
२३ साउन, विराटनगर । प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले आफ्नै घरमा बसेर प्रदेशसभा सचिवालयबाट चार वर्षसम्म आवास सुविधा लिएको पाइएको छ ।
गत कात्तिक मन्त्री बनेका जनता समाजवादी पार्टीका नेता उनले चार वर्षसम्म सचिवालयबाट आवास सुविधावापत वार्षिक रुपमा एकमुष्ट रकम लिएका हुन् ।
प्रदेश १ संसद सचिवालयका अनुसार प्रदेशसभा सचिवालय भन्दा १५ किलोमिटर आसपास घर भएका सांसदले आवास सुविधा नपाउने कानुनी व्यवस्था छ । तर प्रदेशसभाबाट करिब पाँच किलोमिटर दक्षिण विराटनगर महानगरपालिका– १४ जतुवा घर भएका यादवले मासिक रुपमा आवास सुविधा लिइरहेका थिए।
उनले आर्थिक वर्ष २०७४–०७५ मा ८६ हजार ८९६ रुपैयाँ बुझेका थिए । आर्थिक वर्ष २०७५–७६ मा एक लाख ८० हजार रुपैयाँ आवास सुविधा बुझेका छन् । आर्थिक वर्ष २०७६–७७ मा २ लाख २८ हजार रुपैयाँ आवास सुविधा बुझेका थिए । आर्थिक वर्ष २०७७–०७८ मा पनि २ लाख २८ हजार रुपैयाँ बुझेका प्रदेशसभा सचिवालयको विवरण छ ।
प्रदेश सभा सचिवालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार यादवले चार वर्षमा आवास सुविधावापत ७ लाख २२ हजार ८९६ रुपैयाँ बुझेका छन् ।
यादवले घर आफ्नो नाममा नभएका कारण प्रदेशसभाबाट आवास सुविधा लिएको प्रतिक्रिया दिएका छन् । ‘हिजो घर मेरो नाममा थिएन’, उनले भने, ‘अहिले मेरो नाममा छ ।’ मन्त्री भएपछि भने आवास सुविधा नलिएको यादवले बताए ।
कसले लिएनन् सुविधा ?
प्रदेशसभा सचिवालयका अनुसार विराटनगर र आसपास घर भएका सांसदले आवास सुविधा लिएका छैनन् ।
प्रदेशसभाबाट १५ किलोमिटर भित्र घर भएका कारण कांग्रेस सांसद केदार कार्की, चुमनारायण तबदार, जीवन घिमिरे, कल्पनाकुमारी सरदार, यसोदा अधिकारी, विद्यानन्द चौधरी, सावित्राकुमारी रेग्मीले प्रदेशबाट आवास सुविधा लिएका छैनन् ।
विराटनगरमा नै घर भएकी सांसद शान्तादेवी पौडेलले आर्थिक वर्ष २०७४–०७५ मा ८६ हजार ८९६ रुपैयाँ सुविधा लिइन्, त्यसपछि उनले सुविधा लिएकी छैनन् ।
सांसद बसन्तीदेवी यादवले आर्थिक वर्ष २०७४–७५ र २०७५—०७६ को लिएकी छन् । त्यसयता आवास सुविधा लिइनन् ।
विराटनगर नै घर भएकी सांसद विन्दिया कार्कीले दुई वर्ष आवास सुविधा लिएकी थिइन् । आलोचना भएपछि लिन छाडिन् ।
चार वर्षमा पाँच करोड
प्रदेशसभा पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ को अनूसूची १ को ४ मा पदाधिकारी तथा सदस्यहरुका लागि आवास सुविधाको व्यवस्था छ ।
जसमा १५ किलोमिटर आसपास घर भएका सांसदले वार्षिक रुपमा ३० हजार रुपैयाँ एकमुष्ट घर मर्मत खर्च पाउने व्यवस्था छ । १५ किलोमिटर भन्दा टाढा घर भएका सांसदहरुका लागि आवास सुविधा बापत मासिक १५ हजार रुपैयाँ दिने व्यवस्था छ ।
सोही व्यवस्था अनुसार आर्थिक वर्ष २०७४–०७५ र २०७५–०७६ मा सांसदहरुले मासिक १५ हजारका दरले आवास सुविधा लिए । २०७६–०७७ र २०७७–०७८ मा भने मासिक १९ हजार रुपैयाँका दरले आवास सुविधा बुझेका छन् ।
प्रदेश १ प्रदेशसभा सचिवायले चार वर्षमा सांसदको आवास सुविधाका लागि मात्रै ५ करोड ४७ लाख ३० हजार ३०९ रुपैयाँ खर्च गरेको छ ।
हेर्नुस्
प्रतिक्रिया 4