
१७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको भ्रातृ संगठन अखिल क्रान्तिकारीका दुवै पक्षलाई छलफलमा बोलाएका छन् । क्रान्तिकारीमा असन्तुष्टि जनाउँदै पवन कार्कीले समानान्तर समिति नै बनाएर सञ्चालन गरिरहेका छन् ।
विवाद समाधान गर्ने प्रयास स्वरुप प्रचण्डले अध्यक्ष पञ्चा सिंह र कार्कीलाई मंगलबार खुमलटारमा बोलाएका हुन । ‘अध्यक्षले हामीलाई छलफलका लागि बोलाउनु भएको छ,’ कार्कीले भने, ‘उहाँसँगको छलफलमा हामी आआफ्ना कुरा राख्छौं।’
अखिल क्रान्तिकारीभित्रको समस्या अध्ययन गरी सुझाव दिन गठित समितिले प्रतिवेदन बुझाएपछि प्रचण्डले दुवै पक्षलाई छलफलमा बोलाएका हुन ।
रमेश मल्ल नेतृत्वको तीन सदस्यीय समितिले ४ साउनमा प्रचण्डलाई अध्ययन प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन १२ साउनमा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकमा पेस गरिएको थियो ।
स्थायी समितिले उक्त प्रतिवेदनले दिएको सुझावका अधारमा निर्णय लिनु अघि प्रचण्डले आफूले दुवै पक्षसँग एकपटक छलफल गर्ने इच्छा प्रकट गरेका थिए । त्यसै अनुसार उनी आज विद्यार्थी नेताहरुसँग छलफलमा जुटेका हुन ।
अध्ययन समितिले दिएका चार सुझाव
अखिल क्रान्तिकारीभित्रको समस्या समाधान गर्न १९ असारमा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले मल्लको अध्यक्षतामा नरेन्द्र न्यौपाने र रत्न ढकाल रहेको समिति बनाएको थियो ।
समितिले दुवै पक्षसँग छलफल गरेर प्रतिवेदन तयार पारेको थियो । समितिले विवादबारे मुख्य चार सुझाव दिएको छ ।
१. संस्थापन पक्षको कारबाही फिर्ता लिने र समानान्तर समिति खारेज गर्ने ।
२. दुवैलाई मिलाएर वा छुट्टै तदर्थ समिति बनाएर राष्ट्रिय सम्मेलन आयोजन गर्ने।
३. निश्चित उम्मेर हद लागू गर्ने । असन्तुष्ट कार्की पक्षको माग ३० वा ३२ वर्षको उम्मेर हद राख्नुपर्ने माग छ।
४. संस्थापन पक्षले गरेको कारबाहीलाई नै सदर गर्ने । तर, त्यसो गर्दा संगठनको समस्या हल नहुने ।
प्रतिक्रिया 4