+
+

बुढेसकालमा दिएको एसईई नतिजामा अनुपस्थित देखाएपछि…

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १७ गते २२:०३

१७ साउन, विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–८ का उमाकान्त अधिकारीले २०५० सालमा पहिलो पटक एसएलसी परीक्षा दिए । तर पास गर्न सकेनन् ।

पहिलो पटक एसएलसी परीक्षा दिँदा उनी २० वर्षका थिए । त्यसयता परीक्षा दिने रहर भएपनि लामो समयसम्म आँट गरेनन् । एसएलसी पास नभएका कारण पाएका केही अवसर गुमाएका उनले २९ वर्षपछि गत वर्ष पुनः परीक्षा दिए ।

२०५० सालमा परीक्षा दिएको स्कुल जनसेवा माध्यमिक विद्यालय कानेपाखेरीबाट उनले २०७८ सालमा एसईई दिए । श्री माध्यमिक विद्यालय भौसबारी केन्द्रमा परीक्षा दिएका उमाकान्त नतिजा आउँदा खुशी हुन सकेनन् । सातवटा विषय पास र स्वास्थ्य तथा शारीरिक शिक्षामा अनुपस्थित भएको लब्धांकपत्र उनले पाए । ‘मैले सबै विषयको परीक्षा दिएको छु’, उनले भने, ‘राम्रो लेखेको विषयमा अनुपस्थित देखायो ।’

५० वर्षीय अधिकारीको चाहना कानुन विषय पढ्ने छ । ‘कानुन पढ्नका लागि २९ वर्षपछि एसईई परीक्षामा सहभाागी दिएँ’, उनी भन्छन्, ‘रिजल्ट करेक्सन चाँडै आए कानुन विषय पढ्छु ।’

अधिकारीले एसईई परीक्षा दिनेबारे परिवारका सदस्यलाई पनि जानकारी गराएका थिएनन् । ‘पास भएपछि मात्रै भन्छु भन्दै थिएँ’, उनले भने, ‘एउटाबाहेक सबैको रिजल्ट राम्रै आयो ।’

कोरोना महामारीका कारण दुई वर्ष विद्यालयको मूल्याङ्कनका आधारमा रिजल्ट प्रकाशित भयो । आफ्नो क्षमता जाँचका लागि कोरोनाकालमा एसईईको फर्म नभरेको उमाकान्त बताउँछन् ।

उनले नतिजा संशोधनका लागि शिक्षा विकास तथा समन्वय इकाई मोरङमा निवेदन दिएका छन् । नतिजा संशोधनका परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरमा लेखी पठाएको शिक्षा समन्वय इकाई मोरङका प्रमुख टंकप्रसाद गौतमले बताए । उनले संशोधन हुनका लागि कति समय लाग्ने भन्ने टुङ्गो नभएको बताए ।

जनसेवा माध्यमिक विद्यालयका प्रधानाध्यापक दामोदार सिग्देल परीक्षा दिएको भएपनि जाँचका क्रममा उत्तरपुस्तिका हराएको कारण अनुपस्थित देखाएको बताउँछन् ।

‘उहाँको परीक्षा रेगुलर होइन, एक्जाम्टेड विद्यार्थी थोरै थिए, उहाँको उत्तर पुस्तिका मिसप्लेस भएछ’, उनले भने, ‘यत्रो वर्षपछि परीक्षा लेख्दा पनि राम्रै नम्बर आएको छ ।’

शिक्षा विकास समन्वय इकाई मोरङका प्रमुख गौतमले सम्बन्धित केन्द्राध्यक्षको सिफारिस, परीक्षार्थीको हाजिरीसहित नतिजा संशोधनका लागि परीक्षा नियन्त्रण कार्यालयमा पठाइएको बताए । परीक्षा नियन्त्रण कार्यालयले चाँडै नतिजा संशोधन गर्न सक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?