
२६ साउन, पोखरा । जनआन्दोलन २०६२/०६३ का क्रममा पोखरा महेन्द्र पुलमा भीमसेन दाहाल नेपाली सेनाको गोली लागेर ढल्दा उनका छोरा २ वर्षका मात्र थिए । देशभर निरकुंश राजतन्त्र र राजा ज्ञानेन्द्र शाहविरुद्ध आन्दोलनको सुरुमात्र भइरहेको थियो, २०६२ चैत २६ गते सेनाले आन्दोलन दमन गर्न गोली चलाउँदा पोखरामा व्यापार गरेर बसिरहेका काभ्रे उग्रचण्डीका दाहालले ज्यान गुमाए । सात दलले आह्वान गरेको जनआन्दोलनमा ज्यान गुमाउने पहिलो व्यक्ति बने ।
ठीक १६ वर्षपछि जनआन्दोलनका प्रथम शहीद भीमसेन दाहालको सम्झना भइरहँदा छोरा विस्तृत दाहाललाई डाक्टरी पढाउन पत्नी सविता पौडेलले नेता र मन्त्रीहरुको दैलो चाहारिरहेकी थिइन् । शिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षामा नाम निकाले पनि छोरालाई कसरी डाक्टरी बढाउने भनेर सविता भौंतारिइरहेकी थिइन् ।
‘जनआन्दोलन रापतापको सम्झना, उहाँको स्मृति दिवस र छोराले एमबीबीएसमा नाम निकालेर पढाउने सहारा खोज्दै नेता र मन्त्रीको दैलो/दैलो चाहार्नुपरेको बेला एउटै थियो,’ सविताले भनिन्, ‘मन्त्रालयहरुमा जनआन्दोलनका शहीदमा उहाँको नामसहितको फोटो झुन्ड्याइएको देखें तर छोरालाई डाक्टर पढाउन याचना गर्दा परिवारप्रति थोरै सहानुभूति पनि देखिनँ ।’
एमबीबीएसको शुल्कमात्र ४६ लाख रुपैयाँ लाग्ने र त्योबाहे अन्य सुविधाको फरक शुल्क तिर्नुपर्ने थियो । निजी विद्यालयमा पढेका विद्यार्थीलाई छात्रवृति गर्ने सरकारको व्यवस्था छैन ।
सोही कारण विस्तृतले चाहेर पनि पढ्न नपाउने अवस्था सिर्जना भएको भन्दै शिक्षा मन्त्री देवेन्द्र पौडेल, एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि राष्ट्रपति विद्या भण्डारीसम्म भेट्न पुगेको सविताको भनाइ छ । तर, कसैबाट सहारा र शहीद परिवारका प्रति सम्मानजनक व्यवहार नपाएको उनले बताइन् ।
‘शहीद परिवारका लागि भनेको केबल ज्यान गुमाउनेको सम्झनामा एक मिनेट मौन धारणमात्र त रहेछ । बाबुले नाम निकालेपछि मन्त्रीदेखि शीर्ष नेता र राष्ट्रपतिसम्म भेटें, हारगुहार गरें,’ सविताले भनिन्, ‘सबैलाई शहीद मान्ने र व्यवस्था गर्ने हो भने यस्तो संख्या कति पुग्छ, कति भन्नेसम्मको जवाफ शिक्षामन्त्रीबाटै पाएँ ।’

सबिताका अनुसार छोराले कक्षा १२ पढ्नेबित्तकै कम्युटर साइन्स पढाउन अमेरिकाबाट प्रस्ताव आएको थियो । सविताका साथीहरुले सुरुमा कम्युटर साइन्स पढाउने र पछि मेडिकल क्षेत्रमा प्रवेश पनि हुने भन्दै सबै खर्च बेहोर्ने बताएका थिए ।
‘तर, छोराले नै होइन मामु देशमै पढ्नुपर्छ भन्यो । मलाई पनि लाग्यो, हाम्रो लागि राज्य छ, हेर्छ,’ सविताले भनिन्, ‘२/३ पटक त यही विषयमा शिक्षामन्त्री भेटें । अरु नेताहरु प्नि भेटेर यो कुरा पनि बताएँ । तर, पछि लाग्यो, राज्यले त केही नगर्ने रहेछ । मैले अमेरिका नै पठाएको भए हुने रहेछ ।’
आफ्ना बाबुनानीले पढ्नै नपाउने गरी कस्तो परिवर्तनका लागि शहीदले रगत् बनाएछन् भन्ने जिज्ञासा उब्जिएको उनको भनाइ थियो । ‘कुनै पनि नेताबाट १ प्रतिशतमात्र पनि सहयोग पाइनँ । धेरै नेतलाई भेटेकी हुँ,’ उनले भनिन्, ‘हामीलाई शहीद परिवारमा नराखे हुन्छ, नामै हटाइदिए हुन्छ, एउटा छोरो पढाउन मैले धेरै हण्डर, ठक्कर खाएकी छु ।’
केन्द्रका नेतादेखि मन्त्री हुँदै राष्ट्रपतिसम्म पुगे पनि केही सीप नलागेर दाहाल पोखरा महानगरलाई आग्रह गर्न पुगिन् । काठमाडौंसम्म पुगेर आफूले खाएको हण्डर ठक्करको बेलिबिस्तार लगाउँदै मेयर धनराज आचार्यलाई सहयोग गर्न आग्रह गर्दै निवेदन दिएको पौडेलले बताइन् ।
पोखरा महानगरपालिकाले भने दोस्रो जनआन्दोलनका प्रथम शहीद भीमसेनका छोरा विस्तृत दाहाललाई एमबीबीएस पढ्ने व्यवस्था मिलाउने भएको छ । मेडिकल काउन्सिलले निकालेको सर्ट लिस्टबाट बिस्तृतले पोखराको मणिपाल शिक्षण अस्पताल छानेका छन् । घरपायक पनि पर्ने र पोखराकै अस्पताल भएकाले पनि मणिपाल रोजेको सबिताले बताइन् ।
पोखरा महानगरको मंगलबार बसेको कार्यपालिका बैठकले दाहाललाई मणिपाल शिक्षण अस्पतालमा एमबीबीएस पढ्न लाग्ने खर्च व्यवस्थापन गर्ने निर्णय गरेको हो । छात्रवृतिका हिसाबले भन्दा पनि दोस्रो जनआन्दोलनको प्रथम शहीद परिवारका हिसाबले सम्मान गरेको मेयर आचार्यले बताए ।
‘छात्रवृति वा अन्य कुनै माध्यमबाट पढाउने व्यवस्था खोज्दै केन्द्रसम्मै पुगेर कुनै सीप नलागेपछि महानगरमा आएर उहाँले निवेदन दिनुभएको रहेछ,’ मेयर आचार्यले भने, ‘विद्यार्थी पनि पढ्न अब्बल रहेछन् । जनआन्दोलनकै प्रथम शहीद, त्यो पनि पोखराकै हुँदा हामीले सम्मान गर्नुपर्छ भनेर कार्यपालिकाको बैठकबाटै एमबीबीएस पढ्न लाग्ने खर्चको महानगरले व्यवस्था गर्ने निर्णय गरेका हौं ।’
‘कहीँ केही सीप नलागेपछि पोखरा फर्केर मेयरसाबलाई आग्रह गरें, निवेदन दिएँ,’ सविताले भनिन्, ‘मेयरले पनि नसुनिदिएको भए मेरो छोरालाई एमबीबीएस पढ्नै मुस्किल पर्ने थियो ।’ दाहाल परिवार अहिले पोखरा–१७ मा बस्छन् । विस्तृतले कक्षा १० सम्म सैनिक आवसिय र कक्षा १२ सम्म एसओएस हर्मन माइनर स्कुलमा पढेका हुन् ।
प्रतिक्रिया 4