
२२ साउन, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउत एकै साथ दुईवटा रणनीतिमा छन् ।
एकातिर उनी मधेसमा आफूले प्रतिष्पर्धी ठानेका जनता समाजवादी पार्टी जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग सहकार्यको तुरुप फ्याँकिरहेका छन् । अर्कातिर उनीहरु काठमाडौंमा महागठबन्धनको बाटोमा लागे भने मधेसका लागि एक्लै शक्ति सुदृढ गर्ने योजना छ ।
कुराकानीका क्रममा राउतले केही नयाँ रोचक सूचनाहरु खुलाए । प्रस्तुत छ, राउतसँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश :
आज दिउँसोमात्रै तपाईंको पार्टीले विस्तारित बैठक टुंग्यायो । के-के निर्णय गर्याे ?
स्थानीय चुनावमा पार्टीले समग्रमा राम्रो गरेको, यही उर्जा अब संघ र प्रदेशको चुनावमा लगाउनुपर्छ भन्ने नै हो । त्यसमा अब हामीले चुनावमा कसरी भाग लिने भन्ने सल्लाह मुख्य भयो । अधिकांश साथीहरुले एक्लै जानुभन्दा गठबन्धन र तालमेलको बाटोबाटै अघि बढ्दा बेस हुन्छ भन्ने राय दिनुभएको छ ।
तर तपाईं त पार्टीको निर्णयभन्दा पहिले नै गठबन्धन बनाउन खटिनुभएको रहेछ
गठबन्धनलाई लिएर अलिक पहिलेदेखि गृहकार्य भएकै हो । त्यस हिसाबले मैले सबैसँग खुलस्त कुरा गरेको छु । अरु दलका नेताहरुले पनि यसबारे छलफल गर्न खोज्नुभएको छ । स्थानीय चुनावले पनि मधेसमा हामी पपुलर शक्ति नै हौं भन्ने जो देखाइसक्यो ।
मधेसका शक्तिमध्ये उपेन्द्र यादव र महन्थ ठाकुरसँग तपाईंको के कुरा भयो ?
खासमा बाहिर जसरी आएको छ, त्यस्तो पनि होइन । यसपल्टको भेट उहाँहरुको चाहनामा भएको हो । त्यसैले उहाँहरुले निश्चित गरेको भेट हो यो । म चुनावको सन्दर्भ समेतमा कुरा गर्न गएको हुँ ।
दुवैले सल्लाह नै गरेर अलग–अलग बोलाउनुभएको हो र ?
त्यस्तो होइन । अहिले उहाँहरुले सबैसँग कुरा गरिराख्नुभएको छ । हिजोमात्रै जसपाले सत्ता गठबन्धनमै बसेर चुनावमा जाने कुरा आएको छ । त्यसबाट पनि कुरा भइरहेको छ भन्ने त देखिन्छ नै ।
महन्थ र उपेन्द्रलाई तपाईंले भेटमा के भन्नुभयो ?
मैले विशेषगरी आन्दोलनका पक्षधरहरु, अग्रगमनकारी एक ठाउँमा आउनुपर्छ भनें । आन्दोलनलाई कमजोर बस्ने, मधेसका मुद्दाहरुबारे कि त विरोध, कि त मौन बस्ने शक्तिहरुसँग मिलेर जाँदा हाम्रो मुद्दालाई नोक्सान हुन्छ भनेर मैले भनें ।
उहाँहरुले पनि अझै पनि आन्दोलनमा सहभागीहरुलाई झुटा मुद्दा लगाएर सरकारले राखेको, आश्वासन बाहेक केही नपाएको गुनासो गर्नुभयो । समग्रमा अहिलेको अवस्थाबारे चिन्ता जाहेर गर्ने काम भयो ।
उसोभए अब के गर्ने त ?
हामी गठबन्धन गरेर जान्छौं । त्यसको मोडालिटी के हुन्छ भन्नेमा अझै थोरै समय पर्खनुस् ।
तर उपेन्द्रजीहरु कांग्रेस, माओवादीसँगै मिल्ने भनेपछि कसरी गठबन्धन होला र ?
त्यहाँ उहाँहरुलाई सजिलो छैन । किनभने यस अगाडि नै कांग्रेसले १६५ मध्ये १०० सिट दाबी गरिरहेको छ । कांग्रेसलाई ठूलो दबाव छ ।
त्यसैले जसपाले भन्दैमा त्यो चाहना पूरा नहोला । अहिले उहाँहरुले जे गरे पनि फेरि हाम्रो सहकार्य छिट्टै हुन सक्छ भन्ने देख्छु ।
त्यो सम्भावनाको आधार के छ ?
अहिले नचाहिँदो आरोप लगाएर मधेसमा मुख्यमन्त्रीमाथि मुद्दा चलाउने कुरा उठ्दै गरेको थाहै होला । यसले उहाँहरु चिढिनु भएको छ । अझै यो विषय अगाडि जानसक्छ । दबाब दिने काम बढ्यो भने उहाँहरुले सत्ता गठबन्धन छाड्न सक्नुहुन्छ ।
महन्थजीको चाहिँ मुड के रहेछ ?
सहकार्य गर्नुपर्छ भन्ने नै छ । उहाँ पूरै सकारात्मक हुनुहुन्छ । उहाँले त सहकार्य गरौं भनेर आफ्नो तर्फबाट टोली नै बनाइसक्नुभयो ।
कुन-कुन सिटमा कसरी सहकार्य गर्नुहुन्छ ?
यसमा हामी खुला छौं । सबैको हैसियत अनुसार सम्मान हुनुपर्छ । मधेसमा मात्रै होइन, पूरै तराईभरि हाम्रो उम्मेदवारी आउन सक्छ । छलफल हुन्छ, यसका लागि समय छ ।
अनि उपेन्द्रजी के भन्नुहुन्छ ? तपाईंका लागि क्षेत्र छाड्ने रे ?
निर्वाचन क्षेत्र त एउटा विषय भयो । उहाँसँग धेरै विषयमा मेरो कुरा हुने गर्छ । यसभन्दा अगाडि हाम्रो पहिचान, आत्मसम्मानको मुद्दा कसरी अघि जानुपर्छ भन्नेबारे कुरा गर्ने गर्छौैं ।
तर चुनावको मुखमा क्षेत्रकै कुरो पनि होला नि ? उहाँले जितेको क्षेत्र तपाईंको घर भएको क्षेत्र पर्याे
हो, म महादेवामा जन्मेको हुँ । मेरो सबै परिवार, नातागोता अहिले पनि यतै बस्नुहुन्छ । उपेन्द्रजीको त यहाँ बसोबास छैन । फेरि उहाँ हरेक चुनावमा क्षेत्र फेर्नुहुन्छ । त्यसैले पनि सप्तरी २ बाट आउनुहुन्न होला ।
उहाँले यस्तो भन्नुभयो त ?
त्यसरी सिटकै बारेमा तोकेरै कुरा भएको छैन । सायद अरु ठाउँबाट पनि उठ्न सक्छु भन्ने संकेत त छ उहाँको ।
समझदारी भयो भने तपाईंले पो छाड्नुपर्ने हो कि ?
(हाँस्दै) समझदारी भो भने त धेरै कुरा हुन्छ । तर मलाई क्षेत्रको बारेमा त्यस्तो होला भन्ने लाग्दैन । उहाँ फेरि अहिलेलाई उतै (कांग्रेस, माओवादी गठबन्धन) मै हुनुहुन्छ ।
जनमत पार्टीले मधेसमा मात्रै उम्मेदवारी दिन्छ कि अन्त पनि आउँछ ?
हामी अरु प्रदेशमा पनि हुन्छौैं । जस्तो हामी लुम्बिनीका तीन जिल्लामा सशक्त छौं । बाँकेतिर पनि हाम्रो राम्रो प्रभाव छ । उम्मेदवार पाए काठमाडौं, पोखरामा पनि उम्मेदवार दिनेछौं । त्यो सम्भावना एकदमै धेरै छ ।
चुनावको माहोल कस्तो होला भन्ने देख्नुभएको छ ?
एउटा कुरा के छ भने, लहर त छ । हामीलाई निकै सजिलो छ । खाली एउटै कुरा, निर्वाचन प्रणाली धेरै विकृत भयो । धन, बल, र स्रोतसाधनको दुरुपयोग धेरै छ यतातिर । त्यसैले एजेन्डालाई सही ढंगले जनतामा लैजान निकै बाधा छ ।
के हो त्यो भनेको ?
खुलेआम धाँधली गर्छन् । खर्च पेल्छन् । अरुलाई चल्दै दिँदैनन् । स्थानीय चुनावमा पनि हाम्रो पक्षमा त्यत्रो माहोल थियो । तर शक्ति हुनेहरुले गलत काम गरेर बिगारे ।
विकृत निर्वाचन सच्याउने एजेन्डा के छ ?
एजेन्डा त छ । कार्यान्वयन गर्न माथि पुग्नुपर्यो नि । प्रहरी, निर्वाचन आयोग, अदालत सबैतिर सच्याउनुपर्ने कुराहरु छन् । त्यसका लागि कार्यकारी ठाउँमा हामी हुनुपर्छ ।
कति सिटको आश गर्नुभएको छ प्रत्यक्षमा ?
(एकछिन रोकिँदै) २० जति ।
त्यति गर्दा मधेसमै ठूलो बन्नुहुन्छ तपाईंहरु
हो बन्ने नै हो । टार्गेट त राख्नुपर्याे नि !
प्रतिक्रिया 4