
१९ साउन, काठमाडौं । कोष प्रवर्द्धक लक्ष्मी बैंक रहेको लक्ष्मी म्युचुअल फण्डअन्तर्गतका खुलामुखी शुभलक्ष्मी कोष इकाइ बिक्री खुला भएको छ ।
शुभलक्ष्मी कोष नामक सामूहिक लगानी योजनाको योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । ५० करोड रुपैयाँ बराबरको कोषको निष्कासन बिक्री बिहिबारबाट खुलेको हो ।
म्युचुअल फण्डको प्रति इकाइ मूल्य १० रुपैयाँका दरले पाँच करोड इकाइ निष्कासन हुनेछ । जसमध्ये कुल बिक्री भएको इकाइको न्यूनतम १५ प्रतिशत बिज पुँजीवापत इकाइ कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई सुरक्षित राखिएको छ । बाँकी ४ करोड २५ लाख इकाइमध्ये प्रथम चरणमा सर्वसाधारणलाई १ करोड ७५ लाख इकाइ सार्वजनिक निष्कासन गर्न लागिएको जनाएको छ ।
यो सार्वजनिक निष्कासनमा छिटोमा २३ साउनसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिसम्म मागअनुसार आवेदन नपरेमा आवेदन दिने अवधि २ भदौसम्म हुनेछ । लगानीकर्ताले न्युनतम १०० इकाइदेखि अधिकतम ५० लाख इकाइका लागि आवेदन दिन सक्नेछन् । खुलामुखी योजना भएकाले यसको कुनै निश्चित अवधि हुँदैन ।
साथै यो नेप्सेमा सूचीकृत पनि हुँदैन । तर, योजना व्यवस्थापकलाई आफूले चाहेको जुनसुकै बेलामा इकाइ बिक्री गर्न सकिन्छ ।
यसअघि चार वटा यस्ता योजना बजारमा आइसकेका छन् । सिद्धार्थ क्यापिटल, एनआईबीएल एस क्यापिटल, एनआईसी एसिया क्यापिटल र एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको खुलामुखी म्युचुअल फण्ड सञ्चालनमा रहेका छन् ।
प्रतिक्रिया 4