
२५ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च तहका अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ । स्वास्थ्यमन्त्री भवानी खापुङले राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. सञ्जय ठाकुरलाई स्वास्थ्य समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी दिएका छन् ।
राष्ट्रिय क्षयरोग केन्द्रमा भने लामो समयदेखि फाजिलमा रहेकी डा. रिता जोशीलाई पठाइएको छ । फाजिलमै रहेका नारायण ढकाललाई प्रदेश १ मा पठाइएको छ । यसअघि उनी औषधि व्यवस्था विभागका महानिर्देशक थिए ।
यस्तै डा. विश्वबन्धु बगालेलाई किटजन्य रोग केन्द्र हेटौंडा पठाइएको छ भने केन्द्रका प्रमुख डा.केशव पण्डित स्वास्थ्य मन्त्रालय आएका छन् ।
प्रवक्ता पद भने अझै रिक्त छ । डा. संगीता मिश्रा प्रमुख विशेषज्ञमा बढुवा भएसँगै एक महिनाभन्दा बढी समयदेखि मन्त्रालयको प्रवक्ताको जिम्मेवारी तोकिएको छैन ।
मन्त्रालयमा यसभन्दा अगाडि स्वास्थ्य समन्वय महाशाखाको प्रमुखलाई प्रवक्ताको जिम्मेवारी दिइने चलन रहँदै आएको छ । यसपटक भने प्रवक्ताको जिम्मेवारी कसलाई दिने भन्नेमा मन्त्री तथा सचिवबीच विवाद भएको मन्त्रालयका अधिकारी बताउँछन् ।
मन्त्री खापुङले भने केही दिनमा निर्णय हुने बताए । मन्त्री खापुङले भने, ‘मन्त्रालयमा आन्तरिक सल्लाह गर्दैछु । अबको केही दिनभित्रमा निर्णय हुन्छ ।’
प्रतिक्रिया 4