
२४ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन गर्ने सत्तारुढ दलहरुको निर्णय अराजनीतिक भएको टिप्पणी गरेका छन् ।
आफ्ना नीतिमाथि विश्वास र भरोसा नभएका राजनीतिक दलहरुले मात्रै निर्वाचनमा गठबन्धन गर्ने जिकिर गर्दै महासचिव पोखरेलले यस्तो भनाइ राखेका हुन् ।
मंगलबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका उनले पत्रकारहरुको प्रश्नको जवाफ दिँदै सरकार निर्माणका क्रममा बहुमतका लागि गठबन्धन गर्नु उचित भए पनि चुनावअघि नै गठबन्धन गर्नु उचित नहुने बताएका हुन् ।
महासचिव पोखरेलले सत्तारुढ गठबन्धनसँग कुनै नीति, उद्देश्य र लक्ष्य नभएकाले आफ्नो स्वार्थको लागि जे गर्न पनि तयार भएको टिप्पणी गरे ।
‘कहिलेकाहीँ जनताले दिएको म्यान्डेटमा कुनै दल विशेषले बहुमत ल्याउन सकेन भने सरकार निर्माणका समयमा गठबन्धन गर्ने कुरा दुनियाँको लोकतन्त्रमा पाइन्छ । तर, चुनावमा गठबन्धन गर्ने कुरा भनेको अराजनीतिक कुरा हो । एक प्रकारले आफ्ना नीतिमाथि, विश्वास र भरोसा नहुने कुरा हो’ उनले भने ।
महासचिव पोखरेलले एमाले भने आफ्नो नीतिको आधारमा अघि बढ्ने र आफ्नो नीतिसँग सहमत हुनेहरुसँग चुनावी तालमेल गर्ने बताए ।
प्रतिक्रिया 4