
२१ साउन, काठमाडौं । प्रतिनिधिसभाले नागरिकता विधेयक पास गरेपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा सहभागी हुन चाहन्छ ।
देउवा सरकारलाई सुरुदेखि सघाएको, तर प्रतिपक्षमा बसेको लोसपाले उपसभामुखको चुनावमा पनि गठबन्धनलाई नै मत दिएको थियो । त्यसैले सरकारमा जाने र चुनावी तालमेलका लागि बाटो खोल्ने उसको चाहना छ ।
लोसपाका नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवासँग निरन्तर सम्वादमा छन् । नेपाली कांग्रेस केन्द्रीय सदस्य रमेश रिजालका अनुसार सभापति देउवाले लोसपासँग चुनावी गठबन्धन गर्नेबारे केही भनेका छैनन् । तर मधेस प्रदेशका केन्द्रीय सदस्यहरुमा गठबन्धन गर्नुपर्ने मत बलियो रहेको उनले सुनाए । आफ्नैभित्र अन्तर्घात चर्को हुने गरेको भन्दै उनले भने, ‘विना गठबन्धन जित्न गाह्रो छ ।’
गठबन्धन गर्न पनि त्यतिकै गाह्रो छ ।
स्थानीय चुनावपछि असन्तुष्ट जसपा नेतृत्व पनि अहिले पाँच दलीय गठबन्धनप्रति दृढ देखिएको छ । ३० वैशाखको स्थानीय चुनावमा विराटनगर महानगरपालिकाको उपमेयरमा छोरा अमरेन्द्र र जनकपुर उपमहानगरपालिकाको मेयरमा लालकिशोर साह पराजित भएपछि जसपा अध्यक्ष उपेन्द्र यादवले कांग्रेसमाथि धोका दिएको आरोप लगाएका थिए । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । तर अहिले उनी फेरिएका छन् ।
डा. बाबुराम भट्टराई पक्ष बाहिरिएपछि बसेको केन्द्रीय समिति बैठकबाट पाँचदलीय गठबन्धनकै पक्षमा निर्णय गराएका यादव, कांग्रेस नेतृत्वमा संशय नहोस् भनेर होला, प्रस्तावित वाम समाजवादी मोर्चाको पक्षमा समेत खुलेका छैनन् । जबकी मोर्चा बनाउन माओवादी र एकीकृत समाजवादीका नेताहरुले गरिरहेको छलफलमा यादव सक्रिय रुपमा सहभागी छन् ।
शुक्रबार बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सिट बाँडफाँटका लागि कार्यदल बनाउने प्रस्ताव राख्दा पनि जसपा अध्यक्ष यादवले थपक्कै रामसहाय यादव र रकम चेम्जोङको नाम दिए । जसपा नेता रामसहाय भन्छन्, ‘एउटै दलमा त सिट बाँटफाँट सजिलो छैन भने पाँच दलमा हुने कुरै भएन । तर हामी मुलतः गठबन्धन कायम राख्ने पक्षमा छौं ।’
कांग्रेस नेताहरुका अनुसार प्रधानमन्त्री देउवा स्वयं पार्टी विभाजनलाई स्वीकार गरेर आफ्नो नेतृत्वको सरकार गठनका लागि भूमिका खेलेका कारण उपेन्द्र यादवलाई धोका दिने पक्षमा छैनन् ।
तर पाँचदलीय गठबन्धन कायम राख्दा लोसपा किनारामा धकेलिने र मधेसको राजनीति खल्बलिनसक्ने कांग्रेस नेताहरुको विश्लेषण छ । पाँचदलीय गठबन्धनमा आवद्ध आफू इतरका दलहरुले वाम लोकतान्त्रिक मोर्चाका नाममा गठबन्धनभित्र गठबन्धन बनाए मधेसमा लोसपाको साथ चाहिन्छ । त्यसैले कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवा तत्काल गठबन्धनमा होइन, एउटा मन्त्री दिएर सरकारमा चाहिँ लोसपालाई ल्याइराख्न चाहन्छन् ।
तर पाँचदलीय गठबन्धनको निर्णायक जस्तो बनेको माओवादी केन्द्रका नेताहरु लोसपालाई सरकारमा ल्याउन तयार छैनन् । उनीहरुकै शब्दमा भन्दा आपत्ति नै छ । त्यसैले आगामी प्रदेश र प्रतिनिधिसभा चुनावमा लोसपासँग समीकरण बन्ने सम्भावना टर्दै गएको देख्छन्, कांग्रेस सहामहामन्त्री महेन्द्र यादव ।
पार्टीको पछिल्लो केन्द्रीय कार्यसमिति बैठकले समेत सत्तारुढ गठबन्धनमा रहेका दलहरुसँग तालमेल गर्ने निर्णय गरेको भन्दै उनले भने, ‘जसपा हाम्रो गठबन्धनको पार्टनर हो, उसैसँग तालेमल गर्नुपर्छ । बैठकको निर्णयको विरुद्ध कोही पनि जानु हुन्न, सभापति र महामन्त्री पनि नजानु होला ।’
लोसपाको विकल्प एमाले
लोसपाले भने अझै कांग्रेससँग चुनावी तालेमलको आश मारेको छैन । लोसपा अध्यक्ष ठाकुर निकट नेता सुरेन्द्र झाले अनलाइनखबरसँग भने, ‘पछिल्लो समय हामी सरकारसँग पनि नजिक देखिन्छौं । तर चुनावमा तालमेल हुन्छ कि हुँदैन भन्ने चाहिँ गठबन्धनले गर्ने निर्णयमा भर पर्छ ।’
यद्यपि कांग्रेसलाई धेरै कुर्न नसक्ने नेताहरु बताउँछन् । लोसपाले पर्सि सोमबार कार्यकारिणी समितिको बैठक बोलाएको छ, जहाँ आगामी चुनावमा कोसँग तालमेल गर्ने भन्ने विषयमा छलफल हुने छ ।
असार १८–१९ मा बसेको कार्यकारिणी समितिकै बैठकमा पनि सर्वेन्द्रनाथ शुक्ल लगायतका नेताहरुले एमालेसँग तालमेल गर्नुपर्ने मत राखेका थिए । उनीहरुमध्ये एक कार्यकारिणी सदस्य भन्छन्, ‘कांग्रेससँग तालेमल गर्दा थोरै सिट पाउँछौं, एमालेसँग गर्ने हो भने धेरै सिट पाउने सम्भावना रहन्छ ।’ पार्टीलाई यो पटक प्रतिनिधिसभाको समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेस होल्ड कटाउन पनि गाह्रो भएकाले धेरै सिटमा उम्मेदवारी दिनुपर्ने दबाव रहेको उनीहरुको तर्क छ ।
ओली सरकारले प्रतिनिधिसभा विघटन गर्दा साथ दिएको तत्कालीन जसपाको महन्थ ठाकुर समूह जेठ २०७८ मा सरकारमै गएको थियो । तर १९ दिनमै सरकारबाट हटेपछि यो समूहको प्राथमिकतामा एमालेभन्दा कांग्रेस पर्दै आएको छ ।
पछिल्लो पटक एमालेले नागरिकता विधेयकको पनि विरोध गरेकाले कसरी चुनावमा तालमेल गर्ने भन्ने प्रश्न पनि नेताहरुले उठाएका छन् । एमालेले भने लोसपासँग चुनावी तालमेल गर्ने बारे केही बोलेको छैन ।
प्रतिक्रिया 4