
काठमाडौं । यस्तो लाग्दैछ, युट्युब भ्युज र बक्स अफिस कमाइ दुई अलग ‘टापु’ हुन् । सामाजिक सञ्जालमा हिट मानिएका कलाकार अभिनित फिल्मले हलमा अपेक्षित कमाइ गर्न सकेका छैनन् ।
तर हलमा असफल फिल्मले युट्युबमा कहिलेकाहीं राम्रै कमाइ गरिरहेका हुन्छन् । भर्चुअल र भौतिक दर्शकको यो असमानता नेपाली फिल्म र संगीतमा देखिंदैछ । संगीत र मोडलिङमा सफल कलाकारको ‘स्टाडरम’ परीक्षा गर्ने वास्तविक थलो पनि फिल्म हल भइदिएको छ ।
मलिका महत यो ट्रेन्डकी पछिल्लो उदाहरण हुन् । भिडियोमा उनको क्रेज देखेर फिल्म र म्युजिक भिडियो बनाउन मरिहत्ते गर्ने समय पनि थियो । अभिनेता पल शाहसँग उनले अभिनय गरेका म्युजिक भिडियो निकै हिट रहे । केन्द्र मोसनले त यी दुई जनालाई लिएर फिल्म बनाउने सुरसार पनि कसेको थियो ।
मलिकाको यो ‘भर्चुअल स्टारडम’ले उनी अभिनित पछिल्लो फिल्म ‘पानीफोटो’लाई बक्स अफिसमा राहत मिल्ने आशा थियो । दर्शकदेखि निर्माताले धेरथोर आशा नलिएका पनि होइनन् ।
उनका फ्यानहरु हलमा आइदिए पनि अकुपेन्सीमा राहत मिल्थ्यो भन्ने आशा निर्माताले लिएका थिए । तर अपेक्षा उल्टो भैदियो । ‘पानीफोटो’ले कमजोर ओपनिङ गरेपछि मलिकाको त्यो ‘भर्चुअल स्टारडम’मा प्रश्नचिन्ह खडा भएको छ ।
‘यात्रा’ फिल्मबाट अभिनय करिअर सुरु गरेकी मलिका अभिनित दोस्रो फिल्म पानीफोटोले अपेक्षित कमाइ त गर्न सकेन, तर यसबाट उनले अभिनयको प्रशंसा बटुलिन् । तर उनको भर्चुअल स्टारडमले बक्स अफिसमा जादू देखाउन सकेन ।
यद्यपि, अभिनयको मीठो प्रतिक्रियाले मलिका पुलकित अवश्य छिन् । उनलाई यतिबेला तीनवटा फिल्मको अफर आएको त छ, तर ‘ओके’ चाहिं भनिसकेकी छैनन् ।
प्रतिक्रिया 4