
१७ साउन, जनकपुरधाम । महोत्तरी प्रहरीले चोरिएको मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ ।
१५ साउनमा बर्दिवास नगरपालिका-१४ स्थित सेञ्चुरी बैंक अगाडि पार्किङ गरी राखिएको ज.७प ४५८६ नम्बरको चोरी भएको मोटरसाइकल खोज्ने क्रममा प्रहरीले थप तीन वटा मोटरसाइकल बरामद गरेको छ भने तीन जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख डीएसपी रबी रावलका अनुसार चोरी भएको मोटरसाइकल खोज्ने क्रममा बर्दिवास ७ स्थित रामएकबाल यादवको घरबाट उक्त मोटरसाइकलसहित थप तीन वटा बरामद भएको छ ।
यादवको घरबाट ज. ७ प ४५८६ नम्बरसहित अन टेस्ट १६० सिसिको एपाची, ज.१२ प. ८४८६ र प्र.२–०१–००२ प ५५२९ नम्बरको मोटरसाईकल लुकाई छिपाई राखेको अवस्थामा फेला पारिएको डीएसपी रावलले बताए ।
मोटरसाईकल चोरी गर्ने २३ बर्षीय रामएकवाल यादव, उनका भाई २१ वर्षीय रामलक्ष्मण यादव तथा महोत्तरीकै भंगहा नगरपालिका ४ बस्ने २२ बर्षीय सुनिल कुमार रामलाई पक्राउ गरी जिल्ला अदालतवाट म्याद थप गराएर अन्य अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4