हृदयघात र प्यानिक अट्याकबीचको भिन्नता छुट्टाउन अलि गाह्रो छ, किनभने दुवैका लक्षण लगभग उस्तै हुन्छन् । अत्यधिक तनाव र चिन्ता प्यानिक अट्याकको प्रमुख कारण हो । जसले हृदयघात पनि निम्त्याउन सक्छ । दुई बीचको भिन्नता बुझ्न सकियो भने यी समस्यालाई राम्रोसँग समाधान गर्न पनि सकिन्छ ।
हृदयघात भनेको के हो ?
मुटुमा रगत र अक्सिजन पुर्याउने कोरोनरी धमनी अवरुद्ध हुँदा हृदयघात हुन्छ । यसले मुटुको मांसपेशीमा रगत र अक्सिजनको प्रवाह रोक्छ । केही हृदयघात तुरुन्तै देखा पर्छन् र घातक हुन सक्छ । हृदयघात हुँदा केही लक्षण देखा पर्न सक्छन्, जस्तै छाती दुख्नु, छाती भारी हुनु, डकार आउनु, सास फेर्न गाह्रो हुनु, वाकवाकी लाग्नु, पसिना आउनु, चक्कर लाग्नु, शरीरको माथिल्लो भाग दुख्नु । विशेषगरी एक वा दुवै हात, घाँटी, ढाड, बङ्गारा वा पेट दुख्ने हुनसक्छ ।
यद्यपि, छाती वा हात दुख्नु हृदयघातको एक सामान्य लक्षण हो, जुन प्रायः पत्ता लाग्दैन । यसले शरीरको माथिल्लो भागमा थकान जस्ता लक्षण देखाउन सक्छ ।
मधुमेह, उच्च कोलेस्ट्रोल, तनाव र उच्च रक्तचापको समस्याबाट ग्रसित व्यक्तिलाई हृदयघात हुने सम्भावना बढी हुन्छ । यसबाहेक, धुम्रपान, खराब जीवनशैली र शारीरिक गतिविधिको कमीले पनि जोखिम बढाउँछ ।
प्यानिक अट्याक
तनाव, चिन्ता र डर जब चरम सीमामा पुग्छ तब प्यानिक अट्याक हुन सक्छ । कुनै तनावपूर्ण घटनाका कारण प्यानिक अट्याक हुन सक्छ । प्यानिक अट्याक हुँदा छाती दुख्ने, मुटु छिटो धड्कने, पसिना आउने, मृत्युको डर, रिंगटा लाग्ने, वाकवाकी लाग्ने र शरीर झमझम गर्ने जस्ता लक्षण देखा पर्न सक्छन् । श्वासप्रश्वासको अभ्यास, हल्का व्यायाम र ध्यानले प्यानिक अट्याकलाई नियन्त्रण गर्न सकिन्छ ।
हृदयघात र प्यानिक अट्याकमा के छ भिन्नता ?
एसियन हार्ट इन्स्टिच्युट, मुम्बईका वरिष्ठ कार्डियोलोजिस्ट डा. तिलक सुवर्णका अनुसार यी दुई अवस्थाका केही लक्षण फरक छन्, जसले यी दुईको अन्तर पत्ता लगाउन सकिन्छ :
-हृदयरोगको कुनै इतिहास वा धुम्रपान, मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, छाती दुख्ने र सास फेर्न गाह्रो हुने जस्ता कारकलाई बेवास्ता गर्नु हुँदैन । उनीहरूलाई मुटुरोगको जोखिम हुन सक्छ ।
-यदि आराम गर्दा लक्षणहरू देखिन्छन्, तर हिंड्दा वा शरीरलाई चलायमान बनाउँदा लक्षण देखिंदैनन् भने ती लक्षण हृदयघातको नहुन सक्छ ।
-हिंडडुल गर्दा लक्षण बढ्छन्, तर आराम गर्दा कम हुन्छन् भने त्यो हृदयघातको लक्षण हुन सक्छ ।
-हृदयघातको शंका लागेमा, ईसीजी गराउनुपर्छ । ईसीजी गरेर हेर्दा केही समस्या देखियो भने उपचार हुन्छ र हृदयघातबाट बच्न सकिन्छ ।
यदि स्वास्थ्य अवस्थाबारे कुनै प्रकारको शंका लागेको छ भने तुरुन्त अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ । अचानक छाती दुख्ने समस्या भयो र त्यो ३ मिनेट भन्दा बढी समयसम्म रहेमा तुरुन्तै अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ ।
हृदयघातको अवस्थामा ढिलाइ घातक हुन सक्छ । बारम्बार प्यानिक अट्याक हुन्छ भने पनि उपचार गरी हाल्नुपर्छ । किनकि प्यानिक अट्याकले पनि हृदयघातको जोखिम बढाउँछ ।
द हेल्थ साइड डटकमबाट
प्रतिक्रिया 4