
१८ साउन, दाङ । दाङको राप्ती गाउँपालिका–९ की १९ वर्षीया देवकला बुढालाई साउन ६ गते एकाबिहानै प्रसूति व्यथाले च्याप्यो । परिवारले उनलाई अस्पतालमासम्म पुर्याउने तयारी गरे ।
बर्खायाममा गाडी नगुड्ने भएपछि उनको परिवारले करिब २० किलोमिटर टाढा अस्पताल लैजान भन्दै डोलामा राखे । तर अस्पताल पुर्याउन नपाउँदै बीच बाटोमै उनको बच्चा जन्मियो । उनको रक्तस्राव अत्यधिक भयो । झरीकैबीच करिब एक घण्टा लगाएर परिवारले उनलाई भालुवाङ अस्पतालमा पुर्याइयो ।
*****
दाङकै बबई गाउँपालिका–७ स्थित मलइकी २६ वर्षीया निर्मला घर्ती बच्चा जन्मने मितिको केहीदिन अघि नै तुलसीपुरस्थित आफन्तको घरमा गएर बसिन् । असार २७ गते उनले तुलसीपुरको अस्पतालमा बच्चा जन्माइन् । बच्चा जन्माएको दोस्रो दिन घर फर्किनुपर्ने भयो । तर बर्खायाममा गाउँसम्म पुग्ने गाडी नचल्दा दुई घण्टा स्ट्रेचरमा राखेर उनलाई घर पुर्याइयो । चार वर्षअघि पनि पहिलो पटक सुत्केरी हुँदा उनलाई स्ट्रेचरमा राखेरै अस्पतालदेखि घरसम्म पुर्याइएको थियो ।
करिब अढाइ सय घरधुरी रहेको बबईको मलईमा बर्खाभरी गाडी चल्दैन । त्यहीकारण गर्भवतीहरू बच्चा जन्मिने सम्भावित मितिभन्दा केही दिन अगाडि नै तुलसीपुरस्थित आफन्तको घर गएर बस्ने गरेको उनले सुनाइन् ।
बबइ गाउँपालिकाको मलई पुग्ने बाटो बर्खायाममा अवरुद्ध हुने भएकाले त्यहाँसम्म कुनै पनि मोटरगाडी चल्दैनन् । ‘बर्खाको समयभर कोही कतै विरामी भए बोकेरै अस्पतालसम्म पुर्याउनु पर्छ,’ बबई गाउँपालिका ७ का वडाध्यक्ष तिलकराम भण्डारी भन्छन् । वडाध्यक्ष भण्डारीले बर्खामा गाडी नचल्दा मलईबाट ढोलपुरसम्मको दुई घण्टाको बाटोमा विरामीलाई बोकेर अस्पताल पुर्याउनुपर्ने बताए ।
*****
लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ सुगम जिल्ला मानिन्छ । तर यही राजधानीभित्रका नागरिकको पीडा भने कहालीलाग्दो छ । दाङका केही पहाडी भू–भाग र ग्रामिण भेगमा अहिलेसम्म पनि सहजै सडक सञ्जाल नपुग्दा विरामीलाई बोकेरै अस्पतालसम्म पुर्याउनुपर्ने बाध्यता यथावत छ ।
स्वास्थ्य कार्यालय दाङले भौगोलिक विकटता कारण पहाडी भू–भाग र ग्रामिण भेगका सबै नागरिकमा स्वास्थ्यको पहुँच नभएको बताउँछ । कार्यालयका अनुसार जिल्लाभरका एक सय वडामा एक सय बढी स्वास्थ्य चौकी छन् । अर्थात हरेकजसो वडामा स्वास्थ्य चौकी छन् । तर सबै स्वास्थ्य चौकी पायक पर्ने ठाउँमा नहुँदा सडक सञ्जाल नपुगेका पहाडी भेगका विरामीलाई स्ट्रेचर वा डोकोमा बोकेरै स्वास्थ्य चौकीसम्म पुर्याउनु पर्ने बाध्यता रहेको स्वास्थ्य कार्यालय दाङका भेक्टर कन्ट्रोल सुपर भाइजर कमल चन्द बताउँछन् ।
जिल्लाकै घोराही र तुलसीपुर उपमहानगरपालिभित्रका कयौं बस्तीका नागरिक समेत आधारभूत स्वास्थ्य उपचार सेवाबाट बञ्चित छन् । चन्दले घोराही उपमहानगरपालिकाको–१९ को सैघा, तुलसीपुर उपमहानगरपालिका–३ स्थित प्रतापकोट, बबई गाउँपालिकाको वडा नं. ५ र ७ का केही गाउँहरुमा पनि यही समस्या भएको बताए । पहाडी भू–भाग क्षेत्रमा पर्ने दंगीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका र बंगाचुली गाउँपालिकाका केही गाउँहरुमा अझै मोटर बाटो पुगेको छैन । मोटर बाटो पुगेका ठाउँमा पनि वर्षायाममा गाडी चल्दैनन् ।
‘पहाडी भेगका सबै ठाउँमा सडक सञ्जाल पुगेका छैनन् । कहीँ बाटो पुगेको छ तर नियमित गाडी चल्दैन’ स्वास्थ्य कार्यालय दाङका कमल चन्दले भने । उनले सडक सञ्जाल नपुगेका पहाडी भेगमा स्वास्थ्य चौकी र अस्पतालसम्म विरामीलाई बोकेर पुर्याउने कुरा नौलो नभएको बताए । ‘अझै त्यस्ता गाउँ छन्, जहाँ विरामीले सजिलै स्वास्थ्य उपचार सेवा पाउन सकेका छैनन्,’ उनले भने, ‘सडक समेत नपुगेका ती ठाउँका मानिसलाई बोकेर स्वास्थ्य चौकी पुर्याउनुको विकल्प छैन ।’
स्वास्थ्य कार्यालय दाङसँग कति नागरिक स्वास्थ्यको पहुँच बाहिर छन् भन्ने यकिन तथ्यांक छैन । तर सडक सञ्जाल नपुगेका पहाडी भू–भागका थुप्रै नागरिकले सजिलै स्वास्थ्य सेवा लिन नसकिरहेको चन्द बताउँछन् ।
नाकामा झन् बिजोक
दाङमा भारतसँग जोडिएका २६ बढी नाकाहरु छन् । नाकावासीका दुःख पनि उस्तै छ । देउखुरी क्षेत्रका राजपुर र गढवाको दुर्गम बस्तीहरु विभिन्न आधारभूत सेवा सुविधाबाट बञ्चित छन् । तर सरकारको त्यसतर्फ खासै ध्यान पुग्न सकेको छैन । कतिसम्म भने सीमा क्षेत्रमा बस्ने नागरिकहरुमा आफ्नै देशभित्र पुग्ने बाटो छैन । आफ्नै मुलुकको एक गाउँबाट अर्को गाउँ जान पनि भारतको बाटो प्रयोग गर्नुपर्छ ।
सीमावर्ती क्षेत्रमा सामान्य उपचार बाहेकका अरु सेवा पाउन मुस्किल भएको राजपुर गाउँपालिका– ७ भैसाही नाकाका टंकबहादुर विकले बताए । ‘यहाँदेखि नेपालसम्म जाने बाटो छैन । गाउँमा कोही विरामी परे नेपालमा पुर्याउँला भन्ने छैन । बाकेर भारतीय अस्पतालमा लैजानुपर्छ,’ उनले भने । गाउँपालिकाले स्थापना गरेको आधारभूत स्वास्थ्य चौकीमा प्राथमिक उपचार बाहेक केही हुँदैन । विरामी परे वा घाइते भए विशषेज्ञ सेवाका लागि भारत नै जानुपर्छ ।
राजपुर गाउँपालिकाका वडा नं. ६ र ७ तथा गढवा गाउँपालिकाका नाकासँग जोडिएका गाउँहरुको साझा समस्या हो । राजपुर गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीले नाका क्षेत्रमा सडक सञ्जाल नपुग्दा उपचारका लागि नागरिकहरु भारत नै पुग्नुपर्ने बाध्यता रहेको बताउँछन् । उनले ती सीमा क्षेत्रका बस्तीमा बाटो पुर्याएर जनतालाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने बताए । ‘सीमामा समस्या भनेकै बाटो हो । पहिला त त्यहाँ बाटो पुर्याउन पहल गर्छौं’ उनले भने, ‘गाउँपालिका एक्लैले चाहेर बाटो पुर्याउन सम्भव छैन, यसका लागि केन्द्र र प्रदेश सरकारमा पहल गरिरहेका छौं ।’
प्रतिक्रिया 4