान रोप्दा रोपनी गीत गाइन्छ, तर बिस्तारै गाउने मानिसहरुको संख्या कम हुँदैछ, नयाँ पुस्तालाई त गाउन पनि आउँदैन ।’
पोखरिया नगरपालिकाका धर्मेन्द्र चौरसिया आधुनिकताले परम्परागत लोक संस्कृति खत्तम पारिदिएको बताउँछन् । ‘आमाहरु खेत रोप्न जाँदा दिनभर रोपाइँ हुन्थ्यो, रोपनी गीत गाउँथे, बढ्दो आधुनिकतासँगै रोपाइँमा गीत गाउन छोडेका छन्’, उनले भने, ‘नयाँ नयाँ रोपाहार छन्, चार घण्टा काम गर्छन्, उनीहरुलाई गीत गाउन पनि आउँदैन ।’
तराई-मधेशमा हरेक समय, हरेक पक्ष तिथिहरुमा गीत गाउने गरिन्छ । मानिस जन्मेदेखि मर्दासम्म गीत गाउने चलन भोजपुरी समाजमा छ । त्यसैले भोजपुरी समाजलाई ‘गीति समाज’ पनि भनिन्छ । हरेक सुखदुःखमा एकअर्काको नजिक बसेर सामाजिक चेतना जगाउने, सामाजिक अप्ठेराहरुमा लयवद्ध गीत गाएर एकअर्काको भावना बुझ्ने, ढाडस दिने गरिन्छ ।
पर्सामा मात्रै चैते, अघनी र भदैया गरेर ४७ हजार १ सय ३० हेक्टरमा धान रोपाइँ हुने अनुमान कृषि ज्ञान केन्द्र पर्साको छ । सोना मन्सुली, सुवर्णसब १, हर्दिनाथ १ ( भदैया) बासमति, सावित्री जातका धान पर्सामा लाग्छन् । कृषि ज्ञान केन्द्र पर्साका बालि विकास अधिकृत सुरेशप्रसाद चौरसिया नयाँ पुस्ताले रोपाइँ गीत गाउन लाज मान्ने र नजान्ने हुँदा लोपउन्मुख अवस्थामा पुगेको बताउँछन् । ‘रोपाइँ गर्दा महिलाले लोकगीत गाउने चलन छ, तर त्यो विस्तारै लोप हुने अवस्थामा छ’, उनले भने, ‘किनकि पुरानो मान्छेहरु मात्रै गाउँछन्, नयाँ पुस्तालाई आउँदैन ।’
ठाकुरराम बहुमुखी क्याम्पसमा सह-प्राध्यापक एवं भोजपुरी संस्कृतिका जानकार डा.विश्वम्भर शर्मा रोपनी गीत मात्रै नभएर परम्परागत भोजपुरी लोकगीत लोप हुने तरखरमा रहेको बताउँछन् ।
‘पुराना लोक गीतहरु आज खोज्नु भो भने पाउनुहुन्न । अन्य संस्कृतिले कहीं न कही प्रभाव पार्दै गइरहेको छ । अरुको संस्कृति पछ्याउँदै जाँदा हामीले आफ्नो संस्कृति बिर्संदै गइरहेका छौं’, उनले भने, ‘कृषि कठिन पेशा हो, पर्म लगाउने चलन थियो, एकअर्कामा सहयोग गर्थे, हिलोमा, पानीमा रुझ्दै त्यहिनेर खुसीको खोजी गर्दा दुःख पीडालाई भुलाउन गाइने रोपाइँ गीत, गोड्ने गीत, हली गीतहरु लोप हुने खतरामा छन् ।’
परम्परागत लोकगीत जान्ने एउटा पुस्ता अझै समाजमा रहेको बताउँदै उनले तीनै तहको सरकारले लोक संस्कृति, परम्पराको संरक्षण गर्नुपर्ने बताए ।
‘गाउँदै, हाँस्दै, रमाइलो गर्दै खेतीका कार्यहरु गर्नमा भन्दा नयाँ पिंढीलाई रोजगारी, सहरी जीवन र विदेश बढी प्राथमिकतामा छ । एउटा पिंढी अझै छ । जो यी सबै जान्दछन्, त्यो पिंढी समाप्त हुनुअघि नै अनुसन्धानमूलक सोध गराउन जरुरी छ’, उनले भने, ‘पूर्वजले गाउने परम्परागत लोकगीत र र परम्पराहरुलाई संरक्षण गर्न त्यसको संकलन र प्रकाशन गर्ने, अडियो र भिजुअल गरेर राख्न सक्यौं भने आउने पुस्ताका लागि सुरक्षित गराउन सकिन्छ । यसलाई मासिन दिनु हुँदैन तीनै तहको सरकारको दायित्व हो ।’
भोजपुरी संस्कार गीतका संकलक समेत रहेका डाक्टर शर्मा रोपाइँको समयमा सदरमुकाम र सहर केन्द्रित कार्यक्रम नगरेर ग्रामीण भेगमा केन्द्रित हुनुपर्ने बताउँछन् । लोक गीत गाउन जान्नेहरुलाई खेतमा लगेर गाउन लगाएरै भए पनि परम्परागत लोक संस्कृतिलाई बचाउनुपर्नेमा उनको जोड छ ।
‘परम्परागत रुपमा मानिसले जीवन जिउन, सामाजिक एकता, भाइचारा, सदभावका विकास गरेका थिए, खण्डित हुँदै गएको छ । त्यसलाई जोड्दै अघि बढ्नुपर्छ’, उनले भने, ‘संस्कृति परम्परा देशको गहना हो, राज्यले त्यसको संरक्षण राज्यले गर्नुपर्छ । सचेत समाजले पनि ध्यान दिनुपर्छ ।’
प्रतिक्रिया 4