
काठमाडौं । गाईजात्रा सिजन सुरु भएको छ । पर्व मात्र नभएर, यसको इतिहास कमेडीसँग सिधै जोडिएको छ । यसपटक विगतजस्तो भौतिक रुपमा गाईजात्रा नभए पनि कलाकारले अनलाइन प्लेटफर्ममार्फत कला पस्किंदैछन् ।
हास्य कलाकार मनोज गजुरेल अर्थ-राजनीतिक व्यंग्यको कारण गाईजात्रामा चर्चित मानिन्छन् । उनले कोरोनाकालमा डब्लुएचओ प्रमुखदेखि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसम्मलाई छाडेनन् । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको क्यारिकेचरले त उनलाई विश्वमै चर्चित बनायो ।
उनै मनोज यसपटक गाईजात्राको नयाँ बान्की लिएर दर्शकमाझ आउँदैछन् । यसपटक गजुरेलको गाईजात्रा व्यंग्यको केन्द्रमा अर्थमन्त्री जनार्दन शर्मादेखि पूर्व श्रीलंकाली राष्ट्रपति गोटाबाया राजापाक्षेदेखि ‘सुनको लौरो’ले नेपालमा चर्चित दुबई ‘राजपरिवार’का सदस्य शेख मोहम्मद माक्तुम जुमा अल माक्तुमसम्म छन् ।
यी पात्र किन रोजे त मनोजले ? उनको आफ्नै व्याख्या छ । अर्थमन्त्री शर्मा नेपाली राजनीतिको केन्द्रमा भएकाले उनी यसपटक गजुरेलको कमेडीको केन्द्रमा छन् । ‘शर्मा प्रतीक मात्र हुन्, कसरी शक्तिकेन्द्रले मन्त्रीलाई चंगुलमा डुबाउँछन् भन्ने सन्देश यसले दिन्छ,’ गजुरेलले अनलाइनखबरसँग भने ।
‘कमब्याक पछाडि अर्को बजेट भाषणको तयारीमा छु’ भन्दै जनार्दन शर्माजस्तै देखिने हुलियामा गजुरेलले तस्वीर पोस्ट गरेका छन् ।
उनको व्यंग्यको केन्द्रमा छन् श्रीलंकाली पूर्वराष्ट्रपति राजापाक्षे । ‘कसरी एउटा शासक राजनीतिक शक्तिको आडमा लोकप्रियताको शिखरमा पुग्छ र पत्तासाफ हुन्छ । उनको उत्थान र पतनको कथा हामीलाई पनि सान्दर्भिक हुनसक्छ भनेर उनलाई व्यंग्य गर्ने निर्णय गरेको हुँ,’ गजुरेलले भने ।
व्यवसायी दुर्गा प्रसाईंको निम्तोमा नेपाल भ्रमणमा आइपुगेका दुबईका राजकुमार भनिएका माक्तुम पनि व्यंग्यको केन्द्रमा छन् । उनले प्रसाईंलाई दिएको सुनको लौरो भनिएको उपहार चर्चामा रह्यो । ‘मैले कसरी नेपाली श्रमिक मध्यपूर्वमा रोजगारदाता र बिचौलियाबाट ठगिएका छन् भन्ने कुरामा व्यंग्य गर्नेछु,’ उनले भने ।
गजुरेलले यसपटक आफ्नै युट्युब च्यानलबाट गाईजात्रालाई साउन २३ गते रिलिज गर्नेछन् । २७ गते गाईजात्रा पर्व परेको छ ।
प्रतिक्रिया 4