
१९ साउन, काठमाडौं । नेपाल बार एशोसिएसनले सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषामात्रै प्रयोग गर्न सरकारसँग माग गरेको छ ।
इम्बोस्ड नम्बर प्लेटमा रोमन (अंग्रेजी) लिपि प्रयोग भएकोमा आपत्ति जनाउँदै बारले नेपाली भाषा नै प्रयोग गर्न माग गरेको हो ।
नेपालको संविधानको धारा ६ मा ‘नेपालमा बोलिने सबै मातृ भाषाहरू राष्ट्र भाषा हुन्’ भन्ने व्यवस्था छ । धारा ७ मा ‘देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ’ भन्ने व्यवस्था छ ।
संविधानमा प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्र भाषालाई प्रदेश कानुन बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने व्यवस्था छ । बारले संविधानमा रहेका यी व्यवस्था उदृत गर्दै अंग्रजीको साटो नेपाली लिपि प्रयोग गर्न माग गरेको हो ।
‘उपरोक्त संवैधानिक व्यवस्थाको प्रतिकूल हुने गरी अन्य भाषा नेपालको सरकारी कामकाजको भाषाको रुपमा सरकारी कार्यालय/निकायले प्रयोग गर्न सक्ने देखिन्न’ बारले भनेको छ, ‘तसर्थ सवारी तथा यातायात व्यवस्था विभागबाट सवारी साधनको नम्बर प्लेटमा अंग्रेजी भाषाको प्रयोग गरिनु संवैधानिक व्यवस्थाको भावना र मर्म प्रतिकूल छ ।’
जुनसुकै तर्क, आधार र कारणमा पनि संविधानले आत्मसाथ गरेको भाषालाई प्रतिस्थापन गर्न नमिल्ने भन्दै बारले नेपाली नागरिकले सदियौंदेखि प्रयोग गरी आएको भाषा प्रयोग नगरी अन्य भाषा प्रयोग गरिनु नागरिकको हकको हनन् समेत भएको निष्कर्ष बारको छ ।
जुनसुकै मुलुकको लागि पनि भाषा पहिचान र राष्ट्रिय गौरवको विषय हुने भन्दै बारले त्यसको संरक्षण गर्नु राज्यको पनि कर्तव्य हुनेमा ध्यानाकर्षण गराएको छ ।
१४ साउन २०७९ को बारको कार्यसमितिमा भएको निर्णयवारे बारले भनेको छ, ‘नेपाली नागरिकले प्रयोग गरी आएको भाषाको संरक्षण, सम्बर्द्धन गर्ने गराउने कार्यका लागि सवारी तथा यातायात व्यवस्था विभागबाट प्रदान गरिने सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा (देवनागरी लिपि) मा लेख्नुपर्ने अनिवार्य व्यवस्था गरिनु पर्दछ भनी नेपाल बार एशोसिएसन नेपाल सरकारलगायत सम्बन्धित निकायसँग माग गर्दछ ।’
प्रतिक्रिया 4