
काठमाडौं । तीज नजिकिंदै गर्दा केही दिनअघिसम्म एउटा भनाइ चल्तीमा थियो- विष्णु माझीको गीत नआउँदासम्म तीज आएको महसुस नै हुँदैन ।
गत वर्ष उनको गीत ‘चरी जेलैमा’ ब्लकबस्टर मात्र बनेन, उनको वास्तविक जीवनसँग मेल खाएको बताइयो । उनका श्रीमान् सुन्दरमणि अधिकारीले प्रहरीकहाँ पुगेर पत्नी तथा गायिका माझीको अवस्थाबारे स्पष्टीकरण दिनुपरेको थियो ।
सुन्दरमणिकै संगीत र भिडियो निर्देशनमा माझीले उक्त ब्लकबस्टर गीत ‘चरी जेलैमा’को दोस्रो सिक्वेल ल्याएकी छन् । ‘चरी जेलैमा २’ बोलको गीत बुधबार बेलुका युट्युबमा रिलिज भएको छ ।
केही शब्दबाहेक गीतको दोस्रो भागमा नयाँपन केही छैन । लय, संगीत र धुनहरु पुरानै छन् । अघिल्लो गीतमै शब्दहरु मिसमास गरेर ल्याइएको गीतमा दर्शक-श्रोताको प्रतिक्रिया पनि नयाँपन छैन भन्नेछ । संगीतमा नयाँ प्रयोग नहुँदा दर्शक-श्रोताले नयाँपन महसुस गर्ने कुरै भएन । भिडियो कम्पोज र कोरियोग्राफी पनि दुरुस्तै भएकाले सामाजिक सञ्जालमा यसलाई लिएर आलोचना पनि भएको छ ।
माझीको तीज गीत अब युट्युब प्लेटफर्ममा मात्र सीमित नरहेर यसपटकदेखि स्पटीफाइ, एप्पल म्युजिक, टाइडल, अमेजन म्युजिक, युट्युब म्युजिकमा पनि उपलब्ध छ ।
प्रतिक्रिया 4