
काठमाडौं । कार्म स्टारर फिल्म ‘अभिन्न’को निर्माताको रुपमा ‘कालोपोथी’ फेम्ड निर्देशक मीनबहादुर भाम जोडिएका छन् ।
अहिले पोस्ट प्रोडक्सन कार्य भइरहेको यो फिल्मले निर्माताको रुपमा भामलाई पाएको हो । अनलाइनखबरसँग कुरा गर्दै भामले पोस्ट प्रोडक्सन, बजारीकरण र फेस्टिभलजस्ता पक्षमा आफूले काम गर्ने बताए ।
‘अहिले कलरिङजस्ता पोस्ट प्रोडक्सनको काम भइरहेको छ । त्यसपछि हलमा रिलिज गर्ने कि फेस्टिभलमा लैजाने भन्ने टुंगो हामी लगाउँछौं,’ भामले भने । फिल्मको अर्को निर्मातामा विभाकरसुन्दर शाक्य छन् ।
प्रशान्त रसाइली निर्देशित फिल्मको मुख्य भूमिकामा कार्म छन् । लैनसिंह बाङ्देलको चर्चित उपन्यास ‘लङ्गडाको साथी’मा आधारित फिल्मको छायांकन दार्जिलिङमा गरिएको हो ।
भाम अहिले आफूले निर्देशन गर्ने तयारीमा रहेको फिल्म ‘चिसो वर्ष’को तयारीमा छन् । आगामी दुई सातापछि पोस्ट प्रोडक्सन सुरु हुने यो फिल्मको छायांकन सन् २०२२ को अन्तिमदेखि सुरु हुने योजना छ ।
प्रतिक्रिया 4