+
+

फिल्मको अभियानमा समर्थन जनाउँदै रावल र गुरुङले भने : सीमामा काँडेतार लगाउन ढिला नगरौं

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २५ गते २२:३१

काठमाडौं । भारतसँगको सीमामा काँडेतार लगाउनुपर्छ भन्ने फिल्म ‘काँडेतार’को अभियानमा दलका नेताहरुले समर्थन जनाएका छन् । बुधबार आयोजित अन्तक्रिया कार्यक्रममा उनीहरुले राष्ट्रिय स्वाधिनताको रक्षाको लागि फिल्मले खेलेको भूमिकाको प्रशंसा गरे ।

नवल खड्का निर्देशित फिल्मले ‘नेपाल र छिमेकीसँगको समुन्नत सम्बन्धको लागि प्रस्तावना’ कार्यक्रम गर्दै नेताहरुको साथ खोजेको थियो । एमाले नेता भीम रावल, माओवादी केन्द्रका देव गुरुङ, कांग्रेसका रामहरि खतिवडा र नेकपा (एकीकृत समाजवादी)का जगन्नाथ खतिवडाले फिल्मको मुद्दामा धारणा राखे ।

रावलले भारतसँगको सिमाना नियमन तथा नियन्त्रण गर्नुपर्ने बताए । सिमानामा काँडेतार लगाउने भनेपछि केवल फलामे तार लगाउनेजस्तो बुझिएपनि यो देशको सुरक्षाको अभिव्यक्ति भएको रावलले बताए ।

माओवादी नेता गुरुङले फिल्मको माध्यमबाट राष्ट्रिय स्वाधिनताको रक्षा गर्न योगदान पुगेको बताए । अहिले देशमा नागरिकताका समस्या आएको बताउँदै गुरुङले नेपाल युक्रेन हुनसक्ने खतरा पनि औंल्याए । उनले काँडेतार चाँडै लगाउनुपर्ने समेत बताए ।

‘नेपालको रक्षा र सुरक्षा हुन सक्ने कि नसक्ने ? नेपाल युक्रेन हुने खतरा छ । तत्काल सैन्य युद्धको खतरा छ । यद्धको बढेको छ । हामी सबैखाले बाह्य हस्तक्षेपको विरुद्धमा लड्नुपर्छ । यसको लागि सबै एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन’ गुरुङले भने ।

एकीकृत समाजवादीका नेता नेता खतिवडाले नेपालले आफ्नो सिमानालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । फिल्म निर्देशक तथा अभिनेता खड्काले देशको सिमाना रक्षाको लागि फिल्म बनाएको र वर्षौदेखि अभियान चलाउँदै आएको सुनाए ।

देशभक्तिपूर्ण फिल्म बनाउँदा पनि राज्यले सहयोग नगरेको गुनासो उनले गरे । ‘दशगजा, भीमदत्तजस्ता फिल्ममा सेन्सर लगाउने काम भएको थियो । देशभक्तहरुमाथि प्रहार हुने गरेको छ । पुर्खाहरुले लडेर जोगाएको भूमि हामीले जोगाउनुपर्छ । समयमै यी कुरा समाधान गर्न सकेनौं भने हाम्रो नियति प्यालेस्टाइनजस्तो हुन्छ’ उनले भने ।

फिल्मको प्रदर्शन मिति तय भैसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?