
काठमाडौं । ‘कबड्डी’ फेम्ड रामबाबु गुरुङले निर्देशन गर्ने नयाँ फिल्म ‘फूलबारी’मा अभिनेत्री प्रियंका कार्की जोडिएकी छन् । प्रमुख भूमिकाको लागि प्रियंका अनुबन्धित भइसकेको निर्देशक गुरुङले अनलाइनखबरलाई जानकारी दिए ।
दयाहाङ राई र विपिन कार्की यसअघि नै फिल्मको प्रमुख पुरुष कलाकारमा फाइनल भइसकेका छन् । गत बैशाख २५ गते रिलिज भएको फिल्म ‘लक्का जवान’पछि प्रियंका अभिनयमा फर्किन लागेकी हुन् । त्यसयता उनले छोरीलाई जन्म दिइन् । प्रियंका कमब्याकको लागि यतिबेला शारीरिक रुपमा फिट हुन कसरत गरिरहेकी छन् ।
भदौ १३ गतेदेखि छायांकन सुरु हुने फिल्ममा रंगमञ्च कलाकारहरु अरुणा कार्की, सोम खनाल पनि जोडिने चर्चा छ । फ्यामिली ड्रामा जनरामा निर्माण हुन लागेको फिल्मले अभिभावक र सन्तानको कथा पेश गर्छ ।
यो फिल्ममा विपिनले ५८ वर्षीय पात्रको भूमिकामा अभिनय गर्दैछन् । सम्भवतः उनको जोडीको रुपमा अरुणा हुने सम्भावना छ ।
फिल्मको शीर्षक ‘फूलबारी’ नै राखिए पनि छायांकनमा जानुअघिसम्म नाम परिवर्तन पनि हुनसक्ने निर्देशक गुरुङले बताए । यशोधा फिल्म्सको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो ।
प्रतिक्रिया 4