
काठमाडौं । नेपालपछि लभस्टोरी फिल्म ‘सम्झना-बिर्सना’ अब भारतका विभिन्न शहरमा प्रदर्शन हुने भएको छ ।
असार ३१ गते नेपालमा रिलिज भएको फिल्म ९ सेप्टेम्बरदेखि भारतीय दर्शकमाझ पुग्न लागेको हो । निर्माता अद्धितीय प्रधानले ‘सम्झना बिर्सना’ पहिलो चरणमा दार्जिलिङ, सिक्किम, सिलुगुढी, जयगाउँमा लगायतमा प्रदर्शन हुने जनाए ।
दोस्रो चरणमा ७ अक्टोबरमा आसम, उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा रिलिज हुँदैछ भने तेस्रो चरणमा २१ अक्टोबरमा बाँकी शहरमा प्रदर्शन हुनेछ ।
भारतमा नेपाली फिल्मको बजार राम्रो रहेको तर धेरै निर्माताले यथोचित तवरले प्रदर्शन गर्न नजानेको बताए । ‘इन्डियामा नेपाली फिल्मको मार्केट एक्दम राम्रो छ । तर हामीले सहि बजार खोज्न सकेका छैनौ’ उनले भने ।
आफू नेपाली फिल्मको बजार बिस्तारका लागि दीर्घकालीन सोचका साथ ‘सम्झना–बिर्सना’मार्फत अघि बढेको सुनाए ।
निमेष प्रधान निर्देशित फिल्म भारतीय हलमा नेपाली भाषामै तर अंग्रेजी सबटाइटलका साथ प्रदर्शन गरिदै छ । ‘हामीले प्रारम्भिक रुपमा नेपाली भाषी दर्शकलाई नै लक्षित गरेका छौ,’ निर्माता प्रधानले भने, ‘त्यसैले नेपाली भाषामै रिलिज गर्न लागेका हौ । नेपाली नबुझ्नेका लागि भने अंगे्रेजी सबटाइटल राखेका छौं ।’
रेबिका प्रधानको निर्माण र निर्देशक निमेषकै लेखन रहेको फिल्मले नेपालमा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो । फिल्ममा आकाश श्रेष्ठ, पूजा शर्मा, सुनिल थापा, छुल्ठिम गुरुङ र शिशिर राणा मुख्य भूमिकामा छन् ।
प्रतिक्रिया 4