
२५ साउन, जनकपुरधाम । एउटा खुट्टाको भरमा मात्रै हिंडडुल गर्छिन् उनी । जन्मिदैं एउटा खुट्टाको घुँडामुनिको भाग नभएका कारण उनी एक मात्र खुट्टाको सहारामा घरमा सामान्य हिंडडुल गर्न सक्छिन् ।
धनुषाको शहीदनगर नगरपालिका वडा नम्बर ५ पचहर्वा गाउँकी रिणा मण्डलको सानैदेखिको समस्या हो, यो ।
यो समस्याका कारण टाढासम्म हिंडडुल गर्न नसक्ने रिणालाई पढ्ने धोका आमाले पूरा गराउँदै आएकी छिन् । काखमा बोकेर सधैं विद्यालय पुर्याउँदै आएकी छन् उनकी आमा ।
विद्यालय मात्रै होइन, कतै अन्य ठाउँ लग्नुपरे पनि आमाले काखमै बोक्थिन रिणालाई ।
तर, अब आमाले बोक्नुपर्ने समस्याबाट मुक्त भएकी छन् रिणा । राष्ट्रिय एकता अभियानकी उपाध्यक्ष सुनिता साहले ह्वील चेयर उपलब्ध गराएपछि रिणालाई अब विद्यालय जान र त्यसमै हिंडडुल गर्न सहज भएको छ ।
साहले घरमै पुगेर मण्डललाई ह्वील चेयर प्रदान गरेकी छन् । ‘पढ्नलाई इच्छुक भएको र विद्यालयसम्म पुग्न कठिनाइ भइरहेको बारेमा बुझें’ सप्तरी निवासी साहले भनिन्, ‘यस्तो जानकारी पाए लगत्तै ह्वील चेयर पुर्याइदिएकी हुँ । विश्वास छ अब उनको जीवन यापनमा केहि सहज हुन्छ ।’
रिणाकी आमा गीता देवीले छोरीलाई सधैं बोकेर विद्यालय छोड्ने गरेको बताइन् । ‘अहिलेसम्म काखमै बोकेर विद्यालय पुर्याउँदै आएकी थिएँ’ गीतादेवी भन्छिन्, ‘ह्वील चेयर भएपछि अब उनी आफैं पनि विद्यालय जान सक्छिन् ।’
घरदेखि झण्डै एक किलोमिटरको दूरीमा रहेको सरस्वती माध्यमिक विद्यालयको कक्षा ३ मा अध्ययन गर्छिन् ९ वर्षकी रिणा । उनी जन्मिदैं यस्तै जन्मेको बताउँदै गीता देवी भन्छिन्, ‘आर्थिक अवस्था कमजोर भएका कारण समयमै उपचार गराउन सकिएन् ।’
प्रतिक्रिया 4