
१७ साउन, काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारी संस्थाहरुलाई जोखिम मूल्यांकन गरी समान्य अवस्था भन्दा बढी तरलता कायम राख्न आह्वान गरेको छ ।
मंगलबार महासंघले एक अपील जारी गर्दै जोखिम विश्लेषण कार्यविधि तयार गरी जोखिम न्यूनीकरणका लागि योजनाबद्ध तथा प्रभावकारी रूपमा असुलीमा केन्द्रित रहन आग्रह गरेको छ ।
पछिल्लो समय सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न नसकेको तथा कर्जा असुलीमा पनि समस्या भएको घटनाहरु बढ्दै गएपछि महासंघले मंगलबार उक्त अपील सार्वजनिक गरेको हो ।
महासंघले अहिले असहज अवस्था रहेको भन्दै परिस्थिति सहज नहुँदासम्म घरजग्गा र ठूलो लगानी नगर्न सहकारी संस्थालाई आग्रह गरेको छ । सदस्यहरूले समेत अस्वाभाविक ब्याजको लोभमा नपरी संस्थागत क्षमता भएका र सुशासनमा सञ्चालित संस्थाहरूसँग मात्र कारोबार गर्न महासंघले सुझाव दिएको छ ।
‘कोभिड-१९ महामारी, रुस–युक्रेन युद्धसँगै वस्तु तथा सेवाहरुको मूल्यवृद्धि र मुद्रास्फीतिको असर पर्न गई नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकमको अभावको प्रभाव सहकारीमा पनि परेको छ,’ महासंघको अपीलमा भनिएको छ, ‘कतिपय सहकारी संस्थामा तरलताको चाप पर्दा सदस्यहरूलाई बचत फिर्ता गर्न कठिनाइ भइरहेको छ ।’
महासंघले सम्पूर्ण सहकारी संघ/संस्था तथा सदस्यहरुलाई धैर्यतातथा सतर्कता अपनाई थप संयमित रुपमा कदम चाल्न अनुरोध गरेको छ । महासंघ, संघ एवं सहकारी बैंकले सञ्चालन गरेका स्तरीकरण कार्यक्रम एवं तालिमहरूमा सहभागी भई संस्थागत क्षमता मजबुद बनाउन आह्वान गरेको छ ।
त्यस्तै सदस्य एवं सरोकारवाला निकायहरुसँग संस्थाको वर्तमान अवस्थाको बारेमा निरन्तर समन्वय र सम्वाद जारी राख्न महासंघले अपील गरेको छ । सहकारीका मूल्य, मान्यता र सिद्धान्त बमोजिम आन्तरिक नियन्त्रण प्रणालीलाई चुस्त राख्दै संस्थागत सुशासन कायम गर्न, सहकारी अभियानको ऐक्यवद्धतालाई कायम राख्न माथिल्लो संघहरूसँग नियमित सम्पर्कमा रहँदै यथासम्भव अभियानभित्रै कारोबार गर्न आह्वान गरेको छ ।
प्रतिक्रिया 4