
१७ साउन, काठमाडौं । गौतमश्री बहुउद्देशीय सहकारी संस्थाका अध्यक्ष रामबहादुर गौतमले आफ्नो जायजेथा र सम्पत्ति बेचेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्ने बताएका छन् । मंगलबार गुप्त स्थानबाट विज्ञप्ति जारी गर्दै अध्यक्ष गौतमले रकम फिर्ता गर्न नसकेर भागेको नभई अन्य व्यावसायिक कार्यको लागि भारत गएको बताएका छन् ।
सोमबार नै भारतबाट नेपाल फर्किसकेको र सहकारीको समस्या समाधानका लागि सक्रिय रहेको गौतमले ‘गौतम बिजनेस ग्रुप’ नामको इमेलमार्फत पठाएको विज्ञप्तिमा उल्लेख छ ।
१,१४५ जना बचतकर्ताले सहकारी विभागमा संस्थाविरुद्ध ठगीको उजुरी गरेको भोलिपल्ट गौतमको विज्ञप्ति सार्वजनिक भएको हो ।
उनले कोभिड-१९ महामारीका कारण लगानी भएको केही कर्जामा समस्या रहेको स्वीकार गरेका छन् । ‘सहकारी नियमित सञ्चालनमा रहेको अवस्थामा विश्वव्यापी कोरोना महामारीको कारणले नेपालमा करिब २ वर्ष जारी रहेको लकडाउनले पारेको समस्याका कारण सहकारीबाट प्रवाह गरेको कतिपय कर्जा समयमा असुली हुन नसकेको भएपनि हामीले बचतकर्ताहरुको रकम नियमित रुपमा फिर्ता गरिरहेको र संस्था नियमित सञ्चालनमै रहेको थियो’ विज्ञप्तिमा भनिएको छ ।
उनले संस्थाबाट प्रवाह गरिएको सम्पूर्ण कर्जा असुली गर्न केही समय लाग्ने भएमा आफ्नो सम्पत्ति बिक्री गरेर भएपनि रकम भुक्तानी गर्ने बताएका छन् ।
उनले भनेका छन्, ‘तपाईंहरुको बचत रकम कुनै पनि हालतमा डुब्न दिने छैन, म तपाईंहरुको बचत रकम मेरो जायजेथा र सम्पत्ति बेचेरै भएपनि केही महिनाभित्रमा रकम फिर्ता गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’
हेर्नुहोस् विज्ञप्तिः
प्रतिक्रिया 4