
२५ साउन, काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले सीमा अतिक्रमण हुँदा पनि सरकार चुप बसेको आरोप लगाएका छन् ।
बुधबार काठमाडौंमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रममा उनले सुस्ता, कालापानी, सन्दुकपुर लगायतका देशका ७७ ठाउँमा सीमा अतिक्रमणमा पर्दा पनि सरकारले भारतसँग वार्ता गर्न नसकेको बताएका हुन् ।
‘मलाई आश्चर्य लाग्छ, २०५१/०५२ को नेकपा एमालेको अल्पमतको सरकारले त त्यति कुरा उठाएको थियो भने अहिले कति दल मिलेर बनेको बहुमतको सरकारले किन कुरा नउठाएको ? सीमानाको रक्षाका कुरामा किन बौल्दैनन् । उहाँहरु संवेदशील हुनुहुन्न । कालापानीमा विदेशी फौज आएर मातृभूमिको छातिमाथि बुलडोजर चलाउँदा किन नबोलेको ?’ रावलले प्रश्न गरे ।
उनले चीनसँगको सीमामा केही विवाद भएको भए हाल परराष्ट्रमन्त्री डा. नारायण खड्का चीनमा रहेकै बेलामा वार्ता गर्नुपर्ने बताए । ‘परराष्ट्रमन्त्री चीन भ्रमणमा हुनुहुन्छ, त्यहाँ वार्ता गर्नुस् र चीनसँग सीमाका बारेमा केही विवाद भएको हो वा होइन, नेपाली जनतालाई खबर दिनुहोस्’ नेता रावलले भने ।
उनले नागरिकता विधेयकमा नेपाली नागरिकसँग विवाद गर्ने विदेशी महिलालाई विवाहलगत्तै नेपाली नागरिकता दिने व्यवस्था कायम राखेकामा पनि आपत्ति जनाए ।
‘नागरिकता लिनलाई नेपालीसँग विवाह गर्ने महिलाले ७ वर्ष कुर्नुपर्छ भन्दा भारतबिरोधी काम भयो भन्न मिल्छ ? हरेक देशमा यति वर्षपछि भन्ने त कानून छ । अनुहारको आधारमा नागरिकता रोक्न खोजेको भन्नेहरु देशलाई विखण्डन गर्ने तत्व हुन्’ उनले भने ।
प्रतिक्रिया 4