
२३ साउन, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले नेताको नाम लिएर विकास निर्माणमा बेथिति निम्त्याउने ठेकेदारलाई तह लगाउने चेतावनी दिएका छन् ।
सोमबार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले नेताको नाम लिएर ठेकेदारहरुले दादागिरी गरेको आरोप लगाए ।
उनले मन्त्रालयले त्यस्ता ठेकदारहरुको खोजी गरिरहेको भन्दै समयमा काम नसक्ने ठेकेदारलाई नछोड्ने टिप्पणी गरे । ‘को कसको को कसको भन्ने ठेकेदारहरुले विभिन्न नेताहरुको खोल ओडेर बेथिति निम्त्याएका छन् । हामी त्यसको खोजी गर्दैछौं । विस्तारै ठीक पार्छौं’ उनले भने ।
मन्त्री राईले सार्वजनिक यातायातमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि अनुसार भाडा समायोजन भइरहेको बताए । कहीँ कतै कार्यान्वयन नभएको भए मन्त्रालय तत्काल कडाइका साथ कार्यान्वयन गर्न तयार रहेको उनको भनाइ छ ।
त्यस्तै नेकपा एमालेकी सांसद विद्या भट्टराईले विकास निर्माणमा तहगत समन्वयको अभाव रहेको बताइन् । उनले तीनै तहमा आफ्नो क्षेत्राधिकार छैन भनेर पन्छिन संघीयताले सजिलो भएको पनि टिप्पणी गरिन् ।
प्रतिक्रिया 4