
१५ साउन, डोटी । नेकपा एमालेका सचिव लेखराज भट्टले टिकटकमार्फत सरकारको क्रियाकलापको भण्डाफोर गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
आइइतबार नेकपा एमाले डोटीले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले भने, ‘वर्तमान सरकारका गलत क्रियाकलापहरुलाई भण्डाफोर हुने गरी टिकटक बनाउनु होला ।’
उनले छाडा संसकृतिलाई प्रोत्साहन हुने गरी टिकटक बनाउन नहुने पनि बताए । ‘टिकटक नबनाउनुस् म भन्दिन, बनाउनुस् तर तपाईले बनाएको टिकटक देशको पक्षमा हुनुपर्यो, राष्ट्रियताको पक्षमा हुनुपर्यो’ उनले भने, ‘तपाईले बनाएको टिकटकले कसैको भावनालाई चोट नपुगोस् ।’
एमालेको सरकार भएका बेला भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा महत्वपूर्ण काम भए पनि कार्यकर्ताले जनताको बीचमा लैजान नसकेको सचिव भट्टले बताए ।
‘हाम्रो पार्टी सरकारमा भएका बेला थुप्रै महत्वपूर्ण कामहरु भएका छन्’ भट्टले भने, ‘तर हामीले त्यसको प्रचार गरेनौं, बरु विपक्षी कार्यकर्ताहरुले सरकारको आलोचना गर्दा हामी पनि आलोचना गर्न थाल्यौं ।’
एमालेका सुदूरपश्चिम इन्चार्जसमेत रहेका भट्टले एमालेका सबै कार्यकर्ताहरु उत्पादनसंग जोडिनुपर्ने वताए । ‘दिनभरि गफ गरेर बस्ने, साँझ बजारबाट आलु किनेर तरकारी बनाउने हो भने हाम्रो उत्पादन बढ्दैन’ भट्टले भने ‘खेतबारीमा काम गरेर अन्नबाली उत्पादन गर्नु भन्दा भारत जानु ठीक भन्ने मानसिकता भत्काउनुपर्छ, त्यसका लागि एमालेका कार्यकर्ताहरुले अगुवाई गर्नुपर्छ’ उनले भने ।
एमाले देशको प्रमुख शक्ति
सचिव भट्टले अहिले एमालेमाथि चारैतिरबाट प्रहार भइरहेको बताए । ‘सबैले एमालेमाथि प्रहार गर्नु भनेको नै एमाले प्रमुख शक्ति हो भन्ने बुझ्नुहोस्, जनताको बीचमा लोकप्रिय भएकै कारण अन्य दलहरुले एमालेसंग एक्लै चुनाव लड्न हिम्मत गरिरहेका छैनन्’ भट्टले भने ।
उनले अनुशासित, इमानदार र एकढिक्का भएर चुनावमा जान पनि उनले कार्यकर्तालाई निर्देशन दिए । भट्टले ‘फलानो मान्छेले टिकट नपाए म चुनावमा खट्दिन’ भन्ने मानसिकता बोकेका कार्यकर्ताहरुले पार्टी बलियो नहुने बताए । उनले भने ‘पार्टीको विधान नमान्ने, नीति विचार नमान्ने, अन्तरपार्टी निर्देशन नमान्ने, पार्टी निर्णय नमान्ने व्यक्तिलाई पार्टीमा बस्ने अधिकार छैन ।’
प्रतिक्रिया 4