+

प्रशिक्षक मेघराज केसी भन्छन् : भारतको रणनीति बुझ्न सकेनौं

२०७९ साउन  १९ गते १९:५७ २०७९ साउन १९ गते १९:५७
प्रशिक्षक मेघराज केसी भन्छन् : भारतको रणनीति बुझ्न सकेनौं

१९ साउन, काठमाडौं । यू–२० साफ च्याम्पियनसिपको फाइनलमा पुग्न असफल नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले भारतको रणनीति बुझ्न नसक्दा प्रतियोगितामा असफल भएको प्रतिक्रिया दिएका छन् ।

माल्दिभ्स र श्रीलंकाविरुद्धको सुरुवाती दुई खेल जितेको नेपाल तेस्रो खेलमा भारतसँग ८–० को लज्जास्पद हार ब्यहोर्न बाध्य भएको थियो । चौथो खेलमा बंगलादेशसँग बराबरी गरे पनि नेपाल तेश्रो स्थानमा रहेपछि फाइनलमा पुग्न असफल रह्यो । १० अंक बटुलेको बंगलादेश र ९ अंक बटुलेको भारत फाइनलमा पुगे । समान ४ खेलबाट ७ अंक बटुलेको नेपाली टिम बिहीबार स्वदेश फर्किएको छ ।

विमानस्थलमा कुरा गर्दै प्रशिक्षक केसीले दक्षिण एसियामा भारतको स्तर निकै माथि पुगेको बताए । भारतले विपक्षीअनुसार प्रदर्शन गर्दा आफूहरुले त्यो रणनीति बुझ्न नसकेको केसीको भनाइ छ ।

‘साफ खेल्दा भारतले आफ्नो वास्तविक टोली निकाल्दैन । हामीले धेरै पटक अध्ययन गर्‍यौं । श्रीलंका र बंगलादेशको खेललाई हामीले अध्ययन गर्‍यौं तर हामीसँगको खेलमा अर्कै खेलाडी थिए,’ केसीले भने, ‘हामीसँग खेलेका खेलाडीहरु इण्डियन सुपर लिग (आईएसएल)को अनुभव भइसकेका थिए ।’

भारतले नेपालसँग खेल्नुअघि बंगलादेशसँग पराजय ब्यहोरेको थियो भने श्रीलंकालाई हराएको थियो । नेपालसँगको खेलमा उसले बंगलादेशसँग खेलेको टिमको तुलनामा ५ तथा श्रीलंकासँग खेलेको टिममा ३ खेलाडी परिवर्तन गरेको थियो ।

भारतले ‘लुकाएर’ राखेका ती खेलाडीको क्षमताबारे पूर्वजानकारी नहुनु नेपालको फराकिलो हारको मुख्य कारण रहेका उनले बताए । यो हारले नेपाललाई आफ्नो स्तर थाहा पाउन सजिलो भएको प्रशिक्षकको भनाइ छ ।

‘पहिलो र दोस्रो खेल जितेर नेपाली फुटबल कमजोर छैन भन्ने छवि बनाएको हामीलाई तेस्रो खेलमा भारतले स्तर देखाइदियो । हामीमा अझै पनि मिहिनेत र लगानी पुगेको छैन,’ प्रशिक्षक केसीले भने, ‘आजको दिनमा भारतले साफलाई आफ्नो स्तर नै मान्दैन । भारतले धेरै माथिको स्तर बनाइसकेको छ । यो सत्य हो ।’

भगवान भरोसाले मात्रै नेपाली फुटबल स्तर वृद्धि नहुने केसीको निष्कर्ष छ । ‘पशुपतिनाथको भरोसा अथवा भारतको भुत भनेर खेल्छौं । तर फुटबल त्यो होइन । फुटबल आधुनिक भइसक्यो हरेक दिन स्तरीय भइरहेको छ । हामीले त्यो रुपलाई अवलम्बन गर्न सकेका छैनौं ।’

यति भन्दै गर्दा प्रशिक्षक केसीले भारतविरुद्ध कमजोर मानसिकता राखेर खेलेको आरोपको भने खण्डन गरे ।

नेपाली टिमका कप्तान आयुश घलानले पनि भारतविरुद्ध जितको लक्ष्यसहित खेलेको बताए ।

‘भारतसँगको खेलअघि हामी मानसिक रुपमा कमजोर थिएनौं । जितको लक्ष्य पूरा भएन । यो खेलले हामीलाई ठूलो पाठ सिकाएको छ । शारीरिकदेखि प्राविधिक ज्ञानमा हामी धेरै पछि रहेछौं,’ उनले भने, ‘धेरै खेलाडीहरु नयाँ थिए । फरक परिस्थितिमा कसरी सम्हालिएर खेल्ने उनीहरुमा अनुभवको कमी देखियो ।’

कम समयको तयारी हाम्रो कमजोरी : एन्फा अध्यक्ष नेम्वाङ

साफ च्याम्पियनजस्तो प्रतिस्पर्धाका लागि तयारी समय कम भएका कारण अपेक्षाकृत नतिजा निस्कन नसकेको एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले स्वीकार गरे ।

देशभरबाट खेलाडी छनोट गरेर ४० दिनको तयारीमा नेपाल भारत पुगेको थियो । ‘हामीले धेरै अगाडिदेखि बन्द प्रशिक्षण राख्नुपर्ने थियो । त्यसमा चुकेका हौं । ६ हप्तामा देशैभरिबाट खेलाडी निकालेर खेल्न पठाउनु हाम्रो कमी कमजोरी हो,’ उनले भने ।

नेपाली खेलाडीले छोटो समयमा पनि यत्तिको नतिजा ल्याएकोमा उनले सन्तोष व्यक्त गरे । ‘छोटो समयमा पनि टिमले यत्तिको नतिजा निकाल्यो यसमा चाँही म सन्तुष्ट नै छु,’ अध्यक्ष नेम्वाङले पर्याप्त तयारी गरेर अर्कोपल्ट भारतलाई हराउने गरी प्रदर्शन गर्ने दाबी गरे ।

तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर
नेपाली फुटबल साफ यु-२०
लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय