
१५ साउन, काठमाडौं । न्यूनचापीय रेखा नेपाल नजिक रहेकाले आगामी मंगलबारसम्मै वर्षा हुने मौसमविदले अनुमान गरेका छन् । बुधबारदेखि भने न्यूनचापीय रेखा भारततर्फ सर्ने भएकाले अहिलेको जस्तो वर्षा नहुने पूर्वानुमान छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सञ्जीव अधिकारीका अनुसार पानी पार्ने न्यूनचापीय रेखा अहिले सामान्य स्थानभन्दा उत्तरतिर सरेकाले पानी पर्ने क्रम जारी छ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको र आइतबार रातभर पानी पर्ने सम्भावना रहेको उनले बताए ।
‘प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ’, मौसमविद अधिकारीले भने ।
न्यून चापीय रेखाको सामान्य अवस्थिति पश्चिममा भारतको गंगानगर र पूर्वमा ‘हेड अफ वे’ बंगाल (कोलकाता नजिक) हो । यो न्यून चापीय रेखा सामान्य अवस्थाभन्दा भारततिर सर्यो भने भारततिर बढी वर्षा हुने र नेपालतिर सर्यो भने नेपालमा बढी वर्षा हुने गर्छ । अहिले नेपालतर्फ सरेकाले पानी परिरहेको हो । आइतबार देशैभरि वर्षा भइरहने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाका मौसमविद अधिकारीले बुधबारबाट उक्त न्यून चापीय रेखा भारततिर सर्ने भएकाले नेपालमा पानी पर्ने क्रम कम हुने बताए । ‘बुधबारबाट मौसममा सुधार हुने सम्भावना देखिन्छ,’ उनले भने ।
प्रतिक्रिया 4