+

अटेरी अल्मुताइरी : एन्फाको जवाफ नदिने, मैत्रीपूर्ण खेलका लागि २६ खेलाडीको सूची पठाए

२०७९ साउन  २४ गते १८:३९ २०७९ साउन २४ गते १८:३९
अटेरी अल्मुताइरी : एन्फाको जवाफ नदिने, मैत्रीपूर्ण खेलका लागि २६ खेलाडीको सूची पठाए

२४ साउन, काठमाडौं । राष्ट्रिय टिमका खेलाडीसँग विवादबारे छानबिन समितिले बुझाएको प्रतिवेदनबारे धारणा माग गरी एन्फा महासचिव किरण राईले पठाएको पत्रको जवाफ नदिएका  नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सेप्टेम्बरको फिफा डेमा खेलिने मैत्रीपूर्ण खेलका लागि २६ खेलाडीको प्रारम्भिक सूची अखिल नेपाल फुटबल संघ एन्फामा पठाएका छन् ।

अल्मुताइरीले क्याम्प छाडेका १० मध्ये दुई जना खेलाडी समावेश गरी २६ सदस्यीय खेलाडीको सूची पठाएका हुन् ।

‘प्रशिक्षकले महासचिवको पत्रको जवाफ दिनुभएको छैन । तर, प्रशिक्षणका लागि खेलाडीको सूची पठाउनुभएको छ । कोचिङ स्टाफमा पनि पुरानै व्यक्ति हुनुपर्ने उहाँको माग छ,’ एन्फा श्रोतले अनलाइनखबरसँग भन्यो ।

अल्मुताइरीले माग गरेको सूचीमा खेलाडी–प्रशिक्षक विवादमा मुछिएका अञ्जन विष्ट र तेज तामाङको नाम समावेश छ । जगजित श्रेष्ठको नाम पनि समावेश छ । प्रशान्त अवस्थी, मनिष मगर र दिनेश हेम्जनलाई पनि टिममा राखिएको छ ।

अल्मुताइरीले कुवेतमा एसियन कप छनोट खेलेको टिममा रहेका २० र अन्य ६ खेलाडी थपेर २६ जनाको सूची पठाएका हुन् । कुवेत गएकामध्ये दर्शन गुरुङ र सन्तोष तामाङ अष्ट्रेलिया पलायन भइसकेका छन् ।

एएफसी यू–२० एसियन कपको प्रशिक्षणमा रहेका कारण राष्ट्रिय यू–२० टिमका कप्तान आयुष घलानलाई २६ जनामा राखिएको छैन ।

अल्मुताइरीले कुवेतमा बसेर खेलाडी र कोचिङ स्टाफको माग गरिरहँदा राष्ट्रिय टिममा उनको भविष्य निश्चित भइसकेको छैन । यसबारे निर्णय गर्न एन्फाको नवनिर्वाचित कार्यसमितिको पहिलो वैठकले महासचिव किरण राईलाई जिम्मा दिएको थियो ।

नेपाल टिमले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने तयारी छ । सेप्टेम्बर अन्तिममा मैत्रीपूर्ण खेल हुने भनिए पनि एन्फाले आधिकारिक निर्णय सार्वजनिक गरेको छैन ।

अल्मुताइरी कतार फुटबल एसोसिएसन (क्युएफए)को सहयोगमा नेपाल ल्याइएका हुन् । एन्फाका वर्तमान अध्यक्ष पंकजविक्रम नेम्वाङसँग कार्यकालको सुरुवातदेखि नै सम्बन्ध सुमधुर नरहेको र खेलाडीसँगको विवाद छानबिन समितिले प्रशिक्षकको ‘विकल्प’ खोज्न सुझाव दिएकाले नयाँ कार्यसमितिले उनलाई बर्खास्त गर्नसक्ने धेरैको अपेक्षा थियो ।

एन्फाको नयाँ नेतृत्वले अल्मुताइरीको विकल्प खोज्न कतार फुटबलसँग प्रयास गरे पनि सफल हुन सकेको छैन । कतारसँगको सुमधुर सम्बन्ध कायम राख्न पनि एन्फाले सिधै ठूलो निर्णय गर्न सकेको छैन । एन्फा नेतृत्वले प्रशिक्षकको विषयमा छिटो समाधान निकाल्न कतारी राजदूतसँग पनि छलफल गरेको थियो ।

कतार फुटबल नेपाली फुटबलको प्रमुख सहयोगी संस्था हो । उसले कतार एयरवेजमार्फत नेपालको ए डिभिजन लिगलाई मुख्य प्रायोजन गरिरहेको छ ।

एन्फा कार्यसमितिको बिहीबार बस्ने बैठकमा अल्मुताइरीको विषयमा पनि छलफल हुनेछ । ‘कार्यसमिति बैठकले अल्मुताइरीको भूमिकाबारे छलफल र निर्णय गर्नेछ,’ एन्फा श्रोतले भन्यो ।

विवादमा पर्याय अल्मुताइरी

एसियन कप छनोटको तयारीमा रहेका फुटबल खेलाडी र प्रशिक्षकबीच ठूलो विवाद हुँदा १० खेलाडी क्याम्पबाट बाहिरिएको विषयले फुटबल राजनीतिमा ठूलो प्रभाव पा¥यो । प्रशिक्षकले सिनियर १० खेलाडीविना प्रशिक्षण जारी राखे भने एन्फाले दुई सातापछि छानबिन समिति बनायो ।

समस्या पहिचान र समाधान समितिले जेठ पहिलो साता मुख्य प्रशिक्षक अल्मुताइरीलाई कुवेतमा हुने एसियन कप छनोटपछि विकल्प खोज्न सुझावसहित प्रतिवेदन बुझाएको थियो । त्यतिबेला एन्फाको अध्यक्षमा कर्मा छिरिङ शेर्पा थिए ।

अनुभवी १० खेलाडीलाई बाहिर राख्दै कुवेत पुगेको नेपाल जोर्डन, कुवेत र इण्डोनेसियासँग पराजित भयो । जेठ अन्तिममा नेपालले छनोटको तीन खेल खेलेपछि टोली फर्कियो भने अल्मुताइरी करित तीन महिनाको स्वास्थ्य बिदा लिँदै आफ्नै देश कुवेतमा बसे ।

६ असारमा एन्फा निर्वाचन थियो । त्यही निर्वाचनसँगै अल्मुताइरीको भविष्य पनि जोडिएको थियो । अल्मुताइरीले धेरै अघिदेखि कर्मा अध्यक्षमा निर्वाचित नभए नेपाल नबस्ने प्रतिक्रिया दिँदै आएका थिए ।

कर्मालाई ६ मतले पछि पार्दै पंकज विक्रम नेम्वाङ एन्फा अध्यक्षमा निर्वाचित भएपछि प्रशिक्षकको नेपाल आगमन अनिश्चित बन्यो । प्रशिक्षक स्वास्थ्य बिदा लिएर उतै बस्दा यो विषयको चर्चा केही हदसम्म कम भयो ।

एन्फाको पहिलो कार्यसमिति बैठकले महासचिव किरण राईलाई प्रशिक्षकको विषयमा छानबिन समितिको प्रतिवेदन अनुसार प्रक्रिया अघि बढाउन जिम्मा दिइएको थियो ।

महासचिव राईले प्रतिवेदनको विषयमा जानकारी गराएर त्यसप्रति धारणा माग गर्दै अल्मुताइरीलाई पत्र पठाएका थिए । एन्फा श्रोतका अनुसार अल्मुताइरीले महासचिवको पत्रमा अहिलेसम्म जवाफ पठाएका छैनन् ।

एन्फा निर्वाचनमा आफूले चाहेको नेतृत्व नआउनु र खेलाडी–प्रशिक्षकको विवादमा पनि आफूलाई दोषी देखाइँदा अल्मुताइरी नेपाल आउन समय लागेको देखिन्छ ।

एन्फाले वैशाखमा खेलाडी र प्रशिक्षक विवादको सुल्झाउनका लागि भिक्टर राणाको संयोजकत्वमा बनाएको तीन सदस्यीय समितिले १० दिन दिन लगाएर २८ पृष्ठको प्रतिवेदन बुझाएको थियो । जसमा एसिया कप छनोटपछि कतार फुटबल संघसँगको सहयोगलाई निरन्तरता र सहमति कायम राख्दै मुख्य प्रशिक्षकको अर्को विकल्प खोज्न सिफारिस गरेको थियो ।

नेपालको प्रशिक्षक बनेयता नै उनी बारम्बार विवादमा तानिँदै आएका छन् । चाहे तात्कालीन वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङका कारण राजीनामा दिन्छु भन्ने धम्की दिएर होस् या १० खेलाडीलाई प्रशिक्षण छाडेर जा भन्दा होस् । उनले गत वर्ष माल्दिभ्समा आयोजित साफ च्याम्पियनसिपको फाइनलअघि नेपालका लागि आफ्नो अन्तिम खेल भएकोसम्म भन्न भ्याएका थिए ।

अब्दुल्लाह अलमुताइरी
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय