
२२ साउन, वीरगञ्ज । नेपाली कांग्रेस पर्साका प्रवक्ता एवं अनुशासन समिति संयोजक रमेश पाण्डेले सोधेको स्पष्टीकरणको जवाफ कांग्रेसका पूर्व जिल्ला सहसचिव रोशन लामिछानेले सामाजिक सञ्जालबाटै दिएका छन् ।
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिका–१७ मा कांग्रेसका वडा अध्यक्ष एवं सदस्यका उम्मेदवार र पार्टी विरुद्ध प्रचार प्रसार गरेको उजुरी परेको थियो । त्यसैलाई लिएर किन कारबाही नगर्ने ? भनी ७ दिनभित्र जवाफ पेश गर्न लामिछानेलाई अनुशासन समिति संयोजक पाण्डेले स्पष्टीकरण सोधेका थिए ।
स्पष्टीकरण पत्र हातमा नदिएर ह्वाट्सएपमार्फत पठाईएकोमा असन्तुष्टि जनाउँदै लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिदिएका थिए । पत्रको जवाफ पनि विद्युतीय माध्यमबाटै दिने प्रतिक्रिया सहित फेसबुकमा पोष्ट लेखेका उनले आइतबार बिहान त्यसै गरेका छन् ।

एकपक्षीय मनोमानी ढंगले आरोप ठहर गरेर गलत आशयले स्पष्टीकरण पत्र पठाएको उनको ठहर छ । ‘नेपाली कांग्रेसको विधान २०१७ संशोधन सहितको धारा ३४ को दफा ४ को ख, ग, घ र ङ को विधान विपरीत जिल्ला अनुशासन समिति पर्साले आफूखुशी व्याख्या गरी एकपक्षीय मनोमानी ढंगले आरोेप ठहर गरेर गलत आशयले पत्र पठाएकोमा खेद व्यक्त गर्दै पार्टीको विधानमा भएको व्यवस्था अनुसार पार्टी विरुद्धको क्रियाकलाप स्पष्टताका साथ किटान गरि पुनः पत्र पठाउन अनुरोध गर्दछु’, उनले लेखेका छन् ।
अनुशासन समितिको स्पष्टीकरणपत्र र लामिछानले फेसबुकमा पोष्ट गरेको जवाफलाई लिएर कांग्रेस पर्साका नेता कार्यकर्ताले आरोप प्रत्यारोप गरिरहेका छन् ।
संस्थापन इतर पक्षका नेता कार्यकर्ताहरुले गुट उपुगटको पूर्वाग्रह राखेर अनुशासन समितिले लामिछाने जस्ता पार्टीको सच्चा र इमान्दार सिपाही माथि अन्तरघातको झुठा आरोप लगाएको भनेका छन् । यस्तो कार्यले पार्टीको संगठन झन कमजोर हुने र इमान्दार नेता कार्यकर्ताको मनोबल खस्काउने तर्क उनीहरुको छ ।
तर संस्थापन पक्षका नेता कार्यकर्ताले भने पार्टीले सोधेको स्पष्टीकरण पत्रको जवाफ दिनुको सट्टा लामिछानेले पार्टीलाई कमजोर र बदनाम गराउने गरि पत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेर थप अनुशासनहीन काम गरेको दावी गरेका छन् । पार्टीको आन्तरिक विषय भएकाले असन्तुष्टि भए वा केहि मतभेद भए त्यो पार्टी भित्रै राख्नुपर्ने तर्क उनीहरुको छ ।
प्रतिक्रिया 4