
२२ साउन, काठमाडौं । डम्बर खतिवडाले नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिमा बस्न अस्वीकार गरेका छन् ।
जनता समाजवादी पार्टीका तत्कालीन प्रवक्ता समेत खतिवडाले डा. बाबुराम भट्टराई नेतृत्वमा अलग भएका थिए । यो समूह अहिले नेपाल समाजवादी पार्टीका रुपमा क्रियाशील छ, जसले शनिबार मात्र डा. बाबुराम भटराई र महेन्द्र राय यादवलाई अध्यक्ष चयन गरेको छ । यसप्रति असन्तुष्टि जनाउँदै खतिवडाले कुनै पनि जिम्मेवारीमा बस्न अस्वीकार गरेका छन् ।
उनले आगामी मंसिरसम्म आफू पार्टीको साधारण सदस्य मात्र रहने बताएका छन् । डा. भट्टराई अहिले चौबाटोमा रहेको भन्दै उनले भनेका छन्, ‘यसलाई एक प्रकारको महादुविधा भन्न सकिन्छ ।’
भट्टराईसामु चार विकल्प रहेको उनले बताएका छन् । पहिलो, नेकपा मसालका नेता मोहन विक्रम सिंंहको गृहजिल्ला प्युठान र बाग्लुङमा जस्तै गोरखा र सर्लाहीमा सीमित प्रभाव भएको सानो समूहमा खुम्चिने भएको खतिवडाले बताएका छन् । समाजवादी केद्रका नाममा कुनै कम्युनिस्ट समूह वा एकतामा सामेल भई बिलन हुनु दोस्रो बाटो देखेका उनले भट्टराईले मंसिरपछि सन्यास लिने र यो समूह तितरवितर हुने खतरा पनि औँल्याएका छन् ।
चौथो बाटो भनेको वैकल्पिक राजनीतिको पुनर्गठनका लागि एउटा घटकका रुपमा योगदान गर्नु भएको उनले बताएका छन् । खतिवडाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यो समूह एक्लैले अब वैकल्पिक राजनीतिको पुनर्गठन र नेतृत्व गर्न सक्दैन । तर चाहेमा नयाँ र वृहत परिप्रेक्षमा योगदान गर्ने घटक भने हुनेछ ।’
यो चार बाटो मध्ये कुन रोज्ने भन्ने प्रष्ट नभएसम्म आफ्नो पार्टीमा सदस्य मात्र बस्ने खतिवडाले बताएका छन् । भट्टराईसँग भएको फोन सम्वाद स्मरण गर्दै खतिवडाले भनेका छन्, ‘कदाचित चौथो बाटो हिँड्न उचित हो भन्ने भाव आयो भने संस्कृतिक क्रान्तिको सफलतापछि माओले श्रमशिविरमा बसेका देङ सियाओलाई सम्झे जस्तो हामीलाई सम्झिनुहोला ।’
प्रतिक्रिया 4