२० साउन, काठमाडौं । खेलकुदमा महान खेलाडी जन्मिन समय लाग्छ । स्यान्टू श्रेष्ठ पनि नेपाली टेबल टेनिसले लामो समयमा पाएका एक प्रतिभावान खेलाडी थिए । १६ वर्षको उमेरमै राष्ट्रिय च्याम्पियन, दक्षिण एसियाली खेलकुदको एकै संस्करणमा चारवटा पदक लगायतका उनको सफलता यही भन्छ ।
तर नेपाल नम्बर एक खेलाडी स्यान्टू नेपालमा भविश्य नभएको निष्कर्षका साथ विदेशी जाने तयारीमा जुटेका छन् ।
उनी २६ साउनमा अष्ट्रेलिया उड्दैछन् । किन विदेश जान लागेको भन्ने प्रश्नमा स्यान्टूले प्रतिप्रश्न गरे, ‘नेपाल सरकारले केही गर्दैन, हामी बसेर के गर्ने ?’
उनलाई विदेश नै जानुपर्छ भन्ने सोच आउनुका पछाडि पनि एउटा कारण छ । सेम्टेम्बर, २०२१ (२०७८ असोज)मा कतारको दोहामा भएको एसियन टीटी च्याम्पियनसिपमा नेपालबाट तीन पुरुष र तीन महिला खेलाडीको सहभागिता थियो । राष्ट्रिय खेलकुद परिसद (राखेप)का तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवालले फर्किएर आएपछि खर्च दिने आश्वासन दिएसँगै खेलाडीहरु प्रतिव्यक्ति ६५ हजार तिरेर प्रतियोगिता खेल्न गएका थिए ।
तर अहिलेसम्म त्यो रकम सरकारबाट पाएका छैनन् । देशमा नियमित प्रतियोगिता छैन, राष्ट्रिय टिम तयारी छैन, स्तरीय प्रशिक्षण छैन । अब देशका लागि अन्तर्राष्ट्रिय प्रतिनिधित्व गर्न पनि आफ्नै खर्चमा जानुपर्ने भएपछि स्यान्टूले विदेशिनुको विकल्प देखेनन् । ‘न नयाँ टेक्नोलोजी छ, न राम्रो तयारी हुन्छ, न पैसा छ । यहाँ बसेर केहि पनि हुनेवाला देखिनँ,’ स्यान्टूले अनलाइनखबरसँग भनेका छन, ‘जन्मभूमि छाड्नुपर्दा मलाई पनि राम्रो लागेको छैन, तर देशमा बसेर खेलेर मात्र पनि केही हुन्छजस्तो लागेन ।’
‘देश छाडे पनि टीटी छाड्दिनँ’
विदेश गए पनि पलायनको अर्थमा नबुझिदिन स्यान्टूको अनुरोध छ । ‘म टीटी छाडेर विदेश जान लागेको होइन । नेपालका लागि अझै राम्रो प्रदर्शन गर्ने तयारी गर्न जान लागेको हुँ,’ उनले थपे, ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालकै प्रतिनिधित्व गर्न चाहन्छु ।’
स्यान्टू पर्थमा बस्नेछन् । पश्चिम अस्ट्रेलियाको यो शहरमा टीटीका पूर्व नेपाल नम्बर एक अजय सुवालले स्थापित प्रशिक्षकका रुपमा पहिचान बनाइसकेका छन् । अस्ट्रेलियाको स्टेट टिमको प्रशिक्षक रहेका रहेको अजयकै मार्गदर्शनमा स्यान्टूले अस्ट्रेलियामा पहिचान बनाउने प्रयास गर्नेछन् ।
नवौं राष्ट्रिय खेलकुदका लागि नेपाल फर्किने मात्र होइन, १४औं दक्षिण एसियाली खेलकुद र १९औं एसियाली खेलकुदमा नेपालबाटै प्रतिनिधित्व गर्ने उनको चाहना छ ।
१६ वर्षको उमेरमै राष्ट्रिय च्याम्पियन बनेका २२ वर्षीय स्यान्टू भन्छन्, ‘देशको लागि खेल्न मन छ । यहीँ बसेर देशका लागि खेल्छु भन्नु अहिलेको अवस्थामा मुर्खताजस्तो लाग्छ । विदेशमा बसेर प्रशिक्षण गरेर देशका लागि खेल्न आउँछु नि ! ’
स्यान्टू सुःख दुख दुवैको अनुभूति लिएर विदेश जाँदैछन् । आफ्नो भविश्य सुनिश्चित हुन लागेकोमा खुसी छन् । ‘सानैदेखि टेवलटेनिसकै लागि जीवन समर्पित गरेको छु । नेपालबाट त्यो छाडेर जाँदा दुःख लागेको छ,’ उनले थपे, ‘आफ्नो सबैभन्दा मनपर्ने टीटी त म कहिल्यै छाड्दिन । मलाई अर्को एउटा कीर्तिमान बनाउन मन छ । अहिलेसम्म विदेश गएर फर्केर कोहि पनि नेपाल च्याम्पियन बनेका छैनन् । मलाई त्यो रेकर्ड पनि बनाउन मन लागेको छ ।’
सागको एकै संस्करणमा चार पदक
२०७३ सालमा पूर्वाञ्चलमा आयोजित सातौं राष्ट्रिय खेलकुददेखि नेपाली टीटीमा स्यान्टूको उदय भएको हो । जुनियरबाट सिनियरमा फड्को मारेको पहिलो प्रतियोगितामै उनले तत्कालीन नेपाल नम्बर एकसहित वरीयताप्राप्त खेलाडीहरुलाई पराजित गरी सनसनी मच्चाएका थिए । त्यसयता २०७४ मा ३९औं राष्ट्रिय च्याम्पियनसिप, २०७५/७६ मा आठौं राष्ट्रिय खेलकुदसम्म राष्ट्रिय च्याम्पियनसिप र अन्य घरेलु प्रतियोगितामा स्यान्टू दोस्रो हुनुपरेको छैन ।
सन् २०१९ डिसेम्बर (२०७६ मंसिर)मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली टेवलटेनिसले स्यान्टूकै प्रर्दशनमा कीर्तिमानी सफलता हासिल गर्यो । एकै प्रतियोगितामा १ रजत र तीन कांस्यसहित चार पदक जित्ने उनी एक्ला खेलाडी बने । झण्डै दुई दशकदेखि टेवलटेनिस खेलिरहेका खेलाडीलाई माथ दिँदै उनले एउटै प्रतियोगितामा सफलता रचे ।
एकल (सिंगल्स), विनेश खनियासँग मिलेर पुरुष युगल (डवल्स) र नविता श्रेष्ठसँग मिलेर मिश्रित युगल (मिक्स्ड डवल्स) मा कांस्य जितेका थिए । भेट्रान खेलाडीहरु पुरुषोत्तम बज्राचार्य र शिवसुन्दर गोठेसँग मिलेर टिम इभेन्टमा रजत जिते । नेपाल यो विधामा फाइनलमा पुगेको पहिलोपल्ट थियो ।

महिलातर्फ नेपाल नम्बर एक नविता श्रेष्ठ स्यान्टूको पहिलो प्रशिक्षक हुन् । गुरु र चेलाको यो जोडीले सागमा कांस्य जितेको थियो । नेपालको टेवलटेनिसमा विभागीय टोली नेपाल पुलिसबाट खेल्ने यी दुई खेलाडीको वर्चश्व छ । नविताले स्यान्टू विदेशिनु नेपालका लागि ठूलो क्षति भइको बताइन् ।
‘नेपालले स्यान्टूजस्तो नम्बर एक खेलाडी विदेशिनु भनेको धेरै नै क्षति हो । उजस्तो अभूतपूर्व खेलाडी नेपालमा अहिलेसम्म जन्मेकै छैन जस्तो लाग्छ,’ अनलाइनखबरसँगको कुराकानीमा उनले भनिन्, ‘तर, उसले विदेशमा गए पनि टीटीलाई निरन्तरता दिन्छु भनिरहेको छ । नेपालमा आएर प्रतियोगिता पनि खेल्छु भनेको छ । व्यवहारिक रुपमा कठिन त हुन्छ तर उसले चाहेको कुरा पूरा गर्ने उसको स्वभाव हो । म पनि आशा गर्छु कि योजनाबद्ध रुपमा गरिएका उसका लक्ष्यहरु पूरा होउन् ।’
भेट्रान खेलाडी पुरुषोत्तम बज्राचार्य पनि स्यान्टू विदेशिन लागेकोमा चिन्तित छन् । स्यान्टूले क्षमताअनुसारको एक्स्पोजर नपाएको बताउने पुरुषोत्तमले विदेशमा रहेर पनि टीटीलाई निरन्तरता दिउन् भन्ने चाहन्छन् । ‘हामीले २० वर्षमा खेलेर नपाएको सफलता एकै वर्ष दिने उसको क्षमता धेरै माथिल्लोस्तरको छ । यस्तो खेलाडी नेपाल टीटीले धेरैवर्ष पछिसम्म पनि पाउँदैन ।’
प्रतिक्रिया 4