
१९ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो परराष्ट्र मामिला सल्लाहकारमा अरुणकुमार सुवेदीलाई नियुक्त गरेका छन् ।
असंलग्न परराष्ट्र नीतिबाट सरकार धर्मराएको आरोप लागिरहेका बेला देउवाले ‘संलग्न परराष्ट्र नीति’को वकालत गर्दै आएका सुवेदीलाई सल्लाहकार छनोट गरेका हुन् ।
राष्ट्रसंघको आपतकालीन महासभामा नेपालले ‘युक्रेनमाथि रुसले गरेको आक्रमणको निन्दा’ गर्ने प्रस्तावको पक्षमा मतदान गरेको थियो । यसलाई लिएर विपक्षी मात्र होइन, सत्तारुढ दलहरुले नै असन्तुष्टि जनाएका थिए । प्रमुख प्रतिपक्षी एमालेले सरकारमाथि असंलग्न परराष्ट्र नीतिबाट विमुख भएको आरोप लगाएको छ ।
रुस-युक्रेन युद्धमा युक्रेनको पक्षमा गरेको मतदानमा निरन्तर प्रश्न उठेपनि मौन बसेका देउवाले ‘संलग्न परराष्ट्र नीति’को वकालत गर्दै आएका सुवेदीलाई छनोट गर्नु अर्थपूर्ण मानिएको छ ।
देउवाको परराष्ट्र सल्लाहकारमा परराष्ट्र मामिलाका जानकार डा. दिनेश भट्टराई, गेजा शर्मा वाग्ले लगायतको चर्चा थियो । उच्च तहका विदेशी पाहुनाको नेपाल भ्रमण आउँदा देउवाले २०७४ सालमा आफू प्रधानमन्त्री हुँदा परराष्ट्र मामिला सल्लाहकार समेत रहेका भट्टराईसँग आवश्यक परामर्श गर्दै आएका थिए । २०७७ को पुस र हालसालै भएको चिनियाँ टोलीको भ्रमणका क्रममा पनि देउवाले भट्टराईलाई सहभागी गराएका थिए ।
तर बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार नियुक्त गरेको छ ।
कांग्रेसका एक नेताका अनुसार सुवेदीको बालुवाटारसँगको सामिप्यता पछिल्लो समय बढेको थियो । भारतीय संस्थापन समूहसँग राम्रो सम्बन्ध भएका उनले अमेरिकी सहयोग परियोजना एमसीसीमा खुलेर देउवाको बचाउ गरेका थिए ।
स्रोतका अनुसार केही दिनअघि सुवेदीलाई परराष्ट्र सल्लाहकार नियुक्त गर्ने जानकारी दिइएको थियो । आफ्नो नियुक्तबारे सुवेदी भन्छन्, ‘केही क्रिटिकल विषयमा सरसल्लाह गरिरहनुभएको थियो । मेरो विचारबाट प्रभावित भएर मसँग पनि वाञ्छित सहयोग लिनुपर्छ भन्ने प्रधानमन्त्रीलाई भयो होला ।’
नियुक्तिसँगै वयक्तिक विचारभन्दा संविधानले स्वीकारेको सिद्धान्तअनुसार काम गर्ने बताए । ‘हाम्रो राष्ट्रिय स्वार्थ र अन्तर्राष्ट्रिय राजनीति अनुसार जसरी परिवर्तन हुनुपर्ने हो, त्यसका लागि संवैधानिक जटिलता छ । त्यही कारण परम्परागत परराष्ट्र नीतिमा पुनरावलोकन गर्नुपर्छ भनेर कुरा उठाउँदै आएको हुँ,’ सुवदीले अनलाइनखबरसँग भने, ‘आजको मितिबाट सरकारले कुनै पनि निर्णय गर्नुअघि मेरो पक्ष राख्छु । मैले भने अनुसार भएपनि नएपनि सरकारको निर्णयको बचाउ गर्ने मेरो भूमिका हुनेछ ।’
को हुन् सुवेदी ?
धनकुटाको कुरुलेमा जन्मेका सुवेदीले त्रिचन्द्र क्याम्पसबाट रसायनशास्त्रमा स्नातकोत्तर गरेका छन् । २०३७ सालमा कांग्रेसको भ्रातृ संस्था नेविसंघमा जोडिएका उनी २०४० सालमा धनकुटाको अध्यक्ष बनेका थिए । कांग्रेसका पुराना नेताहरुका अनुसार सुवेदीले २०४६ सालको जनआन्दोलनअघि नै कांग्रेस छोडेका थिए ।
‘गणेशमानजीले त कांग्रेस कुनै जमानामा त्याग्नुभएको थियो भने मैले त्याग्नु कुन नयाँ कुरा भयो र ?,’ सुवेदी भन्छन्, कांग्रेससँगको आवद्धता त्यागेको हो, तर म डेमोक्र्याट हुँ ।’
सुवेदीले विभिन्न जलविद्युत आयोजना, घरजग्गा कारोबार, पोखरा–मुक्तिनाथ केबलकार लगायतका परियोजनामा लगानी गरेका छन् ।
प्रतिक्रिया 4