
काठमाडौं । हास्य कलाकार मनोज गजुरेलको नयाँ टेलिभिजन रियालिटी शो ‘ओपन माइन्ड’को छायांकन सुरु भएको छ । यो कमेडी रियालिटी शोको निर्देशकमा जनक पौडेल छन् ।
‘कमेडी च्याम्पियन’ सफल भएपछि गजुरेल हास्य विधाकै रियालिटी शोमा फर्किन लागेका हुन् तर यसको बनावट भिन्न रहेको बताइएको छ । टक शो स्टाइलमा हुन लागेको यो शोमा गजुरेलसहित नयाँ छिमलका कमेडी कलाकार समेत प्रस्तुत हुने भएका छन् ।
२० भाग निर्माण गर्ने योजनासहित छायांकन सुरु भएको हो । ‘कमेडी विधाकै भए पनि यो टक शो शैलीमा हुन लागेको हो,’ गजुरेलले अनलाइनखबरसँग भने ।
दशैंअघि प्रसारण गर्ने लक्ष्य राखिएको यो शो कुन टीभीमा आउँछ निधो भइसकेको छैन । पछिल्लो समय कमेडी शोको एकखाले बाढी नै आइरहेको छ । कमेडी च्याम्पियनपछि कमेडी हब, कमेडी क्लब विथ च्याम्पियन्स, आम्मा कसम याँ दुख्छ अहिले प्रसारण भइरहेको छ । मुन्द्रेको कमेडी क्लब आउने तयारीमा छ ।
यसैबीच, गजुरेलले गाईजात्रे कार्यक्रममा समेत हास्य व्यंग्य पस्किने भएका छन् । सामाजिक र आर्थिक मुद्दामै केन्द्रित रहेर यसपटक आफूले गाईजात्रा विशेष कार्यक्रम ल्याउने उनले जानकारी दिए । यस वर्षको गाईजात्रा साउन २७ गते मनाइँदैछ ।
प्रतिक्रिया 4