
२५ साउन, पोखरा । नेपाल सरकारले अंग्रेजी नयाँ वर्ष जनवरी १ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने मिति तय गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिको आइतबार बसेको बैठकले अंग्रेजी नयाँ वर्ष अर्थात् पुस १७ गतेदेखि विमानस्थल खुला गर्ने निर्णय गरेको हो ।
तर, विमानस्थल सञ्चालन हुने मिति तय हुँदा पोखरेली पर्यटन व्यवसायी जति खुसी हुनुपर्ने हो त्यति छैनन् । कारण हो–प्याराग्लाइडिङ विस्थापन हुने चिन्ता । प्राधिकरणसहित उड्ड्यन क्षेत्रका विज्ञका अनुसार अन्तर्राष्ट्रिय उडान सुरु हुनुभन्दा अगाडि नै प्याराग्लाइडिङको विकल्प खोजिसक्नुपर्नेछ ।
अहिले पोखराको प्रमुख पर्यटकीय आकर्षण प्याराग्लाइडिङ हो । हवाई खेलकुद संस्था (ना) अनुसार अहिले पनि दैनिक १ हजारभन्दा बढी पर्यटकले प्याराग्लाइडिङ उडान भरिरहेका छन् । अहिले अन्तर्राष्ट्रिय विमानस्थल सुरु भएसँगै प्याराग्लाइडिङको भविष्य के हुने हो भन्ने व्यवसायीमा चिन्ता थपिएको छ ।
अहिले पोखरामा सराङकोट क्षेत्रबाट प्याराग्लाइडिङ उडान भइरहेको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख विनेश मुनकर्मी प्याराग्लाइडिङ उडान हुने उक्त क्षेत्र विमानस्थलको एअरस्पेसभित्र पर्छ । ‘सबै प्लेन आउनेबित्तिकै ल्यान्ड हुन्छ भन्ने छैन । कुनै प्लेन ल्यान्ड गर्न नसकेर आकासमा घुम्नुपर्ने हुन्छ । यो घुम्ने भनेको त्यही क्षेत्र (सराङकोट) हो,’ उनले भने, ‘त्यही भएर त्यहाँ कुनै हवाई गतिविधि नगर्ने भनिएको हो ।’
यद्यपि, हवाई खेलकुद संस्था (ना)ले भने पोखरेली प्याराग्लाइडिङको विकल्पबारे आफूहरुलाई प्राधिकरणले आधिकारिक जानकारी अझैसम्म नदिएको बताएको छ । ‘नयाँ एअरपोर्ट सञ्चालन हुने भएपछि प्याराग्लाइडिङको विकल्प खोज्न क्यान प्रतिनिधिहरुले भनिरहनुभएको छ । तर, अहिलेसम्म आधिकारिक पत्र भने आइसकेको छैन,’ ना अध्यक्ष सुनिलबहादुर भट्टराईले अनलाइनखबरसँग भने ।
एअरपोर्टको रनवे ‘इस्ट टु वेस्ट’ नै भएकाले पनि प्याराग्लाइडिङले प्रभाव नपार्ने भट्टराईको तर्क छ । अहिले प्याराग्लाइडिङ उडान भइरहेको क्षेत्र पश्चिम क्षेत्र भएकाले फरक नपर्ने उनको भनाइ छ । जहाज ल्यान्डिङ गर्न आउनेबेला ल्यान्ड गर्न सकेन र ओभरसुट भएमा पनि समस्याको समाधान खोज्न सकिने उनको दाबी छ । ‘टेकअफमा हाम्रो कुनै बाधा हुँदैन, ल्यान्डिङका लागिमात्रै हो । त्यसका लागि पनि हामी थप अध्ययन गर्न सक्छौं भन्ने हो,’ उनले भने ।
पोखरेली पर्यटन व्यवसायीका अनुसार पोखरामा जति पर्यटक तालतलैया र हिमाल हेर्न आउँछन्, त्यति नै संख्यामा प्याराग्लाइडिङको मजा लिन पनि आउँछन् । पोखरादेखि प्याराग्लाइडिङ विस्थापन भएमा पोखरेलीमात्रै नभएर समग्र देशकै पर्यटन अर्थतन्त्रलाई असर गर्ने व्यवसायी बताउँछन् । ‘पोखरामा हिमाल, पहाड र तालमात्रै हेर्न पर्यटक आउने होइनन् । धेरै विदेशी पर्यटक प्याराग्लाइडिङकै लागि आउँछन्,’ भट्टराई भन्छन्, ‘प्याराग्लाइडिङ पोखरा टुरिजम्को इकोसिस्टम नै हो । तर हामीलाई संरक्षण गर्नुको साटो विस्थापन गर्न खोजिएको छ ।’
भट्टराईले पोखरामै विकल्प खोज्न अहिलेदेखि नै व्यवस्थित गरेर विधि, प्रविधिको विकल्प खोजी हुनुपर्ने बताए । ‘हाम्रो चाहना, माग, धारणा पनि यही हो । यसलाई पोखराबाट अन्यत्रै लैजान नपरोस्, यहीं कसरी हुन्छ एअरपोर्ट सँगसँगै सञ्चालन गर्ने उपाय, विधि, खोजौं भन्ने हाम्रो माग हो,’ उनले भने ।
नेपालको भौगोलिक अवस्थाका अनुसार जुनसुकै ठाउँबाट प्याराग्लाइडिङ उडान भर्न सकिए पनि पोखरा जत्तिको प्रभावकारी र आकर्षक ठाउँ अन्यत्र नपाइने संस्थाका महासचिव खेमराज आचार्य सुनाउँछन् । ‘पोखरामा प्याराग्लाइडिङ सुरु हुँदै गर्दा काठमाडौं, धरानतिर पनि थियो । तर, पोखराको मात्रै टिक्यो । अहिले विश्वका १० मध्ये तेस्रो नम्बरमा पोखराको प्याराग्लाइडिङ पर्छ,’ उनले भने, ‘यस्तो अन्य ठाउँमा छैन ।’
हवाई खेलकुद संस्थाले पोखरेली प्याराग्लाइडिङको विकल्प पोखरा नै हुनुपर्ने माग गरेको छ । पोखराका लागि प्याराग्लाइडिङ विश्वस्तरमै ‘ब्रान्ड’ भइसकेकाले विस्थापन गर्न नहुने उनीहरुको तर्क छ । महासचिव आचार्यका अनुसार पोखरामै प्याराग्लाइडिङ सञ्चालन गर्न संस्थाले अध्ययन टोलीसमेत गठन गरेको छ । केही दिनभित्रै समितिको रिपोर्ट आउने उनले बताए । ‘पोखराको विकल्प पोखरा नै हो । यसका लागि धेरै उपायहरुको खोजी गर्न अझै सकिन्छ,’ संस्थाका निवर्तमान अध्यक्ष कृष्ण भण्डारी भन्छन्, ‘पोखरामा प्याराग्लाइडिङ ब्रान्ड हुन २५ वर्ष लाग्यो । अन्यत्र लैजाँदा पनि फेरि त्यही समय लाग्छ । यसबारे हामी छुट्टै तरिकाले अध्ययन रिपोर्ट पनि बनाउँदैछौं ।’
संस्थाका अध्यक्ष भट्टराई पोखरादेखि पर्यटकीय गन्तव्य र आकर्षण विस्थापित हुँदै जाँदा प्याराग्लाइडिङ पनि विस्थापन भए पर्यटन क्षेत्रलाई नै धक्का पुग्ने बताउँछन् । ‘यसरी सबै कुरा विस्थापित हुँदै जाने हो भने हामी पर्यटक ल्याउने भन्ने तर, उनीहरु आएर के गर्ने त ?’ उनी भन्छन्, ‘एक दिन फेवातालमा बोटिङ गर्ला, लेकसाइडको होटलमा सुत्ला फेरि फर्केर गइहाल्छ । यो कुरामा त राज्य आफैं गम्भीर हुनुपर्ने हो ।’
प्राधिकरणले साउन २० गते मात्रै पोखरामा प्याराग्लाइडिङ व्यवस्थापनको जिम्मा हवाई खेलकुद संस्था (ना)लाई दिएको छ । प्राधिकरणले संस्थालाई लेखेको पत्रमा पोखरामा सञ्चालन हुने प्याराग्लाइडिङ उडानका लागि हरेक उडान स्लटको व्यवस्थापन हुने गरी (पालैपालो) समय तोक्न निर्देशनसमेत दिएको छ ।
पोखराको विकल्प पोखरा नै हो : सुनिलबहादुर भट्टराई
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएपछि यहाँका प्याराग्लाइडिङले उडानमा समस्या पार्ने नागरिक उड्ड्यन प्राधिकरणले बताउँदै आएको छ । समस्या समाधानका केही विकल्प सोच्नु भएको छ ?
नयाँ एअरपोर्ट सञ्चालन हुने भएपछि प्याराग्लाइडिङको विकल्पको खोज्न क्यान प्रतिनिधिहरुले भनिरहनु भएको छ । तर, अहिलेसम्म आधिकारिक पत्र भने आइसकेको छैन । भेटघाटका क्रममा मात्रै भन्दै आउनु भएको हो ।
एउटा सम्भावनाचाहिँ अहिलेदेखि नै व्यवस्थित गरेर विधि, प्रविधि र अप्सनहरु हेरेर यहीं व्यवस्थापन गरौं भन्ने पक्षमा हामी छौं । हाम्रो चाहना, माग, धारणा पनि यही हो । यसलाई पोखराबाट अन्यत्रै लैजान नपरोस्, यहीं कसरी हुन्छ एअरपोर्टसँगसँगै सञ्चालन गर्ने उपाय, विधि, खोजौं भन्ने हाम्रो माग हो ।
तपाईंको मतलव हवाई उडानलाई प्याराग्लाइडिङले फरक नपार्ने भन्ने हो ?
अन्तर्राष्ट्रिय एअरपोर्टको रनवे इस्ट टु वेस्ट छ । हाम्रो प्याराग्लाइडिङको ल्यान्डिङ र टेकअफ दुईवटै इस्टबाट हुन्छ । अहिले प्याराग्लाइडिङ एक्टिभिटिज भएको ठाउँ वेस्ट छ । नर्थमा हिमालहरु भएकाले वेस्ट साइडतिर क्रियाकलापहरु भइराखेको छ ।
त्यसैले पनि यो डाइरेक्ट रुपमा रनवेमा अप्रोजमा नपरिकन भोलि जहाज वा एअरलाइन्सहरु ल्यान्डिङ गर्न आउनेबेला ल्यान्ड गर्न सकेन र ओभरसुट भयो भनेचाहिँ अहिले प्याराग्लाइडिङ उडान भइरहेको आकासमा आउने हो ।
त्यसकारण पनि उहाँहरुले यसलाई प्रोटेक्सन यरिया चाहिन्छ, यो अन्तर्राष्ट्रिय नियम नै हो । त्यही भएर पनि अहिले प्याराग्लाइडिङ भइरहेको ठाउँ खुला राख्नुपर्छ भन्ने उहाँहरुको कुरा छ । तर, हाम्रो कुरा के भने, चाइनिजहरु बनाइदिएको फ्लाइटमा थोरै परिवर्तन गरियो भने हाम्रो यरियालाई थोरै साइडमा पार्न सकिन्छ ।
टेकअफमा हाम्रो कुनै बाधा हुँदैन, ल्यान्डिङका लागिमात्रै हो । त्यसका लागि पनि हामी थप अध्ययन गर्न सक्छौं भन्ने हो ।
अन्यत्र पनि त विकल्प खोज्न सकिन्छ होला ? पोखरामै किन ?
नेपालमा प्याराग्लाइडिङ उड्ने ठाउँ त जताततै छ । नेपालको जनु ठाउँमा गए पनि अग्लो डाँडाकाँडा हुन्छ नै, उडान भर्न समस्या छैन । तर, कमर्सियल हिसाबले पोखराभन्दा विकल्प छैन । ३५० दिन लगभग हामी उड्न सक्छौं ।
पर्यटकीय हिसाबले पनि हिमाल, पहाड, ताल सबै छ । प्याराग्लाइडिङको जति पनि एक्सिडेन्ट केसहरु हुन्छन् कि टेकअफ कि ल्यान्डिङमा हुने हो । आकासमा धेरै कम हुन्छ । प्याराग्लाइडिङ रनिङ गर्न पनि राम्रो हावा चाहिन्छ । आकासमा पनि राम्रो थर्मलहरु चाहिन्छ । यी सबै कुराहरु पोखरामा प्रकृतिले आफैं दिएको छ ।
बाहिर कहिलेकहिले उड्न जान त मिल्छ । तर, सेफ्टीको हिसाबले, क्लाइमेटको हिसाबले, ताल र हिमालको कम्बिनेसन यी सबै कुराले यसको विकल्प हामी देख्दैनौं । पोखरा बजारदेखि आधा घन्टादेखि ४५ मिनेटमा सराङकोट पुगिन्छ । २, ३ घन्टाको होल प्याकेज लिन सकिन्छ । यसको विकल्प यहीं नै हो ।
संस्थाले अन्य सम्भावित ठाउँको पनि खोज, प्रवर्द्धन गर्नुपर्ने होइन र ?
अरु ठाउँमा पनि विकास त गर्ने हो । हाम्रो संस्थाले पनि गरिराखेको छ । तर, पोखरामा प्याराग्लाइडिङको २५ वर्षको इतिहास छ । पोखराको प्याराग्लाइडिङ विश्वव्यापी हुन यति धेरै समय लाग्यो । अरु ठाउँमा जान फेरि समय लाग्छ ।
जानै हुन्न त भनेको होइन तर, नयाँ ठाउँमा पनि एक्सप्लोर गर्दै गरम्, यहाँबाट पनि नमासम्, जीवितै राखम् भन्ने हो ।
कति छन् अहिले पोखरामा प्याराग्लाइडिङ कम्पनी ?
हामीसँग ६० जना प्याराग्लाइडिङ कम्पनी र ३७५ जना कमर्सियल पाइलटहरु हुनुहुन्छ ।
पोखरादेखि प्याराग्लाइडिङ विस्थापित भयो भने पोखरेली पर्यटनलाई कस्तो असर पर्छ ?
पोखराको पर्यटनलाई यसले धेरै नै असर पार्छ । आज पोखरालाई पोखरा भनेर चिनाउन जति हिमाल र फेवाताल देखाउँछौं त्यति नै (प्याराग्लाइडिङ) महत्वपूर्ण भइसक्यो ।
अहिले प्रदेश सरकार, महानगर सबैले पोखरामा आउने पर्यटनको बसाइँ कसरी लम्ब्याउने भन्ने कुरा चलिराखेको छ । पोखरालाई साहसिक खेल पर्यटनको राजधानी घोषणा गर्न सबै सम्बन्धित निकाय लागिपरिरहेको छ । यो सबै हुनलाई त एक्टिभिटिज चाहियो नि !
पर्यटकीय स्थल चाहियो, यहाँ आएर मनोरञ्जन गर्ने ठाउँ चाहियो । नयाँ थप्न छाडेर भएको कुरालाई पनि विस्थापन गर्ने हो भने त झन् कसरी हुन्छ ?
ट्रेकिङ ट्रायल्सहरु मासिँदै गइरहेका छन् । २१, २२ दिनको पदयात्रा अहिले ५, ६ दिनमा झरिसक्यो । अहिले हेरौं, थोरङ पास । यो एभरेस्ट पछिको सबैभन्दा बेस्ट पदमार्ग थियो । अहिले त्यो पनि हराउँदै गइरहेको छ । यसरी सबै कुरा विस्थापित हुँदै जाने हो भने हामी पर्यटक ल्याउने भन्ने तर, उनीहरु आएर के गर्ने त ?
एक दिन फेवातालमा बोटिङ गर्ला, लेकसाइडको होटलमा सुत्ला फेरि फर्केर गइहाल्छ । यो कुरामा त राज्य आफैं गम्भीर हुनुपर्ने हो । हामीलाई संरक्षण गर्ने ठाउँमा विस्थापन गर्नतिर लागिरहेको छ । प्याराग्लाइडिङ पोखरा टुरिजम्को इकोसिस्टम नै हो । त्यसैले पनि यसलाई विस्थापन गर्न हुँदैन ।
प्रतिक्रिया 4