
२२ साउन, काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि सुरक्षा तयारी थालेको छ ।
त्यसका लागि प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापाको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल बनाएका छन् ।
थापाको नेतृत्वमा रहेको सेलमा मानवस्रोत तथा प्रशासन, सञ्चार, कम्युटरलगायत अधिकृतहरुसहित २५ जना सदस्य छन् । सेलले निर्वाचनका लागि आवश्यक पूर्वतयारी गर्ने केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले अनलाइनखबरलाई बताए ।
उनका अनुसार सेल नै प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि सुरक्षा योजना बनाउनेछ । त्यसलाई गृह मन्त्रालयमा पेश गरिनेछ र मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि कार्यान्वयनमा आउनेछ ।
सशस्त्र प्रहरी बलमा पनि महानिरीक्षक (आईजीपी) राजु अर्यालले कार्य तथा सीमा सुरक्षा विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश गौतमको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरेका छन् ।
सशस्त्र प्रहरी प्रवक्ता विदुर खड्काका अनुसार सेलले निर्वाचनका लागि जनशक्ति बाँडफाट, निर्वाचन सुरुक्षा तयारी, निर्वाचित लक्षित शान्ति सुरक्षा व्यवस्थापन लगायतका काम गर्नेछ ।
निर्वाचनका लागि आवश्यक सामग्री र उपकरणका विषयमा पनि सेल नै अध्ययन गर्नेछ । दुवै प्रहरी संगठनको केन्द्रीय निर्वाचन सेलले प्रदेश र जिल्लामा निर्वाचन सेल गठन गर्न पनि सहजिकरण गर्ने बताइएको छ ।
प्रतिक्रिया 4