
१९ साउन, वीरगञ्ज । एक दशकदेखि मधेसी दलमा आवद्ध रही वीरगञ्जमा सक्रिय राजनीति गर्दै आएकी नेता रम्भा मिश्रा नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको हातबाट टिका र खादा लगाएर उनी कांग्रेसमा प्रवेश गरेकी हुन् । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गर्नुअघिसम्म उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा सक्रिय थिइन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालिन राजपाबाट वीरगञ्ज महानगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिएकी उनी पुनः लोसपाको तर्फबाट उपमेयरको आकांक्षी थिइन् ।
तर लोसपाले वीरगञ्ज महानगरपालिकामा एमालेसँग चुनावी तालमेल गर्यो । मेयरमा एमालेलाई सघाएर उपमेयर आफ्नो भागमा लिएको लोसपाले पार्टी अध्यक्ष पुरुषोत्तम लाल झालाई उम्मेदवार बनायो ।
त्यसबाट असन्तुष्ट बनेकी रम्भाले स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । उपमेयरमा लोसपा अध्यक्ष पुरुषोत्तमले ९ हजार ५६८ मत ल्याएर दोस्रो हुँदा रम्भाले ३ हजार ९०९ मत ल्याएर चौथो भएकी थिइन् ।
मधेसी दलले आफूलाई ‘राजनैतिक ब्ल्याकमेलिङ’ गरेकाले पार्टी परित्याग गरेको बताउँदै उनले नेपाली कांग्रेस प्रजातान्त्रिक विचार धाराको दल भएकोले प्रवेश गरेको बताइन् ।
प्रतिक्रिया 4